प्रधानमन्त्री ओलीको टिप्पणी : देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिस्टर कम्फर्टेबल र नेता माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’कोे उपमा दिएका छन् । त्यस्तै उनले प्रचण्ड र माधवलाई ‘झुसे बारुला’को संज्ञा समेत दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिए ।
आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको समेत बताए ।
‘शान्ति, एकता देख्न नसक्ने । बल्ल बल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो’, ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै भने, ‘लड्डु खाँदै गर्दा हेलो ...आँपको सहयोगको बहुतबहुत धन्यवाद ! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’
उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए ।
‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स’, उनले भने । ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गरे ।
‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो ? प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए’, प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यङ्ग्य गर्न समेत भ्याए ।
‘घर दक्षिणतिर छ, उनीहरु उत्तरतिर गए । सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन् । उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन् ।’ प्रचण्ड–नेपाल फागुन १२ गते काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न गएको प्रसंग कोट्याउँदै ओलीले कटाक्ष गरे ।
‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन् । त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो ? भनेपछि झसंग भएछन्’, ओलीले प्रतिनिधि सभा विघटन बदर भएपछि प्रचण्ड र माधव–नेपालले नेताहरुलाई जसपाका नेताहरुलाई भेटेको प्रसंगलाई पनि व्यङ्ग्य गर्न भ्याए ।
उनले मुद्दा लडेर आएकाहरुलाई आफूलाई हटाउन चुनौति समेत दिए । ‘केपी ओलीलाई हटाउनुस् । यदि हटाउनुभएछ भने पनि दुई तिहाई ल्याइन्छ । चिन्ता गर्नुपर्ने विषय होइन । लोकतन्त्रलाई तलमाथि हुन दिइँदैन । संविधान समयअनुसार परिमार्जन हुन्छ, तर मर्म र भावना तलमाथि गर्न दिइँदैन ।’
विप्लवसँग छिट्टै वार्ता गर्छौँ
ओलीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने पनि बताए । ‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँ’, ओलीले भने ।
उनले थपे, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ सो क्रममा प्रधानमन्त्री ओलीले ५ वर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।
६३ अर्व लगानीमा औद्योगिक पार्क
६३ अर्ब लागतमा बन्नेगरी ओलीबाट शिलान्यास भएको औद्योगिक पार्क निर्माणका लागि पहिलो चरणमा २ अर्ब बजेट रहेको सरकारले जनाएको छ । त्यस्तै दुई बर्षभित्र पार्क निर्माणले उल्लेख्य गति लिने र ४५ हजारले रोजगारी पाउने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
उनले ५ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने र १० वर्षमा दशौँ लाखले रोजगारी पाउने बताए । यो पार्कको खास विशेषता रहेको भन्दै उनले २१ बिघा जमिनमा आधुनिक उद्योगहरु खोलेर विकासको गति कसरी अघि बढेको छ भन्ने प्रस्ट भएको बताए । आफूले आइतबार मात्रै ५ पुल उद्घाटन र ३१ वटा पुलको शिलान्यास गरेको भन्दै अब विकासको लहर आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त