रघुजी पन्तको ‘पिडौँला’ देखाएर केन्द्रीय सदस्य बनेको अभिव्यक्तिपछि कानुनी उपचार खोज्ने तयारीमा कोमल वली

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड–नेपाल पक्ष केन्द्रीय सदस्य रघुजी पन्तविरुद्ध कानुनी उपचार खोज्ने बताएकी छिन् । ओली पक्ष नेकपाको केन्द्रीय सदस्य समेत रहेकी वलीले पर्सी दाङबाट काठमाडौं आउने र यसबारेको प्रक्रिया अघि बढाउने बताएकी हुन् ।
नेता पन्तले ‘केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले सम्पूर्ण महिलामाथि नै अपमान गरेको भन्दै वलीले प्रहरीमा उजुरी दिने बताएकी हुन् ।
हाल दाङमा पार्टीको काममा व्यस्त रहेका कारण काठमाडौं आउन ढिला भएको र पन्तविरुद्ध कस्तो कानुनी कारवाही हुन्छ भन्नेबारेमा बुझिरहेको उनले बताइन् । रातोपाटीसँग कुरा गर्दै वलीले पन्तको अभिव्यक्तिले समग्र महिलामाथि नै अपमान गरेको उल्लेख गर्र्दै त्यसले आफूलाई पीडा दिएको बताइन् ।
उनले भनिन्, ‘उहाँले जसरी मेरो नाम लिएर महिलालाई शोषण गर्ने जुन कुरा बोल्नुभयो, त्यो ज्यादै आपत्तिजनक छ, त्यसबारे उहाँलाई कानुनी कारवाही गराउनेबारे मैले सोचिरहेको छु । म अहिले दाङमा छु पर्सी काठमाडौं आउँछु र त्यसपछि कसरी उहाँलाई कारवाही गर्न सकिन्छ त्यसबारे कानुनी प्रक्रिया अघि बढाउँछु ।’
वलीले आफू कार्यक्रममा व्यस्त रहेकाले कस्तो कानुनी प्रक्रियाबाट जान सकिन्छ त्यसबारेमा बुझ्न नपाएको उल्लेख गरिन् । उनले नेता पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्ति ज्यादै आपत्तिजनक रहेको, आफ्नो मान प्रतिष्ठामाथि ठेस पुगेको उल्लेख गरिन् ।
यता नेता पन्तले भने आफूले कोमल वलीलाई व्यक्तिगत रुपमा सो कुरा अभिव्यक्त नगरेको बताउँदै त्यसलाई राजनीतिक अभिव्यक्तिका रुपमा लिन आग्रह गरेका छन् । साथै आफ्नो सो भनाइबाट कोमल वलीको चित्त नबुझेको भएमा आफूले दुःख व्यक्त गर्न चाहेको उल्लेख गरे । रातोपाटीसँग कुरा गर्दै नेता पन्तले भने, ‘मैले व्यक्तिगत रुपमा कसैलाई आक्षेप गरेको हैन, त्यो एउटा राजनीतिक सन्र्दभमा भनेको हो, उहाँलाई चित्त दुखेको छ भने म दुःख व्यक्त गर्न चाहन्छु । मेरो भाषणको थोरै अंश सुन्दा मात्र उहाँलाई त्यस्तो पर्न गएको होला, पूरै भाषण सुन्ने हो भने मैले के भनेको हो त्यो प्रष्ट भइहाल्छ ।’
उनले सो अभिव्यक्तिलाई अन्यथा पनि ठान्न नहुने बताउँदै आफ्नो आशय त्यस्तो नरहेको उल्लेख गरे । उनले भने, ‘उहाँलाई त्यस्तो लागेको छ भने यो विषयमा म दुःख व्यक्त गर्न चाहन्छु ।’
पन्तको सो अभिव्यक्ति आएपछि वलीले ट्वीट गर्दै पन्तलाई निच व्यक्तिको संज्ञा दिएकी थिइन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनु हुँदोरहेछ भन्ने बल्ल खुलेको छ । पन्तजीलाई मेरो प्रश्न, तपाईंको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिडौँला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ।’
वलीलाई लक्षित गरेर के भनेका थिए पन्तले ?
केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्ड नेपाल–पक्षका नेता पन्तले प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने क्रममा मन्तव्य दिँदा कोमल वलीको प्रसंग ल्याएका थिए । उनले पार्टीमा लामो समयदेखि काम गर्ने महिला नेतृत्व तहमा जान नसकेको तर कोमल वलीले कम्युनिष्ट विचार दर्शन बिना सिधै केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस पद पाएको भन्दै टिप्पणी गरेका थिए ।
नेता पन्तले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकटपनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडाको पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्यपनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्यपनि हुन पाइन् । हामी कम्युनिष्टहरुको गीत उठ जाग संसारका भोका नांगाहरु, केपी ओलीको गीत पोइल जान पाम । भिन्नता भनेको यो हो । संस्कृतिको भिन्नता यो हो । पार्टीको केन्द्रीय कमिटी सदस्य भनेको चानचुने कुरा हो ? सैद्धान्तिक रुपले, वैचारिक रुपले दार्शनिक रुपले प्रष्ट भएको मान्छेले पो केन्द्रीय कमिटीमा आउने । जसले विचारले नेतृत्व गर्नसक्छ, नीति निर्माणमा सहयोग गर्न सक्छ । ओलीको केन्द्रीय कमिटी भनेको त ठट्टा जस्तो भयो ।’
पन्तको यो भनाइपछि अहिले केही महिला अधिकारकर्मी तथा वली पक्ष नेकपाका महिला नेतृहरुले उनको विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात