शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दर्ता तथा कर प्रणालीलाई एकद्वार प्रणालीमा लैजान चेम्बरको माग

बिहीबार, २० फागुन २०७७, १९ : ३०
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक फर्म तथा कम्पनी दर्ता तथा कर प्रणालीलाई एकद्वार प्रणालीमा लैजान सरकारसँग माग गरेको छ । बिहिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँगको चेम्बरका पदाधिकारीहरुले भेट गरि यस्तो माग गरेका हुन् ।

उक्त भेटका क्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्यका लागि पहल एकद्वार प्रणाली कार्यान्वयन गरिदिन सचिव पोखरेलसँग आग्रह गरे ।  ‘उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका फरक–फरक निकायमा दर्ता गर्न दौडनुपर्ने अवस्थाको जबसम्म अन्त्य हुँदैन तबसम्म औद्योगीकरण तथा उद्यमशिलताको विकास सम्भव छैन । अहिले दर्ता र कर लिने काम एकद्वार प्रणालीबाट नहुँदा व्यवसायीहरूले अनावश्यक झन्झट बेहोर्नुपरेको छ । व्यवसायिक सहजताका लागि र कार्यप्रणली सुव्यवस्थाका लागि अब एकद्वार प्रणालीको आवश्यकता छ । जुन सुधारका लागि सचिवज्युले उचित पहल गर्नु हुनेछ भन्ने हामी व्यवसायीहरु आशावादी छौं’ अध्यक्ष श्रेष्ठले भने ।  

अहिले संघीय, प्रदेश तथा स्थानीय तहका फरक–फरक निकायहरूमा दर्तादेखि करसम्मको प्रक्रियाले गर्दा व्यवसायीहरू मारमा परिरहेको श्रेष्ठको भनाई छ । यस्ता समस्याहरूको एकमुष्ट सुधारका लागि सरकारले अविलम्ब विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने र रुग्ण उद्योगहरू सञ्चालन तथा व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने उनले बताए ।  

छलफलमा उद्योग सचिव पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारका नीति नियम तथा कानुनबीच तादम्यता मिलाएर व्यवसायिक वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए । ‘उद्योग व्यवसायको दर्ता प्रक्रियालाई छुट्ट्याएर सरल बनाउन हामी लागिरहेका छौँ । नीतिमा त्यस्तो खासै समस्या छैनन्, केही व्यवहारिक अप्ठेराहरु फुकाएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो’ सचिव पोखरेलले भने । सो अवसरमा उनले उद्योग व्यवसाय दर्ता, नवीकरण लगायतका काम जति दिनमा गर्ने भनिएको छ, सोही सीमाभित्र गर्ने गरी निर्देशन समेत दिइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप