शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज सार्वजनिक हुँदै विप्लव : प्रधानमन्त्रीले पनि एउटै मञ्चबाट सम्बोधन गर्ने

शुक्रबार, २१ फागुन २०७७, ०७ : ५६
शुक्रबार, २१ फागुन २०७७

सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्। सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

 


त्यस्तै, ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न गृहमन्त्रालयले सर्कुलर गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे । लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई प्रधानमन्त्री ओलीको ठुलो सफलता मानिएको छ । बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप