शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो ज्ञापनपत्र

आइतबार, २३ फागुन २०७७, १८ : ४७
आइतबार, २३ फागुन २०७७

नेपाल विधार्थी संघ प्राविधिक विधार्थी परिषदले चिकित्सा शिक्षा आयोगको लापरवाही र गैरजिम्मेवारी बिरुद्ध खबरदारी भन्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । नेपाल विधार्थी प्राविधिक विधार्थी परिषदका अध्यक्ष भुवन भट्टको नेतृत्वमा संघका नेताहरुले चिकित्सा शिक्षा आयोगको कार्यालय सानोठिमी पुगेर  ज्ञापन पत्र बुझाएका हुन् ।

प्राविधिक विधार्थी परिषदका अध्यक्ष भट्टद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा स्नातक तहको स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको भर्नाका लागि प्रवेश परीक्षा फारम सार्वजनिक गरी तत्काल भर्ना प्रक्रिया सुचारु गरिनुपर्ने, स्नातक तहका स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रममा शैक्षिक शुल्कमा एकरुपता कायम गर्न र चिकित्सा शिक्षा आयोगको लापरबाहीका कारण अहिलेसम्म भर्ना सुचारु नगरेर चीन, भारतलगायत छिमेकी मुलुकमा विद्यार्थी पठाउने खेल बन्द गर्न माग गरिएको छ ।

सम्पुर्ण कलेजहरूमा नेपाल सरकारको नियम र विश्वविद्यालयले प्रदान गर्दै आइरहेको छात्रवृत्ति सङ्ख्याबारे अध्ययन गरी  छात्रवृत्ति संख्या थप गर्न, संघीयता अर्थात विकेन्द्रीकरणको मर्मलाई आत्मसात गर्दै चिकित्सा शिक्षा आयोगका कमी कमजोरी र अन्योलतालाई रोक्दै आवश्यक अधिकार  विश्वविद्यालय र कलेजहरुलाई दिँदै अधिकार सम्पन्न बनाइनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेविसंघले शैक्षिक क्यालेन्डर निर्माण गर्दै त्यही अनुसार विद्यार्थीका शैक्षिक गतिविधि संचालन गरिनुपर्ने, मेडिकल शिक्षाको पहुँच दुर्गम क्षेत्रमा बिस्तार र चिकित्सा शिक्षा आयोग कसैको दवावमा नरहेर कुनैपनि नाजायज मिलेमतोमा दिइने सम्पुर्ण सम्बन्धनलाई तत्काल बन्द गरिनुपर्ने मागहरु राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप