बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा माउन्टेन बाइक च्याम्पियनशीप हुँदै

सोमबार, १७ फागुन २०७७, २० : ४९
सोमबार, १७ फागुन २०७७

मकवानपुर । हेटौंडा जेसीजले फागुन १९ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्‍ताह मनाउने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले फागुन १९ गते माउन्टेन बाइक च्याम्पियनशीपबाट सप्ताहव्यापी कार्यक्रम सुरुवात गर्ने जनाएको हो ।

स्वास्थ्य र पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले मकवानपुरमै पहिलो पटक माउन्टेन बाइक च्याम्पियनशीप (सर्ट ट्रयाक रेस) प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।

सन् २०१७ देखि आयोजना गर्दै आएको साइकल सम्बन्धी प्रतियोगितालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष भने केही फरकपन दिने उद्देश्यकासाथ माउन्टेन बाइक च्याम्पियनशीप आयोजना गर्न लागिएको हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय स्तरका करिब २० जना खेलाडीको सहभागिता रहने छ भने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै फागुन १९ गते नै मकवानपुर बहुमुखी क्याम्पसमा माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

फागुन २० गते दुर्घटना न्युनीकरणका लागि स्लो बाइक कम्पिटिसन र व्यक्तित्व विकासका लागि अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता गर्ने जनाइएको छ ।

फागुन २१ गते हेटौंडा उपमहानगरपालिका–१५ चिप्लेटीस्थित विश्व ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गरायो ।

२२ गते बिहान हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम र सोही दिन सप्ताहव्यापी कार्यक्रमको समापन गरिने अध्यक्ष बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप