शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु ठूलो सफलताः सञ्चारमन्त्री गुरुङ

बिहीबार, २० फागुन २०७७, १८ : ३९
बिहीबार, २० फागुन २०७७

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताएका छन् । मन्त्री गुरुङले हिंसात्मक गतिविधिमा संलग्न सो समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमति गरेसँगै नेपाललाई शान्तिपूर्ण र समृद्ध देश बनाउने अभियानले तीव्रता पाउने विश्वास समेत व्यक्त गरे ।

‘हिंसा छोडेर विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै मुलुकलाई समृद्ध बनाउने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प पूरा गर्ने काममा तीव्रता आउनेछ’ नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘अब मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनेछ, समृद्ध नेपाल ; सुुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्ने अभियानले सार्थकता पाउनेछ ।’

मन्त्री गुरुङले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै बन्दुक बोकेर राजनीति गर्ने जंगली युगको अन्त्य भएको घोषणा पनि गरे । अब मुलुकमा बाह्य लगानी भित्र्याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान समेत गरे ।

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि पूर्वाधार कम्पनी निर्माणको कामलाई तत्काल अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह पनि गरे । उनले दूरसञ्चार सेवालाई सुलभ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो बनाउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि इमान्दारीताका साथ काम गर्न दूरसञ्चार प्रदायक संघ, संस्थाहरुलाई सचेत पनि गराए । सरकारले सुशासन, समृद्धि र विकासका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को अवधारणा अघि सारेको बताउँदै मन्त्री गुरुङले त्यस अभियानलाई सार्थक बनाउने गरी योजना ल्याउन प्राधिकरणले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मुलुकलाई सूचना प्रविधि मैत्री बनाउने काममा प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनलाई समसामयिक बनाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप