शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलका नेताहरुले गरे विप्लव र सरकारबीचको ३ बुँदे सहमतिको स्वागत

बिहीबार, २० फागुन २०७७, १२ : २२
बिहीबार, २० फागुन २०७७

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो । 

वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने, सार्वजनिक हुने, एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमति भएको छ । सरकार र विप्लव समूहबीच भएको सहमतिलाई विभिन्न दलका नेताहरुले सकारात्मक रुपमा लिएका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । 

यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए । रातोपाटीसँग कुरा गर्दै यादवले अहिले शान्तिपूर्ण राजनीतिमा आएपनि आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो महत्वपूर्ण हुने उल्लेख गरे । 

 


 

नेकपा प्रचण्ड–नेपाल पक्ष नेता पम्फा भुसालले पार्टीमा सहमतिबिना विप्लवलाई प्रतिबन्ध लगाइएको उल्लेख गर्दै अहिले प्रतिबन्ध फुकुवा गर्नु सामान्य कुरा भएको उल्लेख गरिन् । उनले यसलाई सरकारको सफलतासँग जोड्न नहुने तर्क गरिन । उनले भनिन्, ‘पार्टीमा सहमति नगरी जसले आफूखुसी प्रतिबन्ध लगायो पछि आफैले फुकुवा गर्नुप¥यो । यो सामान्य कुरा हो । हामीले पहिलेदेखि नै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गर्दै आएका थियौं । शान्तिपूर्ण रुपमा राजनीति गर्छु भन्नु राम्रो कुरा हो ।’

यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको प्रतिक्रिया दिए । 

उनले विप्लव समूहले परिस्थितिको मूल्याङ्कन गरेर लोकतन्त्र प्रति प्रतिबद्धता जनाउनु सुखद कुरा रहेको र नेपाली कांग्रेसले त्यसलाई स्वागत गर्ने उल्लेख गरे । 
यसैगरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको नेकपा मालेले स्वागत गरेको छ । 

‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
गत १८ गते सरकार र विप्लव समूहले दुई दुई सदस्यीय वार्ता टोली गठन गरेका थिए । त्यसयता भएका चरणबद्ध छलफलपछि बिहीबार ३ बुँदे सहमति गरिएको हो । भोलि दिउँसो २ बजे प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम समेत बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप