बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

शनिबार, २२ फागुन २०७७, २० : २०
शनिबार, २२ फागुन २०७७

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाइने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित तीनदिने जिल्ला समन्वय समिति महासङ्घको प्रदेशस्तरीय विस्तारित भेलालाई आज सम्बोधन गर्नुहुँदै उनले नेपालको संविधानद्वारा जिल्ला समन्वय समितिलाई प्रदान गरिएको सम्पूर्ण अधिकार प्रदेश सरकारले दिन तयार रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले प्रदेशभित्रका आठवटै जिल्ला समन्वय समितिलाई संविधानप्रदत्त अधिकार प्रदान गर्नका लागि आवश्यक कानून तथा कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउँदै चाँडै नै अधिकार प्रत्यायोजनका काम हुने विश्वास दिलाए ।

नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला समन्वय समितिलाई सङ्घीय, प्रदेश र स्थानीय तहका तीनै सरकारका बीच समन्वयको भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारले गरेको काम अनुगमन र निरीक्षण गर्ने तथा प्रदेश सरकारले बनाएको कानूनअनुसार अन्य कामकाज गर्ने उल्लेख भएअनुसार प्रदेश नं २ सरकारले आफ्ना प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक कानून र कार्यविधि बनाउने गृहकार्य शुरु गरिएको उहाँले जानकारी दिए । 

मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकार सङ्घीय सरकारको उपेक्षामा परेको गुनासो गरे । 

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय पदाधिकारीसहित सातवटै प्रदेशका जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो ।

जिल्ला समन्वय समिति प्रदेश नं २ का अध्यक्ष एवं महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप