शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रली चढेर रुसी कुटनीतिज्ञहरुको समूहले उत्तरकोरिया छोड्यो

शनिबार, १५ फागुन २०७७, ०० : ११
शनिबार, १५ फागुन २०७७

एजेन्सी । रुसी कूटनीतिज्ञहरुको एक समूहले आफ्नो परिवारसहित उत्तर कोरिया छोडेको छ । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको हो । उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनीहरुले उक्त ट्रलीलाई एक किलोमिटरसम्म (रुसी सीमानासम्म) रेलको ट्रयाकमा धकेलेका थिए । आठ जनाको उक्त समूहले यसअघि रुसको सीमाना नजिक पुग्न रेल र बसबाट यात्रा गरेका थिए । उत्तर कोरियाले कोरोना संक्रमणलाई रोक्न यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

सम्भावित संक्रमणलाई रोक्न अतिरिक्त सुरक्षा बललाई सीमनामा तैनाथ गरिएको छ । रुसी विदेश मन्त्रालयले फेसबुकमा पोष्ट गर्दै विगत एक वर्षदेखि सीमामा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएकाले यात्रा कठिन भएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छः ‘आवागमनमा प्रतिबन्ध लगाइएकोले यात्रा लामो र गाह्रो भएको छ ।’ विदेश मन्त्रालयले ट्रलीसहितको फोटो शेयर गरेको छ ।

मन्त्रालयले दूतावासका सेक्रेटरी भ्लादिस्लाव सारोकिनलाई पुलमा ट्रली तानिरहेको देख्न सकिने जनाएको छ । यो पुल तामेल नदीमा पर्दछ । सो समूहमा तीन वर्षीया बालिका पनि छिन् । रुसी सीमानासम्म आइपुग्न उक्त समूहलाई उत्तरकोरियाको राजधानी प्योङयाङबाट रेलयात्रामा ३२ घण्टा र बसमा २ घण्टा यात्रा गर्नुपरेको थियो ।

गत वर्ष धेरै देशहरुले उत्तर कोरियामा रहेका आफ्ना दूतावासहरु बन्द गरेका छन् भने धेरै विदेशी कुटनीतिज्ञहरु त्यहाँबाट बाहिरिएका छन् । गत वर्ष मार्चमा जर्मनी, रसिया, फ्रान्स, स्वीजरल्यान्ड, पोल्याण्ड, रोमानिया, मंगोलिया र इजिप्टका कूटनीतज्ञहरुले उत्तरकोरिया छाडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप