शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा आइरन उद्योग स्थापना

मङ्गलबार, २५ फागुन २०७७, ०९ : २९
मङ्गलबार, २५ फागुन २०७७

पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । 

मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।

गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छन् । पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो । 

गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ । उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ । 

अठार बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको सो उद्योग तीन वर्ष अगाडिदेखि निर्माण भइरहेको हो । गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो । निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् । 

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि  दैनिक ४०÷५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ ।  वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ । 

विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले उद्योग स्थापानाबाट अत्यन्त खुशी रहेको बताउँदै आर्थिक समृद्धि र रोजगारीका लागि उद्योग आवश्यक रहेको छ भने । उद्योग सञ्चालनमा सबै पक्षले सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशिभूषणकुमार यादवले बारा र पर्सा जिल्लामा ठूला तथा साना उद्योग थपिँदै गएको उल्लेख गर्दै उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए । अहिले नेपालमा फलामजन्य तथा सिमेन्ट उद्योग व्यापकरूपमा खुल्दै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप