बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका लागि को ‘कम्फर्टेबल’ : ओली कि प्रचण्ड ?

आइतबार, १६ फागुन २०७७, १७ : २८
आइतबार, १६ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने तयारी भइरहेको अवस्थामा नेपाली राजनीतिमा अनेक प्रश्न अझै अनुत्तरित छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली कुन रुपमा प्रस्तुत होलान् ? उनले आफूलाई रक्षात्मक रुपमा अघि बढाउने हुन् या आक्रामक रुपमा अघि बढाउलान् भन्ने प्रस्ट हुन सकेको छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिले नयाँ मोड लिएको हो । योसँगै अब ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने हो या यसको विकल्पमा दलहरुले नयाँ गठबन्धन बनाउँछन् भन्नेबारे विभिन्न टिप्पणी भइरहेको छ ।

त्यसो त, ओली सरकार विस्थापित भएको अवस्थामा नेपाली काँग्रेस सत्ता समीकरणको केन्द्रमा आउन सक्छ । यद्यपि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि अहम् भूमिकामा रहने आँकलन गरिएको छ ।

सत्ता समीकरण बनाउने सन्दर्भमा ओली पक्ष र ओली इतरपक्ष गरी दुई राजनीतिक ध्रुव निर्माण हुने जानकारहरु बताउँछन् । हाल नेकपामा देखिएको दुई धारकै आधारमा सत्ता समीकरण निर्माण हुन सक्ने उनीहरुको भनाइ छ । यस अनुसार नै सत्ता गठबन्धनका लागि दलहरुले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ ।

अहिले नेकपाका दुई पक्षभन्दा बाहेकका दलले यस्तो भूमिकाका लागि आफ्नो ‘कित्ता क्लियर’ गरिसकेका छैनन् । तर प्रचण्ड–माधव पक्ष र ओली पक्षले भने कुन दलसँगको समीकरणमा के कस्ता फाइदा वा घाटा भन्नेबारे लेखाजोखा गरिरहेका छन् ।

त्यो अवस्थामा जनता समाजवादी पार्टी नेपाललाई नेकपा प्रचण्ड–माधव समूह रोज्छ कि ओली समूह रोज्छ भन्ने प्रस्ट हुन बाँकी छ । जसपाका लागि नेकपाको कुन समूह ‘कम्फर्टेबल’ हुन्छ भन्नेबारे पनि सो पार्टीभित्र फरक फरक तर्क आइरहेको छ ।

जसपा नेपालको एउटा समूह प्रचण्ड–माधव पक्षसँग नजिक छ भने अर्को समूह ओलीसँग निकट छ । जसले गर्दा जसपा नेपालले नेकपाका दुईमध्ये कुन पक्षलाई रोज्ने भन्नेबारे प्रस्ट पार्न सकिरहेको छैन ।

जसपा नेपालकै कतिपय नेताले सोच, विचार, सिद्धान्त र प्रतिबद्धताका आधारमा ओलीभन्दा प्रचण्ड नै अग्रगामी रहेको निष्कर्ष निकालेका छन् । ओलीप्रति अझै मधेस सकारात्मक हुन नसकेको, मधेसप्रति ओलीले गरेको टिप्पणी मधेसी जनताको मनबाट अझै नहटेको अवस्थामा नेकपाका दुईमध्ये एउटा पक्षलाई रोज्नुपर्ने बाध्यता आयो भने प्रचण्ड–माधव समूहलाई नै रोज्नु पर्छ भन्ने तर्क गरिरहेका छन् ।

तर सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसका लागि नेकपाका दुवै समूह उस्तै रहेको र दुवै समूहले मधेसको मुद्दा समाधान गर्न नचाहेको टिप्पणी गर्दै आएका छन् । त्यसैले जसपा नेपालका लागि नेकपाका दुवै समूह उस्तै रहेको उनको भनाइ छ ।

मधेस मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णको भनाइ पनि त्यस्तै छ । उनले भने, ‘मधेसी, आदिवासी जनजातिका लागि नेकपाका दुवै समूह उस्तै हुन् तर दुवैमध्ये एउटा रोज्ने बाध्यता आयो भने प्रचण्ड–माधव समूहलाई रोज्नुपर्छ ।’ मधेसी, आदिवासी, जनजाति पिछडिएका बारेमा ओलीको सोच १०० प्रतिशत नकारात्मक रहेको तर प्रचण्डको सोच ७५ प्रतिशतमात्र नकारात्मक रहेको उनले बताए । ‘यस आधारमा रोज्नुपर्ने अवस्था आयो भने प्रचण्डलाई नै रोज्नुपर्छ,’ उनले भने, ‘मधेसी, आदिवासी जनजातिको हकमा प्रचण्ड–माधव पनि ठिक छैनन् तर ओलीभन्दा तुलनात्मक रुपमा उनीहरु नै ठिक छन् ।’

प्रधानमन्त्री ओलीबाट लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, गणतन्त्रलाई खतरा रहेको बताउँदै उनले यी उपलब्धिलाई ओलीले जतिबेला पनि खारेज गर्न सक्ने खतरा औंल्याए । तर प्रचण्डले हतपत त्यत्रो हिम्मत नगर्ने उनको भनाइ छ । यद्यपि प्रधानमन्त्री ओलीले गर्ने हरेक गल्तीको साक्षी प्रचण्ड–माधवहरु रहेको दावी उनले गरे । ‘जब आफूमाथि प¥यो, अनिमात्र उनीहरुले कुरा बाहिर ल्याए,’ उनले भने ।

ओलीले मधेसी, आदिवासी जनजातिमाथि विभेद गर्दा, उनीमाथि मजाक उडाउँदा, संसदमा गलत विधेयकहरु पेस गर्दा, संविधानको विरुद्ध काम गर्दा, लोकतन्त्रलाई नियन्त्रणमा लिँदा, मानव अधिकारलाई नियन्त्रणमा लिँदा, सञ्चारमाध्यमलाई नियन्त्रणमा लिँदा प्रचण्ड–माधवले किन नबोलेको भनि उनले प्रश्नसमेत गरे । तर आज आफू असुरक्षित हुँदा सडकमा आएर मधेसी र आदिवासी जनजातिको साथ उनीहरुले खोजेको भन्दै ओली प्रवृत्तिलाई साथ दिनेमा प्रचण्ड–माधव समूह पनि दोषी रहेको बताए ।

वरिष्ठ पत्रकार सीताराम आग्रहरीले पनि जसपा नेपालका लागि प्रचण्ड–माधव तथा ओली पक्षमध्ये को कम्फर्टेबल भन्दा पनि लोकतन्त्र, संघीयता र गणतन्त्रको पक्षमा को छ, त्यसलाई साथ दिनुपर्ने बताए ।

‘म जसपालाई प्रचण्ड रोज्नुस् या ओली भनेर भन्दिन तर लोकतन्त्र, संघीयता र गणतन्त्रको पक्षमा को इमान्दारीपूर्वक लागेका छन् त्यसलाई साथ दिनुपर्छ मात्र भन्छु,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई धरापमा पारेको कुरा कसैका मानसपटलबाट गएको छैन, गैरसंवैधानिक रुपमा संसद विघटन गर्दा त्यसको विरुद्धमा जसपा, काँग्रेसलगायतका दलहरुले आन्दोलन गरेका थिए र आज कुन मुखले त्यसलाई साथ दिने ? सहजै बुझ्न सकिने कुरा हो ।’

जुन प्रतिनिधिसभालाई ओलीले आफै विघटन गरे, आज त्यही संसदबाट आफूलाई प्रधानमन्त्री कायम राख्न ओलीले दलहरूसँग बार्गेनिङ गरिरहेको उनको भनाइ छ । ‘ओली अब कुन नैतिकताले संसदका बैठकमा जान्छन् ?’ उनले भने, ‘ओलीले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हो तर उनको शब्दकोषमा नैतिकता भन्ने शब्द नै छैन ।’

अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर झाले जसपा नेपाल र मधेस फरक फरक कुरा रहेको बताए । जसपा नेपालले सत्ताका लागि आफ्नो लाभहानी हेरेर सरकारमा जानसक्छ तर मधेसको हकमा त्यस्तो नहुने र मधेसको कुनै पनि माग अहिले नभएको उनको धारणा छ । ‘जसपा नेपाल अब मधेसमा मात्र रहेन, हिमाल र पहाडको पनि कुरा गर्न थालेको छ,’ उनले भने, ‘त्यसैले आफ्नो लाभहानी हेरेर प्रचण्ड र ओलीमध्ये जसपाका लागि को कम्फर्टेबल हुन्छ, त्यसलाई रोज्नुपर्छ ।’

विगतमा ओली नेतृत्वको सरकारमा सामेल रहेका उपेन्द्र यादव पनि कुनै न कुनै रुपमा ओलीको पश्चगमनको मतियार रहेको उनको भनाइ छ । उनले भने, ‘ओलीलाई शक्तिशाली बनाउनेमा कतै न कतै मधेशी नेताहरुको हात छ, यद्यपि ओलीले संसद भङ्ग गरेर जुन प्रतिगामी कार्य गरे, त्यसका आधारमा संसदमा जसपाले ओलीलाई साथ दिने सम्भावना कम रहन्छ किनभने भङ्ग गरेकै कारण ओलीका विरुद्ध जसपा नेपालले आन्दोलन गरेको थियो ।’

एमालेमा लामो समयसम्म रहेर सो पार्टी छाडेका रामचन्द्र झा प्रधानमन्त्री ओली आजमात्र होइन, उनी मधेसप्रति कहिल्यै सकारात्मक नरहेको बताउँछन् । ‘उहाँ जहिले पनि मधेसको कुरा आउँदा मुख बिगार्नु हुन्थ्यो, नाक खुम्च्याउनु हुन्थ्यो, एमालेमा मधेसका मुद्दालाई मात्र होइन, मधेसी नेतालाई पनि उहाँले रुचाउनु हुन्नथ्यो ।’ झा अहिले नेकपाको प्रचण्ड–माधव समूहमा छन् ।

मधेस आन्दोलन हुँदा ओलीले मधेसी जनतामाथि अपमानजनक शब्दहरू प्रयोग गरेका थिए । मधेसमा भएको आन्दोलनलाई उनले मजाकमा उडाएका थिए । यहाँसम्म कि मधेसवादी दलले संविधान संशोधनका लागि पटक पटक प्रयास गर्दा पनि ओलीले नै संशोधन हुन दिएका थिएनन् । त्यसले गर्दा पनि जसपा नेपाललाई ओलीको साथ दिन त्यति कम्फर्टेबल नहुने विश्लेषकहरुको धारणा छ ।

त्यस विपरीत विगतमा मधेसको मामलामा ओलीको तुलनामा प्रचण्डमा अग्रगामी सोच देखिन्छ । मधेसको मुद्दाप्रति उनी जहिले पनि सकारात्मक थिए । मधेसको बारेमा कहिल्यै उनले अपशब्द प्रयोग गरेका छैनन् । मधेसवादी दलसँग गठबन्धन बनाएर पटक पटक आन्दोलन गर्नुको साथै सरकारमा पनि पटक पटक उनले मधेसवादीसँग सहकार्य गरेका छन् । दोस्रो संविधानसभामा प्रधानमन्त्री बन्दा उनले मधेसवादी दलको मागका आधारमा संविधान संशोधनको प्रस्ताव संसदमा लगेका थिए तर तत्कालीन एमालेलाई नेतृत्व गरेका ओलीले आफू कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने अडान लिएका थिए ।

यसका लागि ओलीसँग प्रचण्ड स्वमंले वार्ता गरेका थिए तर ओली टसमस भएका थिएनन् । प्रचण्डपछि काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । उनले पनि मधेसवादी दलको माग अनुसार संविधान संशोधन प्रस्ताव संसदमा टेबल गराएका थिए तर तत्कालीन एमालेले त्यसलाई फेल गराएको थियो । यी घटनाक्रम हेर्दा जसपा नेपालका लागि ओली समूह सत्ता साझेदारीका लागि कम्फर्टेबल नरहेको जानकारहरुको बुझाइ छ ।

त्यतिमात्र होइन, मधेसी नेताहरुलाई ओलीले पटक पटक अपमान गरेका छन् । संविधान निर्माणपछि प्रधानमन्त्री भएको बेला मधेसी नेताहरु बालुवाटारमा वार्ता गर्न जाँदा उनले समथर भूमि हेर्नै नहुने, त्यसो भए युपी, बिहारलाई पनि मधेसमा मिलाउँ न त भनि अपमानपूर्ण शब्द प्रयोग गरेपछि नेताहरु बाहिर निस्केका थिए । सोही अभिव्यक्तिपछि मधेसमा ओलीको पुतला दहन पनि भएको थियो ।

पछिल्लो समय उपेन्द्र यादवले कानुन मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्मा संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव लग्दा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई ‘गेटलस्ट’ भनेर अपमान गरेको कारण पनि जसपा नेपालका लागि ओली समूह कम्फर्टेबल नरहेको जसपा नेपालकै केही नेता बताउँछन् ।

‘ओलीले प्रधानमन्त्री पदमै बसेर पालैपालो उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलाई अपमान गरेका छन्, त्यो कुरा सायद हाम्रा नेताहरुले बिर्सेका छैनन् होला,’ जसपा नेपालका एकजना कार्यकारिणी सदस्यले भने, ‘त्यहाँ मधेसप्रति उनले गरेको टिप्पणी र मधेसी नेताको बारेमा प्रयोग गरेको शब्द अहिले पनि मेरोमा दिमागमा नाचिरहेको छ, यस अवस्थामा पनि जसपा नेपालले ओलीलाई साथ दिन्छजस्तो लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप