शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डद्वारा जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

मङ्गलबार, ११ फागुन २०७७, १५ : १६
मङ्गलबार, ११ फागुन २०७७

नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन् । पुस्तकमा ११२ वटा चिठीपत्रहरु छन् ।

यसरी पत्र लेख्नेहरू केही सहिद भइसकेका छन् भने केही वेपत्ता छन् । पुस्तकमा समावेश चिठीले त्यतिबेलाको जनयुद्धको वास्तविक धरातल बुझ्न सहयोग पुर्‍याउने विमोचन कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । 

पुस्तक विमोचनपछि बोल्दै अध्यक्ष प्रचण्डले दस्तावेजको रुपमा जनयुद्धको हस्ताक्षर रहेको बताए । औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूति हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति आउने र त्यहाँ भएका कुराहरुलाई भित्रदेखि अनुभव गर्न सकिने बताए ।

उनले भने, ‘पुस्तकमा समवेदना, आवेग र पीडाहरुलाई व्यक्त गरेको छ । यसमा जनयुद्धका सम्झनाहरू ताजा बनेर आएका छन् । यो एउटा पुस्तक मात्र नभएर इतिहासको जिवित दस्तावेज हो ।’ 

उनले पुस्तक पढ्दा युद्धका अविष्मरणीय दिनहरू सम्झना हुने र त्यतिबेलाको संवेग, भावना, विचार र तीव्रतालाई बुझ्न सकिने बताउँदै भने, ‘यो पुस्तकले नयाँ पुस्तालाई हिजोको परिस्थिति बुझ्ने मौका पनि दिनेछ ।’प्रचण्डले यसअघि पढेका जनयुद्धका पुस्तकभन्दा यो पुस्तक मौलिक रहेको बताए । 

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धको भूमिगत राजनीतिमा होमिएका थिए । २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए । पछि उनी विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष भएका व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप