घरपायक जागिर बचाउन प्रधानाध्यापकद्वारा बालबालिकालाई बन्धक बनाएर यातना

पोखरा । कास्कीको मादी गाउँपालिकाका एक शिक्षकले घरपायक जागिर जोगाउन ६ देखि ११ वर्ष उमेरका ७ जना विद्यार्थीलाई बन्धक बनाएर यातना दिएको तथ्य खुलेको छ । अभिभावकलाई बालबच्चाको शिक्षा र पालनपोषण गर्ने प्रलोभन देखाएर मादी–६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर थापा मगरले ती विद्यार्थीलाई बन्धक बनाएर यातना दिएको पाइएको हो ।
प्रधानाध्यापक मगरले लमजुङ, तनहुँलगायत जिल्लाबाट ६ देखि ११ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । उनले ती बालबालिकालाई दिउँसो विद्यालयमा हाजिरी गराउने र बिहान–बेलुका घरको काममा लगाउने गरेको पीडित बालबालिकालाई उद्धृत गर्दै सिविनका पदाधिकारीले रातोपाटीलाई बताए । पीडित बालबालिकालाई उद्धार गरी हाल सिविनले आफ्नो संरक्षणमा राखेको छ ।
यातना सहन नसकेर भाग्न खोजेका विद्यार्थीलाई प्रधानाध्यापक मगरले कुटपिट र लछारपछार गरेको सोही ठाउँमा निर्माणको काम गरिरहेका मजदुरले देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए । त्यसलगत्तै गाउँपालिकाले प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको थियो भने बालबालिकाको उद्धार गरी सिविनको जिम्मा लगाइएको छ ।
मादी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले प्रधानाध्यापक थापामगरले जागिर जोगाउनका लागि विभिन्न ठाउँबाट बालबालिका ल्याएर आफ्नो विद्यालयमा भर्ना गराएको जानकारी दिइन् । शिक्षक थापामगरले बालबच्चालाई पढाउने उद्देश्यले ल्याएको भए पनि नियतमा खराबी देखिएको उनको भनाइ छ ।
‘पढाउने बहानामा ल्याइएका बालबालिकालाई बिहान बेलुका घाँस दाउरा, मलका भारी बोकाउने र अन्य काममा समेत लगाउने गरेको चर्चा गाउँभरी चल्दै आएको थियो,’ उनले भनिन्, ‘प्रधानाध्यापक थापा मगरले घरपायकको जागिर जोगाउन बालबालिकालाई विद्यायलमा भर्ना गरेको प्रस्टै भयो ।’ उपाध्यक्ष पौडेलले बालबालिकालाई यातना दिएर घाइते बनाएको सूचना पाएलगत्तै उद्धार गरी पोखरा पठाइएको बताइन् ।
सिविन कास्कीका प्रमुख शंकर नेपालीले सम्पर्कमा आएका अभिभावक र उनीहरुका बालबालिकाको बयान प्रहरीले लिइसकेको बताए । उनले सिविनको जिम्मामा रहेका सातैजना बालबालिकाको अवस्था सामान्य रहेको जानकारी दिए ।
यातनाका कारण ७ जनामध्येका ११ वर्षीय बालक दीपेश राईको टाउको, मुख लगायतका ठाउँमा घाउ भएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराएको नेपालीले बताए । ‘बालक दीपेशको टाउकोमा ढुङ्गा प्रहारबाट गहिरो चोट लागेकाले डाक्टरको सल्लाहमा सिटीस्क्यान समेत गरिएको छ,’ उनले भने, ‘अहिले उनलाई दैनिकरूपमा अस्पताल लगेर ड्रेसिङ गर्दै आएका छौँ ।’
घाइते भएका दीपेशलाई उनकी आमाले एक हप्ता अगाडिमात्र शिक्षक थापा मगरकोमा लगेर जिम्मा लगाएको पनि खुलेको नेपाली बताउँछन् । कक्षा २ मा पढ्ने दीपेशलाई प्रधानाध्यापक मगरले नै ढुङ्गा प्रहार गर्दा निधारमा चोट लागेको उनको आरोप छ ।
नेपालीका अनुसार पीडित बालबालिकाका अभिभावक सोममाया थापा र सविता राईले प्रहरीमा प्रधानाध्यापक थापामगर विरुद्ध जाहेरी दिएका छन् ।
सिविनको जिम्मामा अहिले ४ छात्र र ३ छात्रासहित ७ जना रहेको उनले बताए ।
निःशुल्क खाना, बस्ने व्यवस्था गरेर स्कूलमा पढाउने आश्वासन दिएर ल्याइएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा शिक्षक थापा मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
उनले केही बालबालिकाका अभिभावकको खोजी भइरहेको र केहीसँग बयान लिएको बताए । पक्राउ परेका प्रधानाध्यापक थापा मगरलाई बालबालिका सम्बन्धी कसुर अन्तर्गत अदातलबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
-
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
-
पशुपतिनाथ क्षेत्रमा एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै
-
सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन