मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाबारे ‘विप्लव’को यस्तो छ दृष्टिकोण

‘केपी–पिकेको शासनमा सारा जनता उत्पीडनभित्र शान्तसँग कसरी बस्न सक्छन् ?’
बिहीबार, २० फागुन २०७७, ०७ : ४८
बिहीबार, २० फागुन २०७७

सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको छ । वर्तमान सरकारले नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो । यसबीचमा सरकारले विप्लप समूहका कयौं नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

एक्कासी सरकार र विप्लव समूहले वार्ता टोली गठन गरे । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोकतत्वमा र विप्लव समूहले ‘प्रकाण्ड’को नेतृत्वमा दुई–दुई सदस्यीय वार्ता टोली गठन गरे ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बुधबार वार्ताको सुरुवात भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।

दुवै पक्ष अहिले वार्ताको टेबलमा आएका भए पनि यसअघि दुवैले एक अर्कामाथि हेर्ने दृष्टिकोण, एक अर्काप्रतिको सोचमा ठुलो अन्तर देखिन्थ्यो । यतिमात्र होइन, प्रतिवन्धित नेकपाका महासचिव विप्लवले त प्रधानमन्त्री ओलीलाई ‘प्रतिक्रान्ति’का अगुवाका रुपमा समेत परिभाषित गरेका थिए ।

‘विप्लव’द्वारा लिखित ‘महापतन’ पुस्तकको ‘क्रान्ति र प्रतिक्रान्तिबीच सङ्घर्षको सम्भावना’ खण्डमा उनले ओलीमात्र होइन, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि प्रतिक्रान्तिकै सहयोगी बनेको आरोप लगाएका छन् ।

प्रस्तुत छ, विप्लवले लेखेको पुस्तकको एउटा अंश–

हामीलाई मार्क्सवादले सिकाएको सत्य यो हो कि दुनियाँमा पुँजीवाद रहेसम्म वर्गसङ्घर्ष अनिवार्य छ । वर्गसङ्घर्ष रहेसम्म क्रान्ति अनिवार्य छ । क्रान्ति चल्दासम्म प्रतिक्रान्तिको सम्भावना भए पनि प्रतिक्रान्तिका विरुद्ध पुनः क्रान्ति पनि अनिवार्य नै हुन्छ । केही मान्छे यो नियमबाट फुत्किन चाहन्छन् या फुत्केको स्वाङ पार्छन् तर त्यो उनीहरुको मनोभावना मात्र हो । उनीहरु कुनै पनि अर्थमा वर्गसङ्घर्ष र क्रान्तिको निर्विकल्प नियमबाट बँच्न सम्भव छैन । जब प्रतिक्रान्ति या पश्चगमन हाबी हुन्छ तब पुँजीवादी र संशोधनवादीहरुलाई लाग्न सक्छ कि क्रान्तिलाई माथि उठ्न दिनुहुँदैन, दमन गरिहाल्नुपर्छ । आज एमाले–माकेको सरकार बनेपछि हाम्रो पार्टीविरुद्ध यस्तै दमनकारी व्यवहार प्रस्तुत गरेका छन् । उनीहरुले जनताको बीचमा कार्यरत हाम्रो पार्टीका हजारभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने दर्जनौँ कमरेडहरुलाई जेल र हिरासतमा बन्दी बनाइरहेको छ । दलाल, राष्ट्रघाती, भ्रष्टाचारी, तस्कर, सुदखोरहरुलाई कारबाही गरिरहँदा केपी–प्रचण्डले ‘अतिवाद’ देखापरेको, ‘नयाँ अवरोधहरु आउने’, ‘त्यसलाई नछोड्ने’, ‘परास्त गर्ने’ भाषण गर्दै हिँडेका छन् । यसले प्रतिक्रान्ति र क्रान्तिको बीचमा दमन र प्रतिरोध अरू बढेर जाने स्थिति देखा परेको छ । 

माओले भन्नुभएको थियो कि संशोधनवाद भनेको कम्युनिस्ट नकाव लगाएको पुँजीवाद नै हो । यो कम्युनिस्ट रङमा हुने भएकाले झनै खतरनाक हुन्छ । संशोधनवाद हावी हुनु भनेको क्रान्तिविरुद्ध चुनौती थपिनु हो किनकि संशोधनवादको नजरमा साम्राज्यवाद खतरा होइन, क्रान्ति खतरा बन्छ । उनीहरु क्रान्तिबाट सुरक्षित हुने विषयलाई मुख्य ठान्छन् । नेपालमा यो अझ किन बढी खतरनाक छ भने जानेमानेको संशोधनवादी एमालेसँग भर्खरै विचलित भएर संशोधनवादी भासमा जाकिएका प्रचण्डहरु समाहित हुन पुगेका छन् । क्रान्ति असम्भव छ भन्दै आफ्नो संशोधनवादी अनुहार लुकाउन एमालेकरण हुन पुगेका प्रचण्डका लागि यो ठूलो प्रतिष्ठा र अस्तित्वको प्रश्न बन्न पुगेको छ । उनले जे गरेर भए पनि क्रान्ति समाप्त पार्नुमा आफ्नो भविष्य देख्ने हुन्छ । त्यो हिजोको सङ्कटकालभन्दा पनि नाङ्गो हुनसक्ने सम्भावना रहन्छ ।

हामी देख्छौँ, नेपालको अर्थ–राजनीतिक सम्बन्धहरुले दिनप्रतिदिन देश शान्ति, समृद्धितिर, विकास, स्वाधीनतातिर होइन कि झन् अशान्ति, हिंसा, अस्थिरता, अराजकता, कङ्गालीकरण, पराधीन हुँदै गएको छ । नेपाल विश्वका लागि गुलाम या श्रम बेच्न बाध्य श्रमिकहरु जन्माउने देश बन्दै गएको छ । नेपालका युवायुवतीहरुले आफ्नो श्रम नबेचेको र  मालिकहरुको जङ्गली शोषणमा नपरेको एकछिन्, एक घण्टा, एक दिन पनि छैन । वर्ष र महिनाको त कुरै नगरौँ । उन्नाइसौँ शताब्दीसम्म अफ्रिकनहरु साङ्लोले बाँधिएर युरोप अमेरिकातिर बेचिनु र एक्काइसौँ शताब्दीमा नेपाली युवायुवतीहरु अरबको खाडीदेखि युरोपका गल्लीसम्म बेचिनुलाई के फरक देख्न सकिन्छ ? वास्तवमा यो दर्दनाक छ । अनि कताको शान्ति र कताको समृद्धि ! त्यो त केपीको कोठा र प्रचण्डको खोपडीको मात्र शान्ति हो । नेपाल र नेपाली जनताका लागि शान्ति होइन, भीषण क्रन्तिको सङ्केत हो । के यो ऐतिहासिक वास्तविकता र वस्तुगत यथार्थतालाई कसैले इन्कार गर्न सक्छ ? अहँ यो असम्भव  कुरा हो । विश्व मानव इतिहास र नेपाली राजनीतिक इतिहासमा पनि जतिबेला राज्य र जनतामा प्रतिक्रान्ति र पुँजीवादी उत्पीडन लादिन्छ त्यतिबेला जनताले बलिदान रोजेर विद्रोह गरे । सामन्तवादलाई पुँजीवादीहरुले मिल्काए । पुँजीवादलाई समाजवादीहरुले मिल्काए । शक्तिशाली ठानिएका शासकहरु धुलोजत्तिको बलियो पनि साबित हुन सकेनन् । जति नै मूल्य चुकाउनु परे पनि जनता पुरानो उत्पीडन र दमनविरुद्ध विद्रोहमा उत्रिए र क्रान्ति गर्न सफल भए । अनि केपी–पिकेको शासनमा सारा जनता उत्पीडनभित्र शान्तसँग कसरी बस्न सक्छन् ! क्रन्तिकारी चुपचाप कसरी सहन गर्न सक्छन् ? उनीहरुको शान्ति कसरी सम्भव हुन्छ ? यी सबै कुरा पनि त्यसरी नै समाप्त हुनेछन् जसरी सबैले आफ्नो शासनलाइै सबैभन्दा उत्कृष्ट भन्दाभन्दै जनविद्रोहको आँधी आफ्नो अस्तित्व समाप्त भएको परिणाम भोग्नुपर्यो ।

निःसन्देश दलाल पुँजीवाद र संसदीय व्यवस्था क्रान्ति र क्रान्तिकारीहरुप्रति शालीन र भद्र भएर बस्दैन । यहाँ पनि केपी–प्रचण्डहरुको सरकार क्रान्तिकारीहरुप्रति शान्त र शालीन भएर बस्नेछैनन् । उनीहरु अनेकौँ परम्परागत तर्कहरुको सहारा लिएर क्रान्तिकारीहरुलाई बद्नाम गर्न र दमन गर्न तयार हुनेछन् । उनीहरुले हाम्रो पार्टीप्रति इङ्गित गरेर भन्ने गरेको ‘अतिवाद, केही बाधक प्रवृत्ति, नछाड्ने, परास्त गरिनेछ’ ले यसको सङ्केत गर्दछ ।

सबैलाई अवगत छ कि उनीहरुले सङ्केत गरेजस्तो हाम्रो पार्टी र क्रान्ति अतिवादी होइन । यसो त क्रान्तिलाई सत्तासीन वर्गले जहिले पनि अतिवादको आरोप थोपर्ने गर्छ तर क्रान्ति कहिल्यै पनि अतिवादी हुँदैन । आफ्नो सारतत्वकै कारणले पनि यथास्थितिवादविरुद्ध पैदा हुने क्रान्ति प्रगति र परिवर्तनको साधक हुन्छ । अतिवाद त आजको दिनमा दलाल पुँजीवादी सत्तालाई जनतामा थोपर्न चाहने र त्यसका लागि गृहयुद्ध निम्त्याउने तत्त्वहरु हुन्छन् । यसरी हेर्दा अतिवादी केपी–प्रचण्डहरु हुन् । उनीहरुले हाम्रो पार्टीले क्रान्तिकारी कारबाहीहरु सञ्चालन गरेमा नछाड्ने ध्वाँस दिएका छन् । यसो त अहिले उनीहरुले छाडिरहेको भन्ने पनि होइन । उनीहरुले के बुझपचाउँछन् भने क्रान्ति छाडेर वा नछाडेर हुने कुरा होइन । क्रान्ति कुनै पनि सत्तासिन वर्गले छाडेर भएको छैन । नछाड्ने भन्दाभन्दै हुने गरेको छ र यहाँ पनि केपी प्रचण्डले छोड्लान् र क्रान्ति गरौला भनेर क्रान्ति गर्न सोचिएको पनि होइन । उनीहरूले भन्ने गरेको ‘परास्त गरिने’ शब्दको अर्थ पनि यस्तै हो । क्रान्ति र प्रतिक्रान्ति, वैज्ञानिक समाजवाद र दलाल पुँजीवाद, क्रान्तिकारी र प्रतिक्रान्तिकारीमा को परास्त हुनेछ र को विजयी हुनेछ, त्यो कुनै व्यक्तिले कोकोहोलो मच्चाएर या धम्की दिएर फैसला हुने विषय होइन । त्यो त समाजको अर्थराजनीतिक सम्बन्ध र अन्तर्विरोधको चरित्रले निर्धारण गर्ने प्रश्न हो । जति नै चिच्याए पनि पुरानो प्रतिक्रियावादी, पुँजीवादी वस्तुतः परास्त हुने हो र नवीन, जनवादी, क्रान्तिकारी, दलाल पुँजीवाद, संशोधनवादीहरु हावी भएर आउने र भयानक दमन सञ्चालन गर्ने सम्भावना पनि कायम हुन्छ ।

विश्व क्रान्तिको इतिहासमा यस्ता केही भद्दा उदाहरणहरु छन्, जहाँ संशोधनवादीहरूले क्रान्तिकारीहरुमाथि दमन–नरसंहार मच्चाएका छन् र क्रान्तिको सम्भावनालाई अस्थायी ढङ्ले भएपनि बाधा हाल्ने चुनौती खडा गरेका छन् । जस्तो कि जर्मनीमा गद्दार सिदेमानहरुले सर्वहारा वर्गका नेता लक्जेम्बर्ग र कार्ल लिब्नेख्तलगायत हजारौँ क्रान्तिकारीको हत्या गरेका थिए । रुसका संशोधनवादी र प्रक्रिक्रियावादीहरले लेनिन र किरोमाथि गोली दागेका थिए र किरोभलगायत सयौँ जनाको हत्या गरेका थिए । भारतमै पनि चारुको हत्या बङ्गालका संशोधनवादी ज्योतिवसुहरुले प्रतिक्रियावादीहरुसँग मिलेर गरेका थिए । आज केपी प्रचण्डले पनि क्रान्तिकारीहरुमाथि भीषण दमन नगर्लान् भन्न सकिँदैन । केपी प्रचण्डहरु नेपाली क्रान्तिकाविरुद्ध दमनमा उत्रिँदा क्रान्तिकारीहरु पनि चुप लागेर बस्ने प्रश्नै भएन । यसले सम्भवतः क्रान्ति र प्रतिक्रान्ति, दमन र प्रतिरोधको भीषण प्रक्रिया अगाडि आउनेछ । हामीले जति चुनौतीहरू मोल्नुपर्नेछ, उनीहरुले झन् अजङ्गाको प्रतिरोध र क्रान्तिको सामना गर्नुपर्नेछ । देशभरि क्रान्तिको ज्वाला विस्फोट हुनेछ । जनमुक्ति सेनासहित चौतर्फी क्रान्तिको आँधी फैलनेछ । एमाले–माकेको प्रतिक्रान्ति र नेपाली श्रमिकवर्गको क्रान्तिको बीचमा एउटा भीषण मोर्चा देखा पर्नेछ । उनीहरुले झुट, भ्रम, आतङ्क र दमनको बलमा प्रतिक्रान्ति लाद्ने कोसिस गर्नेछन् भने न्याय, स्पष्टता, प्रतिरोध र विद्रोहद्वारा क्रान्ति अगाडि बढ्नेछ । उनीहरुले कानुनहरुको  प्रयोग गरेको डङ्का पिट्नेछन्, श्रमिक वर्गको विद्रोह र त्यसको नेतृत्व गर्ने पार्टीलाई आतङ्कपूर्ण क्रियाकलाप र आतङ्ककारी तत्त्व भनेर जनतामा प्रचार गर्ने कोशिस गर्नेछन्, प्रहरी र सेनालाई प्रयोग गर्नेछन् भने कम्युनिस्ट वर्ग र कम्युनिस्ट पार्टीहरुले उनीहरुको प्रतिक्रान्तिकारी क्रियाकलापको भण्डाफोर गर्नेछ । जनताको शक्तिलाई सशस्त्र गर्नेछ । विद्रोह गर्नेछ र चक्रहरु सिर्जना गर्नेछ । मान्छेहरुले कल्पना गरेभन्दा नौला खालका मोर्चाहरु आगाडि आउनेछन् । नेपाली जनता, राजनीतिक शक्ति र प्रवृत्तिहरुका बीचमा नयाँ स्तरको धु्रवीकरण पैदा गर्नेछ । सामान्यतयाः दुवैले एकअर्कामा हावी हुन प्रयत्न गरे पनि अग्रगामी एवम् गतिशील चरित्रका कारण प्रतिक्रान्तिमाथि क्रान्ति नै हाबी हुन पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप