दस नेताको मदिरा

person access_timeअसोज २२, २०७४ chat_bubble_outline0

दीपेन्द्र राई
 

दसैं सकिए पनि तिहार नजिकिँदै छ । दसैं तिहार भन्नासाथ मासु र मदिराको चाड भनेर अथ्र्याउनेको कमी छैन । घरेलुदेखि पाँच लाख रुपैयाँसम्मको मदिरा नेपालमै पाइन्छन् । फ्रान्स, स्कटकल्यान्ड र बेलायतको मदिरा नेपालमै बिक्री गरिन्छ । 

मदिरा स्वास्थ्यका लागि लाभदायी होइन भन्ने थाहा भएर पनि खानेको कमी छैन । ‘पिउँदै पिउँदिनँ भन्नु झुटो बोल्नु हो,’ उद्योगमन्त्री सुनील थापा भन्छन्, ‘अतिथि सत्कार गर्नेले जे दिन्छ, त्यही खाने हो । एक पेगभन्दा बढी पिउने बानी छैन ।’ 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल आफू मापसे गर्ने मानिस होइन भन्छन् । मन्त्री पोखरेलको बाध्यता छ, ‘मेरो शरीरलाई सुटै गर्दैन । मदिरा पिउने लत भएकोमा पर्दिनँ ।’ 

दुई बहालवाला मन्त्रीझैं कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारी कहिलेकाहीं लोकल रक्सी पिउँथें । ‘जुन बेला रक्सी पिइन्थ्यो त्यतिबेला ठर्रामा चित्त बुझाइयो,’ अधिकारी दुःखेसो पोख्छन्, ‘पिउन छाडेपछि बोतलका बोतल ल्याइदिन्छन् । सकेसम्म ब्ल्याक लेबल ल्याइदिन्छन्, म के गरौं ।’ 

मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकारमा मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका अशोक राईलाई कोदोको रक्सी मन पर्छ । संघीय समाजवादी फोरम वरिष्ठ नेतासमेत रहेका राईले सुनाए, ‘मादक पदार्थ नियन्त्रित रूपमा खान्छु । मलाई कोदोको रक्सी मन पर्छ । यो स्वास्थ्यका लागि उपयोगी ठानेको छु । त्यसबाहेक स्कच, ह्वीस्की मेरो रोजाइ हो । खाँदा एक पेगमात्रै लिन्छु । सामूहिक रूपमा खान्छु । विशेष ‘अकेजन’ मा खान्छु ।’

सूचना तथा सञ्चारमन्त्री र वन तथा भूसंरक्षणमन्त्रीको भूमिका निर्वाह गरिसकेका अग्नि सापकोटालाई मादक पदार्थ खानै हुन्न भन्ने लाग्दैन । ‘तर पनि म पिउने मानिस होइन,’ पूर्वमन्त्री सापकोटाले भने, ‘कसैको अनुरोधमा पिउँदा राम्रै ब्रान्डको दुई पेगसम्म पिउँछु । होश गुम्नेगरी पिएको छैन ।’

पूर्वमन्त्री जीवनबहादुर शाहीको घरमा एक्लै बसेर मादक पदार्थ खाने आदत छैन । मन्त्री शाही सोसियल ड्रिंक गर्छन् । पर्यटन तथा नागरिक उड्डयमन्त्री र खानेपानी तथा सरसफाइमन्त्रीको भूमिका निर्वाह गरिसकेका उनको मान्यता छ, ‘किनेरै पिउनुपर्छ भने ब्ल्याक लेबल रोजाइमा पर्छ ।’ करकापमा परियो भने तीन नत्र एक/दुई पेगसम्ममा पिउने उनको मात्रा हो । 

नखानेले पनि चुरोटभन्दा मादक पदार्थ खानेसँग संगत गर्न रुचाउँछन् । उनीहरूको बुझाइ छ, ‘चुरोटभन्दा रक्सी खाने साथी बनाउनु रे, कम्तीमा सितन त खान पाइन्छ । चुरोटको त धूवाँ खानुको विकल्प हुँदैन ।’ 

पूर्वपशुपन्छी मन्त्री श्रीप्रसाद जबेगूलाई मादक पदार्थ पिउनैपर्छ भन्ने बानी छैन । ‘एक्लै पिउँदिनँ । पिउनैपरे नाइँ भन्दिनँ,’ संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीको समेत भूमिका निर्वाह गरिसकेका जबेगू आफ्नो बानी सुनाउँछन्, ‘सकेसम्म कलरलेस पिउनु भन्ने गरिन्छ । तसर्थ, तीनपाने रोजाइमा पर्छ । कलरलेस भएकाले रुस्लान भोड्का पिउँछु ।’ 

मन्त्री हुँदा बाहिरफेर जाँदा रातो, कालो खुवाए । पिउने मात्रा नभएको बताउने उनले पिउँदै जाँदा जति पनि पिउने खुलासा गरे । त्यसो त कहिलेकाहीं उनी लामो समय पिउँदैनन् पनि । 

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे नेवार समुदायको भएकाले पहिले खाए पनि हिजोआज मादक पदार्थ खाँदैनन् । अध्यक्ष बिजुक्छेले अतीत सुनाए, ‘घरेलुबाहेक विदेश जाँदा शोभा बढाइदिनकै लागि भए पनि धेरै कम पिउँथें । पिउँदा दुई पेगसम्म पिएको सम्झना छ ।’ 

माओवादी केन्द्र नेता लीलामणि पोखरेल नेवारका ज्वाईं हुन् । नेता पोखरेलले मादक पदार्थ खान निषेध गरेका छैनन् । ‘तर, जुन प्रकारको मापसे छ नि त्योचाहिँ सर्वथा गलत हो,’ भने, ‘म त नेवारको ज्वाईं परें । कहिलेकाहीं आफन्तकहाँ जाँदा चाडबाडमा लिने हो, लिएर मातेको छैन । सार्वजनिक ठाउँमा मादक पदार्थ खान निषेध गरेको छु ।’ 

पूर्वसांसद डा. खिमलाल देवकोटाको मापसे नै नभए पनि ‘सोसलाइजेसन’ सम्म हुन्छ । नयाँ शक्ति पार्टी पूर्वप्रवक्तासमेत रहेका देवकोटाले वाइन भए एक पेगसम्म लिन्छन् । उनले भने, ‘त्योभन्दा बढी शरीरले धान्दैन ।’
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ