शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सीय गुरुकुलद्वारा स्वनाम साथीको श्रध्दाञ्जली सभा

आइतबार, २३ फागुन २०७७, ०७ : ३०
आइतबार, २३ फागुन २०७७

नेपाली कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व स्वनाम साथीको सम्झना गर्दै मार्क्सीय गुरुकुलले फागुन २२ गते एक श्रध्दाञ्जली कार्यक्रमको आयोजना गर्‍यो ।

स्वनाम साथीके गत गत पुस १० गते निधन भएको थियो ।

स्वनाम साथी कम्युनिस्ट एवं मार्क्सवादीहरुको विशिष्ट स्कुलको रुपमा बन्दै गरेको मार्क्सीय गुरुकुलका प्रमुख योजनाकार तथा संस्थापक थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका कम्युनिस्ट नेता गिरिराजमणि पोखरेलले स्वनाम साथीको अभावका बीच मार्क्सीय गुरुकुललाई हिजो उहाँसँगै हिँड्दै गरेका बाँकी साथीहरुको सामुहिक प्रयत्नबाट अगाडि बढाउन तथा विगतमा स्वनाम साथीले गर्न खोज्नुभएको बहुआयामिक कार्य सम्पन्न गर्न इमान्दारीपूर्बक लाग्नुपर्नेमा जोड दिए । उनले स्वनाम साथी सर्वहारा क्रान्तिकारी मात्र नभई असली कम्युनिस्ट नै भएको बताउँदै उहाँप्रति उच्च सम्मान व्यक्त गरे ।

कार्यक्रममा प्रगतिवादी समालोचक एवं वरिष्ठ मार्क्सवादी चिन्तक एवं स्वनाम साथीका अनन्य मित्र निनु चापागाईंले स्वनाम साथीका वहुआयामिक व्यक्तित्व तथा उहाँको जीवनका प्रेरणादायी पाटाहरुबारे विस्तृत चर्चा गरे । उनले स्वनाम साथी नेपाली कम्युनिस्ट आन्दोलनमा विरलै पाइनेहरु मध्येका सबभन्दा अग्रणी सर्वहारावर्गीय एवं कम्युनिष्ट चरित्रका नेता हुनुभएको दृष्टान्त पेश गरे । उनले स्वनाम साथीले आफू हुनेखाने वर्गमा जन्मेर पनि आफूलाई आम मानिसको तहमा, अझ अभाबग्रस्त गरिब मजदुरको तहमा रुपान्तरण गरी सच्चा कम्युनिस्ट अभियन्ताको रुपमा उभ्याउनुभयो भन्नेबारे प्रकाश पारेका थिए । त्यसक्रममा उनले स्वनाम साथीको जीवनका बिभिन्न अद्भुत घटनाहरुलाई उल्लेख गरेका थिए ।

उक्त कार्यक्रममा नागरिक अगुवा श्याम श्रेष्ठ, मार्क्सीयन गुरुकुलका किसन शर्मा, घनश्याम शर्मा पौडेल, सांसद अञ्जना विशङ्खे, मधु श्रेष्ठ, स्वनाम साथीले मंगलोदयमा पढाउँदाका बिद्यार्थी दुर्गालाल श्रेष्ठ, कमल वराल, विष्णु महर्जन लगायतले पनि बिगतका क्षणहरुको सम्झना प्रस्तुत गर्दै स्वनाम साथीलाई स्मरण गरे । वक्तव्यको क्रममा स्वनाम साथीका अनन्य मित्र मानवशास्त्री डाक्टर मेरिडेसनले सम्झना स्वरुप अमेरिकाबाट पठाएको पत्र पत्रकार राजु स्याङ्टानले पढेर सुनाए ।

मार्क्सीयन गुरुकुलकी कोषाध्यक्ष सीता पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै सुरु भएको उक्त कार्यक्रम मार्क्सीयन गुरुकुल संचालनमा सक्रिय व्यक्तित्व शंकर दुलालले सञ्चालन गरेका हुन् । कार्यक्रमको अन्त्यतिर स्वनाम साथीको जीवनी एवं स्मृति ग्रन्थ प्रकाशनका लागि निनू चापागाईंलाई संयोजकको रुपमा घोषणा गरिएको थियो ।

बिक्रमको ३० को दशकमा स्वनाम साथीले शिक्षकको रुपमा काम गरी कम्युनिस्ट बिचार एवं संस्कृतिलाई व्यवहारिक रुपमा अगाडि बढाउन सुरु गरेको काठमाडौं थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालय भवनमा सो कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित उक्त कार्यक्रम कम्युनिस्ट नेता गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्य र स्थानीय कम्युनिस्ट नेता श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

तस्बिरहरु : मातृका पोखरेलको फेसबुक पेज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप