बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमा आत्मनिर्भर बनाउन खाद्य बैंक स्थापना, आईपीओ समेत जारी गरिने

सोमबार, १० फागुन २०७७, १५ : ०१
सोमबार, १० फागुन २०७७

देशलाई कृषिमा आत्मनिर्भर बनाउन खाद्य बैंक स्थापना भएको छ । सो बैंकले देशका विभिन्न जिल्लामा जग्गा लिजमा लिने प्रक्रिया पनि अन्तिम चरण पुर्याएको छ । “पोसिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारा साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाएको हो । 

 बैंक आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दही दुध, माछा मासु, चिया, जडिबुटी लगायतको उत्पादनको कार्य गर्दछ । साथै यो बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ । 
बैंकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लमजुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ ।
 बैंकले बर्दिया जिल्लाको गुलारिया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० बिघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५ हजार बिघा किसानका जमिनहरूमा सहकार्य गर्दै उत्पादन कार्य अघि बढाउने भएको छ । त्यसैगरी झापा, मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको छ । तर औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ ।

बैंकले सरकारी खाली जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठीका जग्गा, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ ।
 खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्यमा यो बैंकले सहकार्य गर्दछ ।

आईपीओ समेत जारी गरिने 
हालसम्म ४ सय ९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैंकले त्यसलाई अझै विस्तार गर्दै केही वर्ष भित्रै साधारण शेयर (आईपीओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । यही २०७७ चैत्र १५ गते भित्र बैकले नयाँ बानेश्वरमा तयार भइरहेको केन्द्रीय कार्यालयको उद्घाटन गर्दैछ भने २०७८ वैशाखभित्र सबै प्रदेश कार्यलयको उद्घाटन गर्ने गरी तयारी गरिरहेको छ । 

बैंकमा १ सय ५० भन्दा बढी विज्ञ व्यक्ति रहेका छन् । धान विज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पति विज्ञ प्राडा चन्द्र प्रकाश पोखरेल, गहुँ विशेषज्ञ डा मदन भट्ट, पशुपक्षी विज्ञ डा. बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका विज्ञहरुको सहभागीता रहेको यस बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतिसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका छन् । साथै २०० जना कृषि प्राविधिकहरू पनि यो बैंकमा संग्लन छन् ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अगाडि आएको यो बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंकमार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत बिक्री वितरण गर्ने उदेश्य समेत बनाएको छ । त्यसैगरी यो बैकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना मार्फत आफ्ना गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।

देशको ७७ वटै जिल्ला र प्रदेशहरूमा उपस्थिति जनाउँदै कृषि उत्पादन र बजारिकरणमा  संस्था समर्पित हुने बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । 
 
                                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप