बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिको हार्दा दबाब बढाउँदै रियल

आइतबार, ०९ फागुन २०७७, ०८ : ०८
आइतबार, ०९ फागुन २०७७

कासिमेरोको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले रियल भालाडोलिडलाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी तीन अंकमा झार्न सफल भएको छ । खेलको ६५ औँ मिनेटमा कासिमेरोको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

ब्राजिलियन मिडफिल्डरले त्यसअघि गोलका दुईवटा सुन्दर अवसर गुमाएका थिए । लिगमा यो सिजन उनको पाँचौ गोल हो । उता, मारियानो डियाजले दुई पटक गोल गरेपनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

गोलकिपर थियाबट कोर्टवाले फाबियन ओरेलाना र साइदी जांकोको प्रहारलाई बचाऊ गरेका थिए । रियल यतिबेला चोटग्रस्त खेलाडीको समस्याले ग्रस्त रहेको छ । कप्तान सर्जियो रामोशसँगै एडिन हजार्ड, मार्सेलो, ड्यानी कार्भाहाल र करिम बेन्जेमा घाइते रहेका छन् ।

जीतसँगै २४ खेलबाट ५२ अंक बटुल्दै रियल लिगको दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको एथ्लेटिको भने आफ्नो घरेलु मैदानमा लेभान्तेसँग स्तब्ध बन्यो ।  खेलको ३० औँ मिनेटमा लुइस मोरालेसको प्रहार एथ्लेटिकोका खेलाडीलाई लाग्दै गोलमा परिणत भयो भने जोर्ज डे फ्रुटोसले स्टपेज टाइममा गोल गर्दै लेभान्तेको जीत सुनिश्चित गरे ।

खेलमा एथ्लेटिकोले विपक्षीको पोष्टमा २८ पटक प्रहार गरे पनि गोलकिपर कार्डेनासले त्यसलाई विफल बनाएका थिए ।

२३ खेलबाट एथ्लेटिकोको ५५ अंक रहेको छ ।

अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–० ले हरायो भने इल्चेले इबारमाथि १–० को जीत निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप