शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हनि ट्रयापिङ मार्फत ८८ लाखको हर्लिक्स लुटपाट

थानकोटमा ट्रक दुर्घटना भएपछि लुटको पोल खुल्यो, ५ जना पक्राउ
आइतबार, ०९ फागुन २०७७, १८ : ०२
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । बाराबाट काठमाडौं आएको एउटा ट्रकमा लोडेड हर्लिक्स काठमाडौं आएपछि अनौठो तरिकाले लुटियो । ना.५ ख १८४५ नम्बरको ट्रकमा १६ टन हर्लिक्स थियो । चालकलाई बीच बाटोमा हनि ट्रयापिङमार्फत बेहोस बनाएर काठमाडौं ल्याइएको सो ट्रकको हर्लिक्स गुहेश्वरीमा अनलोड गरियो । त्यतिन्जेल लुटको सुराक कहीँ कतैबाट चुहिएन ।

पुस ४ मा काठमाडौंबाट फर्कंदै गर्दा थानकोटको चेक प्वाईन्ट पार गरेपछि ट्रक दुर्घटना भयो । सो ट्रक को नम्बर थियो, ना.५ ख १८४५ । दुर्घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले दुई महिनापछि हनि ट्रयापिङमार्फत भएको लुट पत्ता लगाउन सफल भएका छन् । लुटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

युवती प्रयोग
पुस ३ मा साँझ ७ बजेतिर बाराबाट हर्लिक्स लोड गरिएको ट्रक काठमाडौंतर्फ हिँड्यो । बीचमा एउटी युवती सो ट्रकमा चढिन । बाराका लोकेन्द्रकुमार शाहले ट्रक चलाएका थिए ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार मकवानपुरको मनहरीमा चालकले खाना खाए । खानापछि ती युवतीले उनलाई फ्रुटी खान आग्रह गरिन् । सो फ्रुटी खाएपछि चालक निदाए । युवतीले उनलाई फ्रुटीमा नियन्त्रित लागुऔषध ‘लोराजेपाम’ नामको चक्की मिसाएको फ्रुटी खान दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

ट्रकको क्याविनबाट प्रहरीले ‘लोराजेपाम’ लेखिएको खाली पत्ता फेला पारेको छ ।  मनहरीमा फ्रुटी खाएपछि लोकेन्द्र अचेत भएर निदाए । त्यहाँबाट युवतीको सम्पर्कमा रहेका अर्का चालकले ट्रक हाँकेर काठमाडौं आए । हर्लिक्स थापाथलीमा अनलोड गर्नुपर्ने थियो । तर, लुटेरा समूहले गुहेश्वरीस्थित अस्थायी गोदाममा लगेर अनलोड गरे । 

पुस ४ मा राती साढे ११ बजे ट्रक दुर्घटना भएको खबर महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुममा आयो । प्रहरी घटनास्थल पुग्यो । चन्द्रागिरी नगरपालिका–२ स्थित पिपलमोडमा ट्रक दुर्घटना भएको थियो । चालकले नशालु पदार्थ खाएको शंका लागेपछि प्रहरीले लोकेन्द्रकुमार शाहलाई पक्रियो । लागुऔषध परीक्षण गर्दा ‘पोजेटिभ’ रिपोर्ट आयो । 

प्रहरीले पक्रेको दुई दिनपछि लोकेन्द्रले अनुसन्धान अधिकृतसँग भने– ‘अपरिचित युवतीले दिएको फ्रुटी खाएको थिएँ, पक्राउ परेपछि मात्रै म काठमाडौंमा रहेको थाहा पाएँ, गाडीमा रहेको हर्लिक्स चोरी भयो !’

चारजना पक्राउ

काठमाडौं प्रहरीले चालक शाह बाहेक लुटमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सस्तो मूल्यमा हर्लिक्स किन्ने कालिमाटीका दुईजना व्यापारी पनि छन् ।  हर्लिक्स किन्ने व्यापारीहरु ईश्वर भट्टराई, सुरेन्द्र लम्साल, खाद्यान्नको डिलर चलाउने सरोज बस्नेत र भारतिय नागरिक आदित्यकुमार सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

‘लुटमा संलग्न युवती सहितका व्यक्तिहरुको खोजी भइरहेको छ’ काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने– ‘योजनाबद्ध रुपमा संगठित गिरोहले हर्लिक्स लुटेको देखिन्छ ।’  लुटका योजनाकार भारतीय नागरिक आदित्यकुमार शाह हुन् । उनलाई प्रहरीले माघ २० मा पक्रेको थियो । सस्तोमा हर्लिक्स किन्ने भट्टराई र लम्साल माघ १८ मा पक्राउ परेका हुन् । 

आरोपीलाई ठगी तथा आपराधिक लाभ लिन नपाइने मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारी वकिल कार्यालयमा केही दिनमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । शिवेज सपिङ एण्ड लजिस्टिक प्रालि हैदरावादले उत्पादन गरेके सो हर्लिक्स बारा स्थित साहिल फुल ट्रिप ढुवानी सेवाबाट काठमाडौं पठाइएको थियो ।

साढे १६ टन तौल भएको हर्लिक्सको बजार मूल्य करिब ८८ लाख रहेको बताइएको छ । लोकेन्द्रलाई चाहि प्रहरीले लागुऔषध सेवनविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।

युवती ल्याइदिन फोन

बारा प्रसौनीका ट्रक चालक लोकेन्द्रकुमार शाह काठमाडौं आउने तयारीमा थिए । एकजना पुरुषले फोन गरेर उनलाई आफ्नो पत्नीलाई पनि काठमाडौं ल्याइदिन आग्रह गरे । शाहले प्रहरीलाई बताएअनुसार त्यसपछि युवतीले उनलाई सम्पर्क गरेर ट्रकमा चढेकी हुन् । 

हनि ट्रयापमा पारेर नशालु पदार्थ खुवाएपछि योजनाबद्ध रुपमा लुटेरा समूहका चारजना मिलेर सो ट्रक काठमाडौं ल्याएका थिए । हर्लिक्स गुहेश्वरीमा अनलोड गरेपछि बालाजु हुँदै उनीहरुले ट्रक नागढुंगा पुर्याए ।  ‘नागढुंगा पार गराएर लोकेन्द्रलाई लुटेरा समूहले ट्रक जिम्मा लगाएको हुनुपर्छ’ अनुसन्धनमा संलग्न एक प्रहरी अधिकृतले भने–‘राम्रोसँग चेत नखुल्दै लोकेन्द्रलाई ट्रक जिम्मा लगाएर सो समूहले दुर्घटना गराएर आफ्नो कर्तुत सँधैका लागि मोड्ने प्रयास गरेको देखिन्छ ।’ 

लुटेरा समूहले सरोज बस्नेतमार्फत कालिमाटीका ब्यापारीलाई सो हर्लिक्स बेचेका थिए । ईश्वर भट्टराई, सुरेन्द्र लम्सालले ९ सय २० काटुर्न हर्लिक्स ६० लाखमा  किनेर बजारमा सप्लाई गरेको प्रहरीलाई  बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप