बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्थतन्त्रको सूचकाङ्कलाई १० प्रतिशतभन्दा माथि लैजान ‘भिजन पेपर’ : अध्यक्ष गोल्छा

सोमबार, १० फागुन २०७७, २० : ५१
सोमबार, १० फागुन २०७७

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रको सूचकाङ्क (जिडिपी)लाई १० प्रतिशतभन्दा माथि पु¥याउन र रोजगारी अभिवृद्धि गर्न विकसित मुलुकको अनुभवहरूलाई समेत समेटेर ‘भिजन पेपर’ तयार गरिएको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताका लागि सिएनआई लगायतका अरु संस्थाहरुसँग समेत छलफल भइरहेको जानकारी दिए ।

आफ्नो नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको उनको भनाइ थियो ।

उनले निजी क्षेत्रका व्यावसायिक संस्थाहरु बीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला तथा नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

महासंघले विज्ञसहितको राहत सेल बनाउन लागेको जानकारी गराउँदै उनले विशेषगरी बैंकिङ, राजश्व, श्रमको समस्यामा परेका व्यवसायीहरुलाई त्यसले राहतको काम गर्ने उल्लेख गरे । यसैगरी मेलमिलाप केन्द्र बनाउन लागिएको र सो केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानका लागि मेलमिलापको काम गर्ने उनले बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपुर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रशस्त रहेको औंल्याए ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउँदै उद्योग व्यवसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सँगै बसेर छलफलका लागि समेत आफू तयार रहेको बताए ।

उपाध्यक्ष गौतमले उद्योगी व्यवसायीका समस्या समाधानका लागि व्यवसायी र संघीय सरकारको बीचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानका लागि व्यावसायिक संस्थाहरुले समेत पहलकदमी गर्नुपर्नेमा जोड दिए ।

मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम यसै हप्ता सुरु हुने जानकारी गराउँदै उनले बुटवल–पाल्पा सडकखण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले ‘प्लानिङ’ गरेको र त्यसलाई संघीय सरकारबाट समेत पहल भइरहेको बताए ।

विभिन्न व्यक्तिहरु सम्मानित

बुटवल उद्योग वाणिज्य संघले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संघको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै संघका पुर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ ।

६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवीलाई कदर पत्र प्रदान गरिएको हो ।

संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक विकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्न स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो ।

उनलाई  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदरपत्र सहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई पनि सम्मान गरेको छ ।

यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यवसायीलाई समेत सम्मान गरेको छ । संघले उद्योगतर्फ बुटवल उपमहानगरपालिका–५ ट्राफिक चोकको ब्लाक फरेष्ट, बाणिज्यतर्फ बुटवल–११ कालिकानगरको जयकृष्ण ट्रेडिङ, बुटवल–५ अमरपथको एच आई ट्रेनिङ सेन्टर, सेवातर्फ बुटवल–९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्रिकल्चर र महिलातर्फ बुटवल–९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप