मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय भुक्तानीको सीमा बढ्यो, अब कतिसम्म गर्न पाइन्छ कारोबार ?

बुधबार, १९ फागुन २०७७, १६ : २०
बुधबार, १९ फागुन २०७७

काठमाडौं । विद्युतीय भुक्तानीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै बढाएको हो  । पछिल्लो समय विद्युतीय कारोबारलाई जोड दिएसँगै यसको सहजताको लागि राष्ट्र बैंकले सीमा बढाएको हो । 
बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै  राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको हो । अब मोबाइल बैंकिङबाट दिनमा दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङको अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ । तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो । राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोवारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो । 

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क र शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ । यस्तै, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन ।  

शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा सीमा  छैन । यता धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप