बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, अध्यक्ष पदमा ५ आकांक्षी

शनिबार, २२ फागुन २०७७, १६ : २०
शनिबार, २२ फागुन २०७७

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन चैत २१ गतेदेखि २३ गतेसम्म हुने गरी तय भएको छ । मिति तय भएसँगै चुनावी सरगर्मी पनि बढेको छ । व्यावसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका छन् ।

संघको अध्यक्ष पदमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, पूर्व महासचिव महेन्द्र राउत, वस्तुगततर्फका उपाध्यक्ष रामप्रसाद न्यौपाने र उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उम्मेदवारी दावी गरेका छन् ।

मउवा संघका वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले पत्रकार सम्मेलनमार्फत् आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

हालका अध्यक्ष कृष्ण कटुवालसहित कार्यसमितिको साथ आफुलाई रहेको दावी गर्ने अग्रवाललाई व्यवसायीको साथ भने देखिँदैन । चुनावी प्रचारप्रसार कार्यालयसमेत स्थापना गरी चुनावी मैदानमा होमिएका अग्रवालको विगत भने विवादास्पद देखिन्छ ।

अग्रवालले विभिन्न समयमा उपभोक्ता ठगी गरेको आरोप झेल्दै आएका छन् । मुलुक कोरोनाको कारण लकडाउनको अवस्थामा कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले भारतबाट कोरोना नेपालमा भित्रिन सक्ने भन्दै आयातित तरकारीसँगै प्याजमा समेत रोक लगाउने निर्णय गरेको थियो । सो बैठकमा मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै सहभागी अग्रवालले रातारात ठूलो परिणाममा प्याज आयात गरी ४ गुणासम्म मूल्यवृद्धि उपभोक्तालाई ठगी गरेको व्यवसायीहरु नै बताउँछन् ।

तर अग्रवालले आफूमाथि निराधार आरोप लगाइएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले आफूमाथि झुटो आरोप लगाइएको बताए । मउवा संघको संस्थापन पक्षबाट अधिवेशनमा आफुलाई सहयोग हुने भन्दै उनले निर्वाचन आफैँले जित्ने दावीसमेत गरे । हालका अध्यक्ष कृष्ण कटुवालको समर्थनमा आफु निर्वाचनमा जान लागेको उनको भनाइ छ ।

यसैगरी संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राजकुमार न्यौपाने केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपामा प्रवेश गरेका छन् । उनले प्रधानमन्त्री ओलीकै हातबाट पार्टीको सदस्यता लिएका हुन् ।

प्रतिनिधिसभा विघटनको कदम प्रतिगमन र संविधान विरोधी भन्दै सार्वजनिक अभिव्यक्ति दिएका उनी संघको उम्मेदवार बन्नकै लागि नेकपामा प्रवेश गरेको हुनसक्ने व्यवसायीहरुको भनाइ छ ।

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका राजकुमार पराजित भएपछि जिल्लातिरै फर्कन बाध्य भएका हुन् । उनले मउवा संघमा उम्मेवारी दिने घोषणा गरिसकेका छन् ।

महेन्द्र राजमार्ग एवम् त्रिभुवन राजपथ अन्तरगतको हेटौँडा बजारमा पर्ने २५ मिटर सडक विस्तारमा अवरोध खडा गरेको कारण उनीमाथि विकास विरोधीको आरोप छ ।

उनले संचालन गरेको प्रशोधित पानी उद्योगबाट उत्पादित पानी गुणस्तरहीन भएको भन्दै उपभोक्तावादीहरुले आवाज उठाएपछि विभिन्न समयमा प्रशासनिक जटिलतासमेत झेले ।

तर उनी बजारमा आएका हल्लाजस्तो आफु विकास विरोधी नभएको बताए । राजमार्ग कुनै पनि ठाउँको बीच बजारबाट नजाने भन्दै उनले आफूमाथि गलत आरोप लगाइएको बताए ।

यस्तै संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका अर्का आकांक्षी हुन् रामप्रसाद न्यौपाने । बस्तुगत तर्फका उपाध्यक्षसमेत रहेका रामप्रसाद फर्निचर व्यवसायी हुन् । खासै चर्चामा नआएका र सार्वजनिक कार्यक्रमहरुमा नदेखिने रामप्रसाद पनि चुनावमा होमिने तयारीमा छन् ।

अध्यक्ष पदका अर्का आकांक्षी राजकुमारको गतिलै धोका खेपेका रामप्रसाद त्यसको बदला निर्वाचनबाट लिने दाउमा छन् ।

केही दिन अघि राजकुमारले रामप्रसादलाई अध्यक्ष पदका लागि आफ्नो पूर्ण साथ भएको भन्दै सार्वजनिक कार्यक्रम र विभिन्न सञ्चार माध्ययमहरुमा उद्घोष गरेका थिए । राजकुमारले आफ्नो उम्मेदवार रामप्रसाद नै भएको दावी गर्दै उनलाई जिताउन सहयोगसमेत मागेका थिए तर, २४ घण्टा नबित्दै उनले बोली फेर्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरे ।

राजकुमारले सो कदम आफ्नो चुनावी कुटनीति भएको रातोपाटीसमक्ष बताए ।

 संघका पूर्व महासचिव महेन्द्र राउतले यसवर्ष अघिल्लो निर्वाचनको मतको सम्मान र व्यवसायीको हितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कटुवासँग १ सय ८८ मतले पराजित भएका राउत फेरि अध्यक्ष बन्ने दौडधुपमा छन् । अघिल्लो पटक प्राविधिक रुपमा निर्वाचनमा पराजित भएको तर हाल सो अवस्था नरहेको उनको आँकलन छ ।

काँग्रेसको ढिलासुस्तीले माधव ‘वेटिङ’मा

यसैबीच संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने जनाए पनि हालसम्म सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् ।

अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउत र न्यौपाने काँग्रेस निकट मानिन्छन् ।

नेपाली काँग्रेसबाट आफुलाई मात्रै सहयोग हुनुपर्ने माग गर्दै आएका न्यौपानेले काँग्रेसको ढिलासुस्तीका कारण उम्मेदवारी घोषणा गर्न ढिला गरेको स्रोत बताउँछ ।

केही दिन अघि नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले राउत वा न्यौपानेमध्ये कसलाई निर्वाचनमा पठाउने भन्ने सन्दर्भमा छलफल गरेको भए पनि हालसम्म ठोस टुङ्गो लागेको छैन ।

बैठकमा न्यौपाने र राउतले निर्वाचनमा आफुलाई नै सहयोग हुनुपर्ने दावी गरे पनि दुवैको लोकप्रियता र अवस्थामाथि मूल्याङ्कन गरेर कुनै एकलाई सहयोग गर्ने काँग्रेसले बचन दिएको थियो । तर हालसम्म काँग्रेसले कुनै निर्णय सार्वजनिक नगर्दा न्यौपाने ‘वेटिङ’मै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप