शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञानले पत्ता लगायो मरेपछि पनि जीवित राख्ने उपाय

शनिबार, १५ फागुन २०७७, १० : १७
शनिबार, १५ फागुन २०७७

श्री कृष्णको विद्यार्थी जीवनको एउटा घटना अहिलेको 'मोर्डर्न साइन्स'ले पत्याउने वातावरण बनेको छ। उज्जैनस्थित गुरु सन्दीपनीको 'आश्रम कम गुरुकुल'मा सम्पूर्ण ६४ कला/ विद्याआर्जन गरे उपरान्त  कृष्णले विदा लिनुपूर्व गुरुसँग सोधे, म गुरु दक्षिणामा के दिउ ?

'आफ्नो जीवनमा पाएको विद्याको समुचित प्रयोग गर, यही नै गुरु दक्षिणा हुनेछ।' कृष्णले गुरुमा सुमुखी देवीसँग गुरु दक्षिणामा केही माग्ने विन्ती गरे। गुरु दम्पतीको एउटा पुत्र थियो। प्रभास क्षेत्रमा  (समुद्र किनार ) जाँदा उ हराएको थियो।  पुत्र वियोगमा कल्पी रहेकी सुमुखी  देवीले कृष्णसँग आफ्नो पुत्र खोजेर ल्याई दिने गुरु दक्षिणा मागिन्। कृष्णले गुरु पुत्रको खोजी गर्ने क्रममा थाहा पाए, त्यस बालकलाई त एउटा शंखभित्र (पांचजन्य नामक शंख ) बस्ने दानव शंखासुरले आहारा बनाइसकेको छ।

कृष्णले त्यस दानवको शरीरमा गुरु पुत्रका केही हाडखोड बाँकी छन कि भन्ने  हेतुले शंखासुरलाई मारी उसको पेटमा खोज्दा गुरु पुत्रका कुनै अवशेष भेटिएन । कृष्ण त्यस शंखलाई आफूसँग लिइ गुरु पुत्रको खोजी गर्ने क्रममा यमलोक पुगे। उनले यमराजबाट गुरु पुत्रको शरीरको 'ब्लूप्रिन्ट' लिएर नयाँ शरीर बनाई गुरु आमालाई गुरु दक्षिणा स्वरुप पुत्र फर्काइ दिए।

कथा रोचक छ। यसले एउटा कुरा के इंगित गर्छ भने प्रत्येक प्राणीको शरीरको  'ब्लूप्रिन्ट' बेग्लाबेग्लै हुन्छ। तर प्राणी शरीरभित्र रहने आत्मा अर्थात 'लाइफ फोर्स' सबै प्राणीमा एउटै हुन्छ। कमिलादेखि हात्ती हुँदै मानिससम्म सम्पूर्ण चराचर जगतका प्राणी वर्गको शरीर संचालित हुने 'फोर्स' एउटै हुन्छ अर्थात आत्मा एउटै हुन्छ। यो विशुद्ध एनर्जीको स्वरुप हुन्छ।

हुन त सामान्य मानिससँग  यो कुरा बुझ्ने सामर्थ्य हुन्न।  सामान्य मानिसको के कुरा ६४ कलाका ज्ञाता, कृष्णलाई सबै कला र विद्यामा पारङ्गत गर्ने गुरु सन्दीपनीसँग नै यो क्षमता थिएन। 'जगतम्याट्रिक्स'को त्रिगुणमयी मायाले गर्दा उनले कृष्णलाई मेधावी विद्यार्थी मात्रै सम्झी रहे। गर्ग मुनिको कृपाले शिक्षण कार्यको अवधिमै उनले श्रीकृष्णको मूल आत्म स्वरूपको (भगवान् श्रीचतुर्भुज नारायण ) दर्शन पाए पनि कृष्णको  त्रिगुणमयी मायाले उनको स्मृतिमा यो रही रहन दिएन।  

देवकी -वासुदेव पुत्र, नन्द -यशोदानन्दनलाई कृष्णको नामले विभूषित गर्ने श्रेय यिनै गर्ग मुनिलाई थियो। ज्योतिष शास्त्रको जनक पनि गर्ग मुनि नै हुन। गर्ग मुनिलिखित गर्ग संहिता ज्योतिष शास्त्रको अमूल्य ग्रन्थ रहिआएको छ।  'जगतम्याट्रिक्स'को एउटा मूल शक्ति  छ जसले सधै 'प्राणीको मन स्मृतिलाई  अज्ञान  र दुविधाले आच्छादित गर्ने, भ्रमित बनाई राख्ने, वस्तु र वस्तुस्थितिको सम्यक ज्ञान हुन नदिने' काम गर्छ।  यस त्रिगुणमयी  शक्ति अथवा  मायाको प्रभाव नपर्ने केही सीमित ऋषिमुनिमा गर्ग मुनिको नाम अग्रपंक्तिमा आउँछ। यिनको नेत्र सम्मुख आएको  वस्तु, वस्तुस्थिति र प्राणीको मूल स्वभाव, चरित्र र उसको संरचनारूपी 'म्याट्रिक्स'को 'ब्लूप्रिन्ट' नै 'पिकोसेकेण्ड'मै  'डिकोड' गर्ने क्षमतासम्पन्न थिए।

आज यो सब सम्झना आउनुको पछाडि  आधुनिक विज्ञानले भर्खरै उपलब्ध गरेको एउटा महान 'अचिभमेन्ट' कारण बनेको छ। विज्ञान ले त्यो 'ब्लूप्रिन्ट डिकोड' गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कृष्णले यमसँग 'ब्लूप्रिन्ट' लिइ बनाएको छोरा पुनर्दत्तका नामले चिनिएको थियो।  विज्ञानले एउटा नयाँ पुनर्दत्त जन्माएको थाहा पाउदा मलाई कृष्ण - सन्दीपनी गुरु - पांचजन्य शंख  - गर्गमुनि- त्रिगुणमयी माया र 'जगतम्याट्रिक्स'को आधार र यसको 'ब्लूप्रिन्ट' बारे हठात स्मरण आउनु अस्वभाविक होइन।

 सन्दीपनीको मृतक पुत्र झै ३० वर्ष पहिला मरिसकेको एउटा प्राणीको कोशिकाबाट विज्ञानले त्यस प्राणीको नयाँ अवतार बनाउने सफलता हात पारेको छ। कुरा अमेरिकाको हो।  सन २०२०  दिसम्बर १० मा एउटा 'ब्लाक फुटेड फेरेट'  ( black-footed ferret  -   खरायो सँग मिल्दो जुल्दो प्रजातिको प्राणी ) जन्माइयो अमेरिकामा। जन्माइयो भन्ने शब्द माथी ध्यान दिनु आवश्यक हुन्छ।  यस प्राणीको जन्म प्रवृतिगत व्यवस्था अन्तर्गत भएको थिएन।

वास्तवमा १० दिसम्बर सन २०२० मा जन्मिएको यो फेरेट ३० वर्ष पहिला मरिसकेको  फेरेटको कोशिकाबाट जन्माइएको   थियो। यसलाई वास्तवमा यसको पुर्वमादा फेरेट अर्थात आमाको कोशिकाबाट 'क्लोनिङ' गरी बनाइएको थियो।  'क्लोनिङ'बाट बनाइएका / जन्माइएका नयाँ  शिशुलाई पुरानो  प्राणीको नयाँ अवतार भन्ने कि नयाँ प्राणीको उत्पति ! यसबारे विज्ञानसँग केही स्पष्ट मान्यता तयार भइसकेका छैनन। विज्ञानसँग अझै पनि कृष्ण जस्तो प्राणी उत्पत्तिसम्बन्धी  'म्याट्रिक्स'को 'ओरिजिनल ब्लूप्रिन्ट' छैन। कृष्णबाट  'ब्लूप्रिन्ट'बाट तयार भएको गुरुको छोरा (पुनर्दत्त ) लाई मृतक  छोराकै सक्कली प्रतिमूर्ति मानियो र उनले गुरु आमालाई गुरु दक्षिणा स्वरुप त्यो उपहार दिए। कृष्णलाई 'जगतम्याट्रिक्स'को विधान, सबै प्राणी शरीरको कीमिया ज्ञान  पनि थियो। सबै शरीर प्रोटिनकै विकसित स्वरुप हुन कृष्णलाई यो स्पष्ट संज्ञान थियो र सबै प्रोटिन अनन्त इनर्जी कै प्रतिफलन हुन भन्ने थाहा भएर नै त उनी उद्घोष गर्छन - अर्जुन समस्त प्राणीको शरीरधारी र त्यस शरीरलाई संचालित गर्ने 'लाइफ फोर्स'  म नै हुँ। 'एकमेवो ब्रह्म द्वितीयोनास्ति' विज्ञान जगतका गर्ग - वशिष्ठ -भारद्वाज -अंगिरस -कृष्ण सदृश्यका मेघाले पनि अभिव्यक्ति दिएकै छन - Energy is the main creater of this whole universe . We all are made from star dust . And  what is star dust ? That is simply pure Energy .  



'क्लोनिङ'बाट जन्माइएको यस फेरेटको नाम  एलिजाबेथ एन राखिएको छ।  ३० वर्ष पहिला मरिसकेको फेरेटको कोशिकाबाट एलिजाबेथ एन नामक फेरेटको जन्म गराउन  एउटा अन्य मादा फेरेटलाई 'सरोगेट मदर'का रूपमा प्रयोग गरिएको थियो।  ३० वर्ष पहिला मरेको फेरेट 'विला' का शारीरिक अवशेष १९८८ मा सुरक्षित राखिएको थियो। यो 'डीएनए' प्रविधिको प्रारम्भिक काल थियो। वैज्ञानिकहरुले अहिले आएर विलाको शारीरिक अवशेषबाट भ्रूण तयार पारी 'सरोगेट मदर'मा प्रत्यारोपित गरेका थिए।

एलिजाबेथ एन नामक 'क्लोन'बाट तयार पारिएको फेरेट नयाँ प्राणी हो कि  ३० वर्ष पहिला मरिसकेको विला नामक फेरेटको नयाँ मोडेल हो ? तपाईंलाई के लाग्छ ?? विज्ञानसँग त यस जिज्ञासाको निवारण छन्।  हो यति मात्र हो विज्ञानसँग अब यस्तो प्रविधि भने अवश्य छ जसले तपाईं  लाई कुनै न कुनै रूपमा यो पृथ्वी रहेसम्म जीवित राख्न सक्छ। आउने केही वर्षमा विज्ञानले तपाईंको सारा बुद्धि स्मृति ज्ञान अनुभव र प्रज्ञालाई एउटा 'चिप'मा 'ट्रान्सफर' गर्ने तकनीक विकसित गर्छ र ती 'चिप' लाई पनि 'प्रिजर्भ' गरेर तपाईंको संरक्षित राखिएको 'डीएनए'बाट दुरुस्त तपाईं को सक्कल तयार पारी तपाईंले चाहेको समयमा (वसियतमा लेखे बमोजिम ) तपाईंलाई पुनः पृथ्वीमा ल्याई दिन्छ। यसरी तपाईं नयाँ अवतारमा आउँदा  तपाईंसँग ''तपाईंको सारा 'जेनेटिक म्याटेरियल' मात्रै ठ्याक्क मिल्ने हुन्न तर  तपाईंको सारा 'साइकिक पावर' (मानसिक क्षमता)  पनि दुरुस्त नै'' हुनेछ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप