शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा जनप्रतिनिधिले रोके मापदण्ड विरपरीतको सडक निर्माण कार्य

बिहीबार, २० फागुन २०७७, २१ : २३
बिहीबार, २० फागुन २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र स्थानीय उपभोक्ता समितिबीच विवाद भएको छ । मापदण्ड विपरीत बाटोमा ढलान गर्न खोजिएको भन्दै जनप्रतिनिधि र स्थानीय उपभोक्ता समिति बीच विवाद उत्पन्न भएको छ ।

प्रदेश नम्बर २ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको बजेटमा उपमहानगरपालिका वडा नम्बर ७ बलवा टोल स्थित ४२ फिट चौडाइ रहेको बाटोमा एकतर्फी रुपमा ११ फिट मात्रै उपभोक्ता समितिले ढलान गरि रहेकोमा वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

मापदण्ड अनुसार बाटोको चौडाइ अनुसार सीपीसी ढलान वा कालोपत्रे गर्नुपरेको थियो । तर त्यसो नगरी मनपर्दी रुपमा ११ फिट चौडा मात्रै ढलान गर्दा भविष्यमा बाटो अतिक्रमण हुन सक्ने भनि वडा अध्यक्ष साहले अवरोध गरेपछि सो बाटोसँग सरोकारै नरहेका केही व्यक्तिहरुले आफू उपभोक्ता समितिको प्रतिनिधि हुँ भन्दै प्रतिकार समेत गरेका थिए ।

वडाध्यक्ष साहले भने, मापदण्ड अनुसार बाटोको चौडाइ भरि नभए उपमहानगरपालिकाको मापदण्ड अनुसार १३.२० फिट ढलान गर्नुपर्ने हो, तर त्यसो नगरी प्रदेश सरकारको योजना हो जे पाए गर्न सक्छु भनी बलजफ्ति ढलान गरिरहेको छ ।

उनले भौतिक पुर्वाधार कार्यालयबाट ११ फिटकै स्वीकृति दिइएको छ भने बाटोको सेन्टर प्वाइन्टलाई आधार मानी गर्नुपर्नेमा त्यस्तो नगरी एक साइडबाट मात्रै ढलान गरिरहेको जनाए । यसले भविष्यमा बाटो नै अतिक्रमण हुने सम्भावना हुन्छ । आफ्नो वडा भित्र मापदण्ड विपरित काम हुन दिन्न भन्दै यदि मापदण्ड अनुसार काम नगरे कानूनी बाटो रोज्ने समेत वडाध्यक्ष साहले भने ।

वडाध्यक्ष साहले अवरोध गरेपछि आफू स्थानीय हो, आफै नै योजना ल्याएको भन्दै जनता समाजवादी पार्टीका स्थानीय नेता समेत रहेका रामविनोद चौधरीसहितका केही व्यक्तिले इस्टिमेट अनुसारको काम भइरहेको भन्दै प्रतिकारमा उत्रेका थिए । तर स्थानीयका अनुसार आफूलाई स्थानीय भन्ने चौधरीको सो बाटोसँग कुनै पनि सरोकार नभई जग्गा व्यवसायी हुन् ।

उनले भौतिक पुर्वाधार विकास मन्त्रालयबाट आफूले नै १४० मिटर लम्बाइको १५ लाख रुपैयाँमा योजना ल्याएको कारण प्रतिकारमा उत्रेको स्पष्ट पारे । धनुषा महोत्तरी जिल्लामा सो मन्त्रालयबाट अधिकांश योजना स्थानीय नेता चौधरी नै काम गर्दै आएका छन् । चौधरीको न कुनै कन्स्ट्रक्सन छ न कुनै संस्था, स्थानीयको मिलोमतोमा फर्जी उपभोक्ता समिति बनाई ठेक्कामा काम गर्दै आएका छन् ।

उनी यसअघि सांसद परमेश्वर साहको योजनामा जनकपुरधाम उपमहानगरपालिका २३ मा समेत वस्ती नै नभएका ठाउँमा चौरमा रहेको जग्गामा प्लटिङ गर्ने उद्देश्यले सीपीसी ढलान गरेको कारण विवादमा तानिएका थिए ।

एक स्थानीयका अनुसार विवादित सो ठाउँमा समेत गुठीको जग्गासँग जोडिएर पप्पुको नातेदारका केही जग्गा छ गुठीको जग्गा कब्जा गर्ने र नातेदारको जग्गा बढी मोलमा बेच्ने उद्देश्यले त्यहाँ प्रदेश सरकारको योजनामा पीसीसी ढलान चौधरीले गराउँदैछन् । घटनास्थलमा स्थानीय नेता चौधरीले वडाध्यक्ष साहले आफूसँग १ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । तर उनी सो उपभोक्ता समितिको पदाधिकारी नभई उनी विचौलियाको रुपमा रहेको वडाध्यक्ष साहको भनाई छ ।

यता जनकपुरधाम उपहानगरपालिकाका उपमेयर रीता मिश्रले जनकपुरधाम नगरभित्र कम्तिमा १३.२० फिटको बाटो छुट्याउने हो, तर सो बाटोमा कति फिट कालोपत्रे वा ढलान गर्ने हो कुनै मापदण्ड नै अहिलेसम्म आफूहरुले नबनाएको दावी गरिन् ।

तर ब्लक बाटोमा मात्र आवश्यकता अनुसार आपसी सम्झौतामा ढलान वा कालोपत्रे गर्न पाउने हो अन्यमा त्यस्तो प्रावधान नरहेको कुरा उपमहानगरपालिकाका इञ्जिनीयर वीरेन्द्र यादवले बताए ।

इन्जिनियर यादवले भनी ५० मिटर लम्बाइको ब्लक बाटोमा आपसी सम्झौतामा आवश्यकता अनुसार निर्माण गर्न पाइन्छ । तर ५० मिटरभन्दा बढी लिंक सडकमा त्यस्तो गर्न नपाइने नेपाल सरकारकै कानुनी प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप