शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतीक्षा सर्वोच्चको अर्को फैसलाको  : ओली र प्रचण्ड–माधवसँग ‘नेकपा’ नै नरहने खतरा !

ऋषि कट्टेलको नाममा ‘नेकपा’ सदर भए के हुन्छ ?
शुक्रबार, १४ फागुन २०७७, १५ : ५९
शुक्रबार, १४ फागुन २०७७

सर्वोच्च अदालतले यही फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दैछ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउने क्रममा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसअघि उनले निर्वाचन आयोगमा आफ्नो पार्टीसँग नाम जुध्ने गरी अर्को दल दर्ता गरेको भनेर उजुरी गरेका थिए तर आयोगले कार्तिक ९ गते खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

अदालतमा विचाराधीन सो मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुन लागेको हो । रिट दायर गरेको झन्डै साढे २ वर्षपछि सर्वोच्चले फैसला गर्न लागेको यो मुद्दाको खास अर्थ रहेको छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर रहेर नेकपाको आधिकारिकता आफ्नो पक्षमा दावी गरिरहेका छन् । यसबारेको विवाद निर्वाचन आयोगले टुङ्ग्याउन सकेको छैन । यदी २० गतेको फैसला ऋषि कट्टेलको पक्षमा भयो भने ओली तथा प्रचण्ड नेपाल पक्षले छुट्टै दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । उनीहरुको स्वामित्वमा नेकपा नै नरहेपछि उनीहरु कि नयाँ दल दर्ता गर्ने वा पुरानै दलमा फर्कनुपर्ने हुन्छ ।

हाम्रो पक्षमा फैसला आउनेमा ढुक्क छु : कट्टेल                        

नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेल आफ्नो पक्षमा फैसला आउनेमा विश्वस्त रहेको बताउँछन् । उनका तर्फबाट बहस गरेका २ जना अधिवक्ताहरूले मुद्दा जितिने स्पष्ट आधार रहेको बताएको उनले रातोपाटीलाई सुनाए । उनले भने–‘हाम्रो पक्षमा फैसला आउछ, उनीहरुले जित्ने त कुनै आधार नै देखिँदैन । एक दिन अदालतमा बसेर बहस पनि सुनेँ, न्यायाधीशहरूले भनेको कुरा पनि सुनेँ । विपक्षी साथीहरु पनि यो राजनीति भनेको यस्तै हो दाइ नाम जुधाएर नराखौँ भनेको मानेनन्, अहिले अदालत आउनुप¥यो भन्थे । उनीहरुले बिना आधारमा नाम जुधाएर राखेका हुन्, जित्ने कुनै सम्भावना नै छैन ।’

पार्टीको नाम राख्दा जुधाएर राख्न पाइँदैन भन्ने कानुनमै प्रष्ट व्यवस्था रहेको बताउँदै कट्टेलले अब अदालतले कस्तो फैसला गर्छ हेर्न बाँकी रहेको बताए । उनले भने, ‘अदालतले फैसला गर्न किन यति ढिला गरेको भन्ने कुरामा म दङ्ग परेको छु । मैले अर्को पक्षलाई पनि भनिदिएको छु, यो फैसलापछि तिमीहरुलाई सहज हुन्छ, जुँगाको लडाई गर्न पनि परेन । तिमीहरुले नमिल्ने काम ग¥यौ अब अदालतको फैसलापछि आ–आफ्नो बाटो लाग भनिदिएको छु ।’

के ऋषि कट्टेलको पक्षमा फैसला भए एमाले र माओवादी केन्द्र ब्यूँतिन्छ ?

यतिबेला दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे विवाद चलिरहेको छ । यदी अदालतले कट्टेलको नेकपाको पक्षमा फैसला गरेमा दुई पार्टीलाई अलग हुन सजिलो हुनेछ । उनीहरु आफ्नो पहिलेकै दलमा फर्कन बाटो खुल्ने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी बताउँछन् । उनले भने–‘अदालतले कस्तो फैसला गर्छ भनेर अहिले नै अनुमान गर्न त मिल्दैन । यदि ऋषि कट्टेलको पक्षमा फैसला आयो भने अहिले सत्ताधारी दल नेकपामा आएको विवाद हल गर्न सहज हुनेछ । उनीहरु आफ्नो पहिलेकै दल एमाले र माओवादी केन्द्रमा फर्कनेछ ।’

तर अदालतको फैसला कट्टेलको पक्षमा गएपनि नेकपाको पछाडि अर्को कुनै संकेत राखेर जाने, पुरानो पार्टीमै फर्केर जाने अवस्था नआउने नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङ बताउँछन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले माओवादी केन्द्र वा एमालेतिर जाने कुरा अदालतको फैसला, ब्याख्या कस्तो आउँछ त्यसमा भर पर्ने बताउँदै यदी कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला भए नेकपा नामको पछाडि सङ्केत राखेर जान सकिने बताए । 

उनले भने, ‘त्यस्तो फैसला नहोला जस्तो लाग्छ, धेरैले नेकपा नाम राखेर पछाडि पुच्छर जोडेका छन् । छ–सात वटा कम्युनिष्ट पार्टीले कोष्ठकमा सङ्केत राखेर आफ्नो परिचय गराइरहेका छन् । हाम्रो पार्टीले पनि अरुभन्दा फरक हुन कोष्ठकमा छोटकरीमा नेकपा राखेको छ । यही नामबाट निर्वाचन आयोगमा दर्ता पनि भएको छ । देशको एउटा संवैधानिक निकायले स्वीकार गरिसकेको कुरालाई न्यायालयले दायाँबायाँ गर्ला जस्तो लाग्दैन । निर्वाचन आयोगले दर्ता गरेको नाममा दायाँबायाँ होला जस्तो लाग्दैन । कथंकदाचित् त्यो नाम जुध्यो भनेछ भनेपनि नेकपा नामको पछाडि कुनै संकेत झुन्ड्याइदिने कुरा हुन्छ ।’

निर्वाचन आयोगको टाउको दुखाइ हट्छ !

निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल पक्ष नेकपा कि ओली पक्ष नेकपा कसलाई आधिकारिकता दिने भन्नेबारेमा टाउको दुखाइ बनेको छ । आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दावीसहित प्रचण्ड पक्ष आयोग पुगे पनि आयोगले फैसला गर्न सकेको छैन । प्रचण्ड पक्षले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार आफ्नो पक्ष वैधानिक रहेको र निर्वाचन चिन्ह आफूले पाउनुपर्ने दावी गरिरहेको छ । उता अल्पमतमा रहको ओली समूहले पार्टीमा विवाद उत्पन्न भइसकेपछि ११ सय ९९ केन्द्रीय समिति घोषणा गरेको छ भने आफ्नो पार्टीमा अध्यक्ष, महासचिव पदाधिकारी रहेको, महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुने लगायतका तर्क पेश गरिरहेको छ । अर्को कुरा निर्वाचन आयोगमा गत असारमा नै उदाउँदै गरेको सूर्य चिन्ह राखेर नेकपा एमाले पार्टी दर्ता भइसकेको छ । जुन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा उनी पक्षीय कार्यकर्ताहरूले दर्ता गरेको प्रचण्ड–नेपाल पक्षको दावी रहेको छ । कुन दललाई नेकपाको आधिकारिकता दिने भन्ने अन्योलमा रहेको आयोगसमेत यतिबेला सत्ताधारी नेकपा र कट्टेल नेतृत्वको नेकपा विवादको फैसलाको प्रतिक्षामा छ । यदी कट्टेलको पक्षमा फैसला भएमा आयोगको टाउको दुखाई समेत निवारण हुने देखिन्छ । यो मुद्दामा सर्वोच्चको फैसला कस्तो आउँला त्यो प्रतिक्षाको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप