मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना

सोमबार, १० फागुन २०७७, २३ : १६
सोमबार, १० फागुन २०७७

सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि वादी समुदाय धर्ना बसेका छन्  । सोमबार बेलुकी ७ बजेतिर वीरेन्द्रनगर पुगेका उनीहरु अहिले मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसेका हुन् ।

करिब २ सयको हाराहारीमा रहेका उनीहरु दैलेखबाट पैदल यात्रा गरेर सुर्खेत आइपुगेका हुन्  । आइतबार बिहान ७ बजे हिँडेर सोमबार बेलुकी ७ बजे मात्र वीरेन्द्रनगर पुगेको दुल्लु नगरपालिका–१ का हिक्मत वादीले जानकारी दिए । उनले भने, ‘हाम्रो बस्ने जमिन छैन् । भारी बोक्दै, माछा मार्दै  जीविका चलाएका थियौँ । बालुवा निकाल्न बन्देज लगाइयो, जीविका चलाउन गाह्रो भयो । कोरोनाले शिथिल पारेर आखिर शरीर नै  बेच्नुपर्ने अवस्था आएपछि हामी यहाँ (प्रदेश सरकारको शरणमा) आइपुगेका हौँ ।’ 

उनीहरुले प्रदेश सरकारसँग खेतीपाती गर्ने जमिन र सुरक्षित आवासको माग गरेका छन्  । उनीहरुको साथमा साना बालबालिकासँगै बृद्धबृद्धाहरु समेत रहेका छन्  । साँझको  समयमा  मुख्यमन्त्री कार्यालय अगाडि बसेका उनीहरुलाई तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आजको खानपिनको व्यवस्थापन गरेका छन् । 

प्रदेश सरकारका प्रतिनिधि आएर कभर्ड हलमा बस्न बन्दोबस्त गर्न खोजे पनि उनीहरु जान मानिरहेका छैनन् । ‘हामीले आजसम्म चिसोमै दिनहरू बितायौँ’ एक रातको लागि हामी जाँदैनौं’ हिम्मत वादीले भने, ‘जबसम्म हाम्रो माग पुरा हुँदैन हामी मुख्यमन्त्रीकै कार्यालय अगाडी धर्ना बस्छौँ ।’ दैलेखमा वादी समुदायका ४०२ परिवार र १ सय १२ घरधुरी संख्या रहेको छ । उनीहरुको गुनासोबारे बुझ्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पटक–पटक  फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप