बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुलधारको राजनीतिमा विप्लव : गरेकै हुन् ‘प्रचण्डको नक्कल ?

शनिबार, २२ फागुन २०७७, १५ : ०६
शनिबार, २२ फागुन २०७७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भूमिगत भएपछि कतिपयले भन्ने गर्दथे, ‘विप्लवले प्रचण्डको नक्कल गर्दैछन् ।’ तत्कालीन माओवादीले जनयुद्ध थाल्दा प्रचण्डले जसरी भूमिगत रुपमा सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए, दुई वर्षअघि विप्लवले त्यस प्रकारकै विद्रोह गर्ने योजना बनाएर भूमिगत भएको धेरैले अनुमान गरेका थिए ।

हुन पनि विप्लवको राजनीतिक दस्तावेज र भाषणशैली पनि प्रचण्डको नक्कलजस्तै देखिन्थ्यो । यद्यपि, माओवादी जनयुद्धमा जस्तो विप्लवले फौजी कारवाहीको रणनीति अख्तियार त गरेनन् तर विस्फोट, हत्याका गतिविधिमार्फत आफ्नो प्रभाव देखाउने प्रयास गरे ।

यिनै परिदृश्यका बीच २०७५ फागुन ३० गते पेरिसडाँडामा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै ‘प्रचण्डको नक्कल गर्न त्यति सजिलो छैन’ भनेका थिए ।

उनले अगाडि भनेका थिए, ‘सजिलो छैन प्रचण्ड बन्न पनि । कसैले चाहेर पनि भइहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाई प्रचण्ड बनाइदिए । अब त्यही समयमै प्रचण्ड बनिँदैन ।’ 

 


राजा महेन्द्रले आफ्नो जमानामा जे गरे, ज्ञानेन्द्रले आफूले पनि त्यस्तै गर्ने सोच बनाए पनि सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्न खोज्नु भ्रम हो । भ्रमले कहीँ पनि पुगिँदैन, दुर्भाग्यपूर्ण परिणाममा मात्रै पुग्छ किनभने यो २०५२ साल होइन ।’  

प्रचण्डको यस्तो भनाइप्रति प्रतिकृया जनाउँदै विप्लवले भूमिगत रहेकै अवस्थामा भनेका थिए, ‘प्रचण्डको पतनपछि मात्र विप्लवको उदय भएको हो, त्यसैले विप्लव कुनै पनि हालतमा प्रचण्ड बन्न सक्दैनन् ।’

प्रचण्डको यस्तो भनाइप्रति प्रतिकृया जनाउँदै विप्लवले भूमिगत रहेकै अवस्थामा भनेका थिए, ‘प्रचण्डको पतनपछि मात्र विप्लवको उदय भएको हो, त्यसैले विप्लव कुनै पनि हालतमा प्रचण्ड बन्न सक्दैनन् ।’
विप्लवका अनुसार २०५१ देखि २०६३ सम्म प्रचण्डले घोकाएको पाठ  कण्ठस्थ बनाएको मात्र होइन, त्यही पाठअनुरुप उनीहरु चलेका थिए । उनले भनेका थिए, ‘हामीलाई एउटा पाठ घोकाएर कण्ठस्थ बनाईदिएपछि धोकेवाज बनी जब प्रचण्ड र बाबुराम शत्रुको अखडाका अंशियार बने, त्यसपछि क्रान्तिलाई निरन्तरता दिने जिम्मेवारी हामीले लिएका हौँ ।’

यी कुराहरूबाट प्रस्ट हुन्छ, प्रचण्ड र विप्लवबीच जनयुद्धकालमा पनि राम्रो सम्बन्ध थिएन । त्यही भएर प्रचण्डबाट मोहन वैद्य ‘किरण’ छुट्टिँदा विप्लव पनि उनकै साथमा गएमा थिए । उनी त्यहाँ पनि टिक्न नसकेपछि सशस्त्र युद्धको उद्घोष गर्दै भूमिगत भएका थिए । जनयुद्धकालमा विप्लव र बाबुरामको सम्बन्ध राम्रो थियो । विप्लवको कुरा रामबहादुर थापा र मोहन वैद्यसँग मिल्थ्यो तर प्रचण्डसँग त्यति राम्रो सम्बन्ध नरहेको विभिन्न दस्तावेजहरूले देखाएको छ । 

प्रचण्डसँग राम्रो सम्बन्ध नरहेको कारणले पनि पछिल्लो समय भूमिगत भएर आन्दोलन सुरुवात गर्दा विप्लवले प्रचण्डलाई ‘हिट लिस्ट’ मा राखेर जनकारवाही गर्ने भनि माइन्युट गरेको खबर सरकारमार्फत प्रचण्ड समक्ष पुगेको थियो । 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘विप्लवले शुरुमा प्रचण्डको बाटोलाई जस्ताको त्यस्तै अनुवाद गर्न खोजेका थिए तर गाउँघरमा जाँदा पाएको दुःख, त्यहाँबाट पाएको प्रतिकृयाले उहाँ ब्याक हुनुभएको हो जस्तो लाग्छ ।’
प्रचण्डको नेतृत्वमा जनयुद्ध हुँदा राजा–दलहरुको बीचमा द्वन्द्व थियो । त्यसको फाइदा प्रचण्डलाई भइरहेको थियो र त्यसकै आधारमा जनयुद्ध अगाडि बढेको थियो तर विप्लवले सशस्त्र आन्दोलन शुरु गर्दा त्यस्तो कुनै कारण थिएन । ‘विप्लवले सशस्त्र आन्दोलन गर्दा सुरुवातमै उनका ठूला ठूला नेताहरु गिरफ्तार भए, त्यही कारणले उनी कमजोर हुँदै गए र आज यो अवस्थामा आइपुगेका हुन्,’ श्रेष्ठले भने ।

नेकपाकै एकजना नेता रामकुमार शर्माले पनि प्रचण्डको नक्कल गर्न खोज्नु सजिलो रहेनछ भने कुरा विप्लवले राम्रोसँग थाहा पाएर शान्ति प्रक्रियामा फर्केको बताए । विप्लवले प्रचण्डलाई नै गाली गरेर प्रचण्डको नक्कल गर्न खोजेको दावी गर्दै उनले प्रचण्ड एउटा व्यक्ति मात्र नभइ, एउटा विचार र सिद्धान्त पनि रहेको प्रस्ट पारे ।

 त्यसैले पनि दुई वर्ष अघि विप्लवले प्रचण्ड बन्न त्यति सजिलो छैन भन्ने कुरा नबुझेर त्यो बाटोमा हिँडेको भए पनि अहिले मूलधारको राजनीतिमा फर्किएको हुन सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप