शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो हजार वर्ष बराबर एक वर्ष हुने यो ठाउँ

सोमबार, १० फागुन २०७७, १० : १८
सोमबार, १० फागुन २०७७

 सबैलाई थाहा भएकै कुरा हो, मानवीय वर्षको समयावधिको प्रत्यक्ष सम्बन्ध सूर्यसँग रहेको हुन्छ । हामी बसेको पृथ्वीमा एक वर्षको अवधि त्यसलाई मानिन्छ जुन समयमा पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ । पृथ्वीमा यो अवधि ३६५ दिनको मानिन्छ अर्थात् पृथ्वीले ३६५ दिनमा सूर्यको एउटा परिक्रमा पूरा गरी अर्को परिक्रमा प्रारम्भ गर्छ । 

समयका अन्य प्रारूप जस्तै सेकेन्ड- मिनेट -घण्टा -दिन -पाक्षिक (fortnightly -१५ दिने अवधि) एक महिना -

द्वैमासिक (bimonth) - त्रैमासिक (three months ) -अर्धवार्षिक (six months or half yearly) को उपल्लो  क्रममा समयको सबैभन्दा ठूलो युनिट हो एक वर्ष । समय विश्लेषणमा वर्षभन्दा ठूलो युनिटको कल्पना गरिएको छैन । एक वर्षभन्दा ठूलो समय विषयक गणना गर्दा वर्षकै सहारा लिइन्छ ।

हामीले प्रयुक्त गर्ने गरेको समय विषयक ठूलो युनिट एक दशक (decade) भनेको दस वर्षको समय हो ।

 यसभन्दा ठूलो गणना गर्ने पद्धति एक शताब्दी (century) भनेको १० दशक अथवा १०० वर्षको समय हो ।

समयको अझै ठूलो रूप भने सहस्राब्दी (Millennium) हो । सहस्राब्दी अर्थात् एक हजार वर्षको समयावधि ।

विज्ञानले समयको अवधारणा विषयक कल्पना  सेकेन्डको अनन्त: छोट्याइदेखि १३ दशमलब ८ अर्ब वर्ष पहिलासम्म गर्छ ।

आज समयका अन्य प्रारूपको नभई वर्ष विषयक चर्चा हुन गइरहेको छ अर्थात कुनै पनि खगोलीय पिण्डले (हामी बसेको पृथ्वीलगायत सौर्यमण्डलका अन्य ग्रह एवं खगोलीय पिण्ड) गर्ने आफ्नो मातृताराको परिक्रमासम्बन्धी चर्चा ।

पृथ्वीले ३६५ दिनमा सूर्यको एउटा परिक्रमा गर्छ अर्थात हामी बसेको पृथ्वीमा एक वर्षको अवधि ३६५ दिनको हुन्छ । आइन्स्टइनको उदय हुनुभन्दा पहिला विज्ञानसँग समयका बारे अति गलत धारणा रहेको थियो । विज्ञानले ब्रह्माण्डभरि समय एउटै र एकनासले बग्ने कुरामा विश्वास गर्थ्यो । तर धर्मग्रन्थले स्पष्ट रूपमा भनेकै थिए ब्रह्माण्डमा समयका फरक फरक स्वरुप हुन्छन् । आइन्स्टइन अघिसम्म विज्ञानले धर्मग्रन्थका कुरालाई हावामै उडाइरह्यो । तर आइन्स्टइनले धर्मग्रन्थले भनेको कुरा प्रमाणित गरिदिए । अब  विज्ञानलाई स्पष्ट थाहा छ पृथ्वीको समय र चन्द्रमा, बुध ग्रह, मङ्गल ग्रह, शनि ग्रहलगायत ब्रह्माण्डका कुनै पनि खगोलीय पिण्डमा समयको स्वरुप फरक फरक हुन्छ ।

मानिसले पृथ्वीबाहेक अन्य कतै  पाइला टेकेको ठाउँ चन्द्रमा मात्रै हो । त्यहाँको समय र पृथ्वीको समयमा भिन्नता छ ।  चन्द्रमा ग्रह नभएर उपग्रह हो, अर्थात् यसले सूर्यको सीधा परिक्रमा नगरेर ग्रह अर्थात् पृथ्वीको परिक्रमा गर्छ ।

कुनै पनि पिण्डले सूर्यको परिक्रमा गर्नुका साथै आफ्नो अक्षमा पनि गति गरेर अक्षको परिक्रमा गरिरहेका हुन्छन् । हामी  जसलाई एक दिनको समय  भनी बुझ्छौँ त्यो अरु केही नभएर  पृथ्वीले आफ्नो अक्षमा एक फन्को  मारेको अवधि हो । पृथ्वीले यो कार्य गर्न झण्डै २४ घण्टाको समय लिन्छ । यसै कारण हाम्रा दिनको लम्बाइ २४ घण्टाको हुन्छ ।

चन्द्रमाले भने आफ्नो अक्षको एउटा परिक्रमा पूरा गर्न २७ दशमलब ३ दिनको समय लगाउँछ, यसको अर्थ चन्द्रमाको एक दिन पृथ्वीका २७ दशमलब ३ दिन बराबरी हुन्छ । चन्द्रमाको संरचनामा एउटा अचम्मको कुरा छ, यसले आफ्नो अक्षको परिक्रमा गर्न जति समय लगाउँछ त्यति नै समय लिन्छ यसले पृथ्वीको एक परिक्रमा पूरा गर्न । चन्द्रमाले पृथ्वीको एउटा परिक्रमा गर्न २७ दशमलब ३ दिनकै समय लगाउँछ अर्थात चन्द्रमामा एक वर्षको अन्तराल पनि एक दिनकै बराबर हुन्छ । छिट्टै नै चन्द्रमामा मानव बस्ती बसाउने  योजना छ त्यहाँ बसेका मानिसले पृथ्वीका भाँती समयको कार्यतालिका विभाजन गर्न सक्दैनन् ।  २७ दशमलब ३ दिन लामो एक दिन अर्थात चन्द्रमामा झण्डै १३ दशमलब ६५ दिन लामो रात्रि र यति नै लामो प्रकाशमय दिन हुन्छ । यसैगरी बुध ग्रहमा एक दिनको अवधि ५८ दिनको र एक वर्षको अवधि जम्मा ८७ दिनको हुन्छ । शुक्र ग्रहमा एक दिनको समय एक वर्षभन्दा लामो हुन्छ । मङ्गल ग्रहको एक दिन पृथ्वीभन्दा अलिक लामो अर्थात २४ दशमलब ६२२ घण्टाको र वर्षको समय ६८७  दिनको हुन्छ। सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको एक दिन जम्मा ९ घण्टा ५५ मिनेटको हुन्छ भने यहाँको एक वर्ष पृथ्वीका ४,३३२ दिन बराबरी हुन्छ । वृहस्पतिकै दिनका हिसाबले वृहस्पति ग्रहको एक वर्षमा १०,४७५ दिन हुन्छन् ।

शनि ग्रहमा एक दिनको समय १० घण्टा ३४ मिनेटको हुन्छ भने यहाँको एक वर्ष  पृथ्वीका १०,७५९ दिन जति लामो हुन्छ ।  शनि ग्रहको दिनका हिसाबले त यहाँ क्यालेन्डर फेर्न २४,४९१ दिन पर्खिनु पर्छ । अरुण ग्रह (युरेनस) मा दिन १७ घण्टा १४ मिनेटको हुन्छ ।  यहाँको एक वर्ष भने पृथ्वीको ८४ दशमलब ३२ वर्ष अर्थात ३०,७९९ दिन लामो हुन्छ । यहीँका दिनको हिसाबले यहाँ जन्मदिनको केक काट्न ४२,७१८ दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ । सौर्यमण्डलको अन्तिम  ग्रह वरुण ग्रह (नेप्चुन) मा एक दिन १६ घण्टा ६ मिनेटको हुन्छ भने यहाँको एक वर्ष पृथ्वीको १६५ वर्ष जति हुन्छ ।  अर्थात वरुण ग्रहले सूर्यको एउटा परिक्रमा गर्न १६५ वर्ष लाउँछ । वरुणका  दिनको हिसाबले यहाँको एक वर्षमा ८९,६६६ दिन हुन्छन् ।

 कुरा यम क्षुद्र ग्रह (प्लुटो) को पनि गरौँ ।  प्लुटोको एक दिन अति लामो हुन्छ अर्थात यसको अक्षमा परिक्रमा गर्ने गति अति कम छ । यसले अक्षमा जम्मा १३ मिटरप्रति सेकेन्डले गति गर्छ । यस गतिले २,३७६ किमि व्यास भएको प्लुटोलाई अक्षमा एक फन्को मार्न १५३ घण्टा १७ मिनेटको समय लाग्छ । यहाँको एक वर्ष अर्थात यसलाई सूर्यको परिक्रमा पूरा गर्न २४८ वर्ष (पृथ्वीवर्ष ) को समय लाग्छ ।  विज्ञानले सन् १९३० मा पत्ता लाएको प्लुटोले संज्ञानमा आएदेखि  अहिलेसम्म सूर्यको एउटा पनि परिक्रमा पूरा गरेको छैन ।

खगोलशास्त्रीहरुले भर्खरै सौर्यमण्डलमा   एउटा यस्तो खगोलीय पिण्ड पत्ता लाएका छन्, जसले सूर्यको एउटा परिक्रमा पूरा गर्न १००० वर्षको समय लगाउँछ । यो नै सूर्यदेखि सबैभन्दा टाढाको  थाहा हुन आएको खगोलीय पिण्ड हो ।  वैज्ञानिकहरुले यसलाई 'फर फर आउट अब्जेक्ट' (farfarout ) नामकरण गरेका छन् । यो खोजिनुभन्दा  पहिला  २०१८ VG १८ नामक पिण्डलाई सूर्यदेखि सबैभन्दाको टाढाको (ट्रान्स अब्जेक्ट) पिण्ड  मानिन्थ्यो । यसको खोज १० नोभेम्बर २०१८ मा स्कटसेपर्ड, डेभिड थोलेन र चाड त्रुजिलोले गरेका थिए । यसलाई 'फर आउट आब्जेक्ट भनिएको थियो । यो सूर्यदेखि १०० ऐयू (एस्ट्रोनमिकल युनिट ) अर्थात  झण्डै  १५ अर्ब किमि टाढा रहेको थियो ।

यसै तिकडीले यसभन्दा पनि टाढाको 'फर फर आउट अब्जेक्ट' २०१८ AG ३७  पत्ता लाएको छ । यो सूर्यदेखि १४४  ऐयू टाढाबाट सूर्यको परिक्रमा गर्छ । १ ऐयू भनेको सूर्यदेखि पृथ्वीसम्मको दूरी हो यसको मान १४,९६००००० किमि हुन्छ । यति टाढाबाट सूर्यको एक परिक्रमा पूरा गर्न यसलाई एक हजार पृथ्वी वर्षको समय लाग्छ ।

यस पिण्डको खोज २०१८ मा भए पनि केही दिन पहिला मात्रै फेब्रुअरी २०२१ मा एक प्रेस कान्फ्रेन्समा Scott Sheppard, David Tholen, and Chad Trujillo. ले यस विषयको औपचारिक जानकारी दिएका हुन् । प्रारम्भिक अनुमानअनुसार यसको डायमिटर ४०० किमि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप