बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सर्वहारा वर्गका नाममा व्यक्ति हाबी भए’

शनिबार, २२ फागुन २०७७, १६ : १०
शनिबार, २२ फागुन २०७७

पूर्व प्रधानमन्त्री तथा नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष माधव नेपालले जनताको चेतना परिवर्तनका लागि नेतृत्वपंक्तिको सधैं उनीहरुसँगै हुनुपर्ने धारणा राखेका छन् । जनतामा चेतना, जागरण, संगठन र परिवर्तन एकसाथ अघि बढ्ने उनको धारणा छ । 

‘जनताको चेतनाभन्दा पछाडि हिँड्यौं भने हामी अघि बढ्न सक्दैनौं । धेरै अगाडि हिँड्यौं भने जनता छुटिसकेका हुन्छन् । त्यसकारण अति दक्षिणपन्थी र अति वामपन्थी दुबै घातक छन्,’ रोजा लक्जम्वर्गको १ सय ५० औं जन्म जयन्तीका अवसरमा फाउन्डेसन फर क्रिटिकल डिस्कोर्स नेपाल  (एफसिडी) ले आयोजना गरेको ‘संसद्, लोकतन्त्र र समाजवाद’ विषयक कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै नेपालले भने,‘जनता नै परिवर्तनको सम्वाहक हुुन् । जनताको चेतनालाई परिवर्तन नगरी कुनै पनि परिवर्तन सम्भव हुँदैन ।’

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेकी नेकपा नेतृ पम्फा भुसालले अहिलेको संसद्लाई परम्परागत संसद्का रुपमा हेर्न नमिल्ने बताइन् । ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । मिश्रित निर्वाचन प्रणाली छ । देशमा तीन तहको सरकार छ । यो हिजोको राजतन्त्रात्मक व्यवस्थाभन्दा केही न केही राम्रो हो,’ उनले भनिन्,‘ तर के जनताले मत दिएर मात्रै लोकतन्त्र सुनिश्चित हुन्छ ? मताधिकार पाउनु मात्रै लोकतन्त्र हो ? यो प्रश्न उठेको छ । समाजवादतर्फ जाने भनिए पनि स्वास्थ, शिक्षा, रोजगारीलगायत विषयमा ठूलो समस्या छ । यसलाई चिर्नु चुनौतीपूर्ण छ ।’ 

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले अहिलेको युग साम्राज्यवादी युग भएको र विश्व व्यवस्था त्यही अनुरुप चलिरहेकाले कम्युनिष्टहरू अघि बढ्न नसकेको बताए । ‘जनवादी केन्द्रीयताको प्रयोगले मात्रै कम्युनिष्ट आन्दोलनले धक्का खाएको होइन । विश्व कम्युनिष्ट आन्दोलनका आफ्नै खाले कमजोरी छन् । यद्यपी, साम्राज्यवादीहरुले कम्युनिष्ट सक्न के मात्रै गरेनन् ? त्यसैले हामीले कम्युनिष्टका कमजोरीसँगै साम्राज्यवादी हमलाको पनि विश्लेषण गर्न जरुरी छ ।’

नेपालमा संसदीय व्यवस्था असफल भइसकेकाले नयाँ व्यवस्थाबारे सोच्नुपर्ने समय आएको उनले बताए । ‘सरकार गठनका लागि सहयोग माग्न प्रचण्ड र माधव नेपाल पुुगेपछि राजेन्द्र महतोजीले तपाईहरु कुन पार्टीको हो भनेर सोध्नु भएछ ? अब सोच्नुस्, उहाँहरु कुन अवस्थामा पुगिसक्नु भएछ ।  त्यसकारण म भन्छु, असफल व्यवस्थालाई बोकेर नहिंडौं । हामीले नै भनेको विकल्पमा जानुपर्छ भन्ने होइन । तर, यो व्यवस्था, सरकार र अहिलेका नेताहरु असफल भइसकेकाले विकल्प खोजौँ । देश सबैको हो, मिलेर छलफल गरौं,’ उनले भने । 

कार्यक्रममा बोल्दै नेकपाका नेता डाक्टर बेदुराम भुसालले मार्क्सवादीलाई अलोकतान्त्रिक भनिनु अन्याय हुने बताए । ‘लोकतन्त्रको विजयको कुरा मार्क्सले गर्नुुभएको थियो । अहिले मार्क्स नै लोकतन्त्रवादी होइनन भनियो । मार्क्सले सर्वहारा वर्गको अधिनायकत्वको कुरा गर्नुभएको थियो । तर, नेताको अधिनायकत्व स्थापित हुँदा लोकतन्त्र धरापमा प¥यो । सर्वहारा वर्गको नाममा व्यक्ति हाबी भइदिँदा कम्युनिष्टहरू लोकतन्त्र विरोधी रहेछन् भन्ने भ्रम पर्न गयो,’ भूसालले भने,‘पेरिस कम्युन पुँजीवादी लोकतन्त्रभन्दा अझ फराकिलो र स्वायत्त शासनात्मक लोकतन्त्र थियो । सार्विक मताधिकारको आधारमा जन प्रतिनिधिहरू चुनिने, जनप्रतिनिधिहरु आफ्ना मतदाताप्रति उत्तरदायी हुने, न्यायाधीश, प्रशासकलगायत सार्वजनिक सेवाका सबै पदाधिकारीहरु समेत जनताबाट निर्वाचित हुनुपर्ने, प्रहरी समेत जनताप्रति उत्तरदायी हुनुुपर्ने र उनीहरुलाई पनि प्रत्याह्वान गर्न सकिने विषय त्यसमा उल्लेख थिए ।’

राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईले समाज र वर्तमान राजनीतिमा पुुँजीवादको हस्तक्षेप चरम अवस्थामा रहेको बताए । समाजवादका लागि पुुँजीवादमा संकट आउनु अनिवार्य शर्त भएकाले माक्र्सवादीहरु अति निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए । ‘ऐतिहासिक भौतिकवादको सामान्यकृत नियमअनुसार आफुभित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन, पुँजीवाद पनि ढल्दैन । पुँजीवाद ढल्ने विन्दुमा या संकटमा नपुुगी समाजवादको आधार पनि तयार हुँदैन,’ उनले भने । 

अर्थशास्त्री डाक्टर विजय पौडेलले पार्टीहरुभित्र नेतृत्व परिवर्तन भएपनि दृष्टीकोणविहीन नेतृत्व परिवर्तनले समस्या ल्याएको बताए । उनले वर्तमान राजनीतिमा विचारको साटो पुँजी हाबी भइरहेको बताए । ‘पैसाले संसद्लाई बन्धक बनाएको छ । शान्तिपूूर्ण रुपमा समाजवाद ल्याउन चाहनेका लागि यो चुनौतीपूर्ण हो,’ उनले भने । रोजा लक्जम्वर्ग विशेष आलोचनात्मक चेत भएकी क्रान्तिकारी नेता रहेकोे पौडेलले बताए । ‘लोकतान्त्रिक प्रक्रियाबाटै कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने आलोचनात्मक चेतसहित जसरी रोजाले माक्र्सको सिद्धान्त व्याख्या गरिन्, त्यस्तो अरुले गर्न सकेको देखिदैंन,’ उनले भने । 

५ मार्च १८७१ मा पोल्यान्डमा जन्मिएकी रोजा लक्जम्वर्ग युद्ध विरोधी अभियन्ता, अर्थशास्त्री तथा मार्क्सवादी दार्शनिक थिइन् । सन् १९१५ मा सोशल डेमोक्रेटिक पार्टी अफ जर्मनी (एसपिडी) ले विश्वयुद्धमा जर्मनीको संलग्नताको समर्थन गरेपछि लक्जम्वर्ग र कार्ल लिकेन्याक्टले मिलेर युद्ध विरोधी स्पार्टाकस लिग गठन गरेका थिए, पछि गएर यो लिग कम्युनिष्ट पार्टी अफ जर्मनी (केपिडी) मा परिणत भयो । युद्धको विरोध गर्दै जनतालाई आन्दोलनमा लाग्ने प्रेरित गरेकाले सन् १५ जनवरी १९१९  मा एसपिडी नेतृत्वकै सरकारले बन्दी बनाएर रोजा लक्जम्वर्ग र कार्ल लिेन्याक्टको हत्या गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप