शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आजः ३ वर्ष क्वारेन्टिनमा राखेपछि म्यारीलाई छोडियो, त्यसपछि टाइफाइड फैलाएको आरोपमा मृत्यु नहुञ्जेल क्वारेन्टिनमा नै राखियो

शुक्रबार, ०७ फागुन २०७७, १० : ३२
शुक्रबार, ०७ फागुन २०७७

२३ सेप्टेम्बर सन् १८६९ मा उत्तरी आयरल्याण्डमा म्यारी मालोनको जन्म भयो । म्यारी १५ वर्षकी हुँदा आयरल्याण्डबाट अमेरिका गइन् । त्यहाँ उनले कुकिङ र घरेलु कामदारको रुपमा काम गरिन् । सन् १९०० देखि १९०७ सम्म मेरी न्यूयोर्कका ८ परिवारमा घरेलु कामदार भइन् । यीमध्ये ७ परिवारमा टाइफाइड नामको रोग फैलियो । टाइफाइड कुनै वाहक बिना नफैलने मान्यता राखिन्छ ।

सन् १९०६ का अन्त्यमा एक परिवारमा टाइफाइड फैलियो । यो परिवारमा म्यारी काम गर्ने गर्थिन् । त्यसपछि अमेरिकाका एक डिटेक्टिभ जर्ज सोपरलाई कसैलाई नलागेको टाइफाइड रोग कहाँबाट फैलिरहेको छ भन्नेबारे अनुसन्धान गर्ने जिम्मेवारी दिइयो ।

सन् १९०७ जून १५ मा जर्ज सोपरले आफ्नो अनुसन्धानबारे छापे जसमा लेखिए अनुसार उक्त परिवारले म्यारीलाई काममा राखेको र टाइफाइड फैलिएको तीन हप्ता पछि म्यारी त्यहाँबाट गएकी थिइन् । सोपरले म्यारी नै टाइफाइडकी क्यारियर (वाहक) भएको शंका जताए ।

Mary Mallon as “Typhoid Mary” in the local newspaper of the era

सोपरको खोज सार्वजनिक भएपछि न्यूयोर्क हेल्थ डिपार्टमेन्टले म्यारीलाई पक्राउ गर्यो । पछि जब म्यारीको स्याम्पल परीक्षण गरियो तब उनको पित्त थैलीमा टाइफाइडको ब्याक्टेरिया पाइयो । त्यसपछि १९ मार्च सन् १९०७ मा म्यारीलाई क्वारेन्टिनमा राखियो । उनलाई न्यूयोर्कको नर्थ ब्रदर आइसल्याण्डमा क्वारेन्टिनमा राखियो । हप्तामा तीन पटक उनको स्याम्पल लिन थालियो । रोचक कुरा के थियो भने म्यारीलाई टाइफाइडको कुनै लक्षण थिएन । यसै कारण उनी अञ्जानमा नै टाइफाइडकी वाहक बनिन् । त्यसैले त उनको नाम पनि टाइफाइड म्यारी राखिएको थियो ।

करिब तीन वर्षसम्म क्वारेन्टिनमा बसेपछि म्यारीलाई आजकै दिन सन् १९१० मा क्वारेन्टिन सेन्टरबाट रिहा गरियो । उनलाई अब उप्रान्त कुकिङ र घरेलु कामदारको रुपमा कतै काम गर्न नपाउने शर्तमा छोडियो । क्वारेन्टिन सेन्टरबाट निस्किएपछि म्यारीले यताउती केही काम गरिन् । तर उनले धेरै दिनसम्म काम गर्न पाइनन् ।

सन् १९१५ मा म्यारीले न्यूयोर्कको एक महिला अस्पतालमा काम गर्न सुरु गरिन् । त्यसपछि त्यहाँका २५ बिरामी टाइफाइडबाट संक्रमित भए । त्यसपछि पुनः जर्ज सोपरलाई बोलाइयो । उनले म्यारीलाई चिनिहाले । त्यसपछि म्यारीलाई सन् १९१५ मार्च २७ गतेबाट नर्थ ब्रदर आइसल्याण्डको एक अस्पतालमा क्वारेन्टिनमा राखियो । आफ्नो मृत्युभन्दा ६ वर्षअघि म्यारी प्यारालाइसिसबाट ग्रस्त भइन् । ११ नोभेम्बर सन् १९३८ मा क्वारेन्टिन सेन्टरमा नै निमोनियाका कारण म्यारीको मृत्यु भयो । यसरी म्यारी २७ वर्षसम्म क्वारेन्टिनमा बसिन् ।  

रिपोर्टका अनुसार म्यारीका कारण ५० भन्दा बढी मानिसहरु टाइफाइडद्वारा ग्रस्त भएका थिए । यीमध्ये तीनजनाको मृत्यु भएको थियो । म्यारीको केस संसारको पहिलो केस थियो जसमा कुनै असिम्प्टमेटिक क्यारियर (लक्षण नदेखिएका बिरामी) लाई जबर्जस्ती क्वारेन्टिनमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप