शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण सर्वोत्तमको आइपिओ मूल्य ७ सय ५०

आइतबार, २३ फागुन २०७७, १६ : ४४
आइतबार, २३ फागुन २०७७

काठमाडौं ।  बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले आइपिओका मूल्य महँगो राखेको भन्दै आलोचना भइरहेको छ ।  यसै आलोचनालाई चिर्न कम्पनीले आइपिओका मूल्य प्रतिकित्ता ७ सय ५० राख्नुको कारण खुलाएको छ । कम्पनीले छोटो समयमै बढी प्रतिफल दिन सक्ने दाबी गरेको छ । 

हाल कम्पनीले कम चुक्ता पुँजीमा पनि बढी सिमेन्ट उत्पादन गरिरहेको जनाएको छ । दैनिक ३ हजार मेट्रिक टन र बार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गरिरहेको छ ।  कम्पनीले आगामी ३ वर्षसम्म आयकर ५० प्रतिशत छुट पाउने, रिजर्भ कोषमा रहेको करबाट थप बोनस सेयर दिन सकिने  भएकाले पनि बढी प्रतिफल दिने आश्वाशन दिएको छ । 

कम्पनीले आइपिओ जारी पश्चात नै ३ महिना भित्र १० प्रतिशत सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकाले सो वापत झण्डै प्रतिसेयर आम्दानी सय रुपैयाँ हुने उल्लेख गरेको छ । सेयर धनीले तिरेको ६ सय ५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९७.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएकाले थप बोनस सेयर जारी हुने सम्भावना कम्पनीले देखाएको छ । 

आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरेपछि ऋणबाट मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना राखेकाले ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशत भन्दा बढी हुने प्रक्षेपण कम्पनीको छ ।  कम्पनीले आफ्नो व्यावसायिक उत्पादन शुरु गरेदेखि नै नाफा कमाउँदै आएको  र तीन वर्षको औसत मुनाफा  १ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी रहेको छ । 

यसले इक्रा नेपालबाट आइपिओ रेटिङ गर्दा बीबीबी प्लस रेटिङ पाएको छ । यसले कम्पनीको वित्तिय स्वास्थ्य औषतभन्दा राम्रो रहेको जनाउँछ ।  संस्थागत लगानीकर्ताले ७ सय ५० रुपैयाँ तोकेमा सर्वसाधारणले त्यसमा १० प्रतिशत सहुलियत पाउँनेछन् । यस आधारमा सर्वसाधारणलाई ६ सय ७५ रुपैयाँ पर्न जान्छ । 

बुक बिल्डिङ विधिबाट धितोपत्र जारी गर्दा बजारको मागको आधारमा निर्धारित मूल्यमा सार्वजनिक निष्काशन गरिन्छ । सर्वोत्तम सिमेन्ट नेपाल कै पहिलो सबैभन्दा बढी विदेशी लगानी भएको एकमात्र सिमेन्ट उद्योग हो । पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट नेपालकै मध्ये भागमा अवस्थित नवलपरासीमा उत्पादित एक मात्र सिमेन्ट हो । यसबाट उत्पादित क्लिंकर (धातुमल सिमेन्ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप