मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार पटकसम्म शाक्यले यसरी जितिन् क्यान्सरलाई

बिहीबार, ०६ फागुन २०७७, ०९ : ३७
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । जुम्ल्याहा बाबुनानीले भर्खरै नौ महिनामात्रै टेकेका थिए । आमाको दुध चुस्दै मुखमा हेरेर खिस्स हाँस्ने, हाउहाउ गरेर बोल्ने गर्दथे । सितापाइलाकी ५४ वर्षीय बबी शाक्यका लागि २४ वर्ष अघिको त्यो पल आनन्ददायी नै थियो ।

बच्चालाई दुध चुसाउने क्रममा एक दिन उनलाई महसुस भयोबायाँतर्फको स्तनको निप्पलमा सानो गिर्खा रहेछ । उनले त्यसलाई सामान्य रुपमा नै लिइन् ।

तर, बिस्तारै गिर्खा बढ्न थाल्यो र उनले दुखेको महसुस पनि गर्न थालिन् । यद्यपि उनले बच्चाहरूले दुध चुस्दा घाउ भएको होला भन्ने ठानिन् । तर, जाँच गर्दा उनलाई स्तन क्यान्सर भएको रहेछ ।

साहसी अनि आत्मविश्वासकी पर्यायवाची शाक्यले २४ वर्ष अघि स्तन क्यान्सरलाई जितिन् । उनले २४ वर्षको अवधिमा क्यान्सरलाई एक पटकमात्रै होइन, चार पटकसम्म विजय प्राप्त गरिन् ।

३० वर्षको उमेरमा उनलाई स्तन क्यान्सर भयो । त्यसलाई जितेको १० वर्षपछि पुनः अर्को स्तनमा क्यान्सर देखियो । उनी पुनः क्यान्सरसँग जुध्दै थिइन् ।

दुई पटक स्तन क्यान्सर झेलेकी उनले क्यान्सरसँगको संघर्ष अझै बाँकी छ भन्ने पत्तो नै पाएकी थिइनन् । तर अचानक उनले बोन क्यान्सर झेल्नु प¥यो ।

त्यतिबेला शाक्यलाई बोन क्यान्सर भएको पत्तो नै थिएन । शंकाको घेरामा रहे पनि उनले आफूलाई क्यान्सर नै लागेको हो भन्ने थाहा पाएकी थिइनन् । चिकित्सकसँगको छलफलमा उनका आफन्तले भने बोन क्यान्सरको अनुमान गरिसकेका थिए । यद्यपि परीक्षण गर्न बाँकी नै थियो । स्तन क्यान्सरजस्तो सजिलो थिएन बोन क्यान्सर परीक्षण । बोन क्यान्सर भएको शंका लागेका ८ जना बिरामी नभई मेसिनमा हाडको स्क्यान नगरिने रहेछ । शाक्यलाई सोझै स्क्यानका लागि नभनेर आफन्तहरुले बहाना बनाएर स्क्यान गर्ने ठाउँमा लगे । ८ जना नभई स्क्यान गर्न नमिल्ने तर बोन क्यान्सर आशंका गरिएका ७ जना बिरामीहरु थप एक जना बिरामीको अभावमा परीक्षणबाटै वञ्चि भइरहेको भनेर शाक्यलाई उनका आफन्तले ती ७ बिरामीको सहयोगका लागि स्क्यानमा सामेल भइदिन भन्दै मनाएका थिए । यसरी उनका आफन्तले शाक्यको नाम पनि स्क्यानका लागि टिपाएछन् ।

उनलाई केही नभइकन जाँच गराउन, अस्पताल धाउन दिक्क लाग्थ्यो । आफन्तको दबाबमा सहयोगको भावले बाध्य भएर उनी हाडको स्क्यान गर्न पुगिन् । उनी स्क्यान गरेर लुगा फेर्दै थिइन् । यत्तिकैमा बोन स्क्यान राम्रो आएन, फेरि पटक जाँच गरौं भनेर स्वास्थ्यकर्मीले उनलाई आग्रह गरे ।

उनलाई त्यतिबेला औषधि उपचारसँगै विभिन्न व्यावहारिक कार्यले गर्दा झनक्क रिस उठ्ने, शरीर तात्ने गर्दथ्यो । आफन्तको दबाबमा, त्यो पनि अन्य बिरामीको सहयोगका लागि आफू बोनको स्क्यान गर्न आएको भए पनि पटकपटक परीक्षण गर्न लुगा फेर्नुपर्ने भएपछि त्यो बेला आफूलाई झनक्क रिस उठेको उनले सुनाइन् ।

मलाई बोन क्यान्सरको लक्षण छ भन्ने थाहै थिएन, आफन्तले त मलाई ८ जना बिरामी जम्मा नभई स्क्यान नहुने भएकाले ७ जना बिरामीहरुको स्क्यान नै रोकिएको भनेर कोरम पु¥याउनका लागि मेरो नाम टिपाइदिएको भनेका थिए, उनले भनिन्, ‘तर स्क्यान गरिसकेपछि पनि दोहो¥याएर स्क्यान गर्नुपर्छ भनेपछि मलाई रिस उठेको थियो ।

शाक्य फलोअपका लागि अस्पताल जाँदा बोन स्क्यानकोे रिपोर्ट लिएर चिकित्सकसमक्ष पुगिन् । तर, त्यो रिपोर्ट हेरेर चिकित्सकले बोन क्यान्सर भएको बताएपछि आफू छाँगाबाट खसेजस्तो भएको उनले बताइन् ।

शरीरमा कुनै स्वास्थ्य समस्या नदेखिए पनि कल्पना नै नगरेको बोन क्यान्सर हुँदा उनलाई विश्वास गर्नै गाह्रो भयो । तर अर्को कोणबाट उनले खुशी पनि महसुस गरिन् । अरुलाई सहयोग गर्ने नाममा मन नलागी नलागी जाँच गराउँदा क्यान्सर भएको थाहा पाइयो, यस हिसाबले मैले आफूलाई भाग्यमानी ठानेँ र समयमै रोगको पहिचान भएकोमा केही खुशी पनि भएँ, उनले भनिन्, ‘एक हिसाबले आफूलाई भाग्यमानी ठान्छु किनभने अञ्जानमा गरेको परीक्षणबाट क्यान्सर भएको थाहा पाएकाले समयै उपचार गर्दा हालसम्म बाँच्न सफल भएको छु ।

बोन क्यान्सर हुनुभन्दा अघि नै उनले किमोथेरापी लिइसकेकी थिइन् । बोन क्यान्सरको उपचारका लागि त्यही विधि सुरु गरिएको उनले सुनाइन् ।

त्यतिबेला उनी तेस्रो पटक क्यान्सरसँग लडिरहेकी थिइन् । औषधिको साइड इफेक्टले गर्दा उनलाई गाह्रो भयो । त्यसपछि अरु बोलेकोे सुन्नै मन नलाग्ने, छिटोछिटो रिसाउने, रिसलाई नियन्त्रण गर्न नसकेर धेरै गाह्रो भएको उनले सुनाइन् । विगतमा आवेशमा आएर रिसाएर बोलेका कुरा, अरुले गर्ने व्यवहार सम्झँदा वर्तमानमा उनलाई अहिले हाँसो उठ्छ ।

बोन क्यान्सर भएको केही वर्षपछि शाक्यलाई नियतिले फेरि त्यही क्यान्सरसँग जुध्न बाध्य बनायो । स्तन क्यान्सर हुँदा रेडियोथेरापी गरेको ठाउँको छाला चिलाउन थाल्यो । बिस्तारै छाला कुहिन थाल्यो । जाँच गर्ने क्रममा थाहा भयो कि उनलाई छातीमा छालाको क्यान्सर भएको रहेछ ।

चिकित्सक नै अलमलमा

जब उनलाई चौथो पटक छालाको क्यान्सर भयो, उपचारमा संलग्न चिकित्सहरूको कुरा नमिल्दा उनी समस्यामा परिन् । उपचारमा संलग्न चिकित्सकमध्ये एक चिकित्सकले अप्रेसन गरेर सबै छाला फाल्ने, अर्को चिकित्सकले छालाको रेडिएसन गरेर सुकाउन सल्लाह दिए । यसअघि शाक्यले स्तन क्यान्सर हुँदा रेडियोथेरापी गरेकी थिइन् । रेडियोथेरापी कसरी ३ पटकसम्म दिने भनेर डाक्टर अलमलमा परे ।

नेपालमा छालाको क्यान्सरको उपचार गर्न चिकित्सकहरूको तालमेल नमिलेपछि परिवारको सल्लाहमा   उनी दिल्ली उपचार गर्न पुगिन् ।

अप्रेसन गर्दा खुट्टा नै चलेन

भारतमा चिकित्सकले उनलाई अप्रेसन गर्न सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार छातीको छालाको क्यान्सरको अप्रेसन भयो । अप्रेसनपछि होस खुल्दा उनको हात दुखिरहेको थियो भने दायाँ खुट्टा उचाल्न खोज्दा सकिनन् ।

खुट्टा छाम्दा ठुलो व्यान्डेजले बेरेको थाहा पाइन् । छातीको छालाको क्यान्सरको उपचारका क्रममा शल्यक्रिया गर्दा खुट्टामा ब्यान्डेज लगाउनु अनि खुट्टा नचल्नुको कारणबारे उनलाई पत्तो भएन । त्यसपछि उनी धेरै आत्तिइन् । मैले त छातीको छालाको क्यान्सरको अप्रेसन गरेकी हुँ, किन मेरो खुट्टा चल्दैन भनेर धेरै आत्तिएँ, उनले भनिन् ।

अप्रेसन सकिसकेपछि उनलाई भेट्न उपचार कक्षमा श्रीमान आए । उनले किन खुट्टा नचलेको भनेर श्रीमानलाई सोधिन् । उनका श्रीमान् पनि अलमलमा परे । त्यसपछि श्रीमतीको खुट्टा छामेर आत्तिदै डाक्टरलाई सोध्न गए ।

त्यसपछि डाक्टरहरूले क्यान्सर फैलिएको छालाको भाग अप्रेसनको क्रममा तास्दातास्दा भित्री करङ नै देखिएपछि आकस्मिक रुपमा आफन्त वा बिरामीको अनुमति विना नै खुट्टाको फिलाको मासु झिकेर छातीको भागमा टाँसिदिएको जानकारी दिए । त्यसैले केही समयको लागि खुट्टा नचल्ने उनले थाहा पाइन् । त्यसपछि उनको मन ढुक्क भयो ।  उनको खुट्टाको फिलामा गोलाकार आकारको मासु काट्दा ५० भन्दा बढी टाँका लगाएको छ ।

‘धेरै दुःख भोगेँ’

तीन पटक क्यान्सरको उपचार गराइसकेकी शाक्यले चौथो पटकको उपचारमा भने निकै दुःख झेलेको सुनाइन् । छालाको क्यान्सरको अप्रेसन गरेपछि उनी ६ महिनासम्म ओछ्यानमा थला परिन् । किनभने उनको खुट्टाको फिलामा मासु नहुँदा हिँड्नलाई गाह्रो भयो ।

करिब ६ महिनासम्म ओछ्यानमै सीमित भएकी उनले दैनिक क्रियाकलापका लागि अरुको भर पर्नुप¥यो । विगतमा तीनतीनवटा क्यान्सरसँग जुध्दा सकेसम्म आफ्नो काम आफै गर्ने, घरबाहिर हिँडडुल गर्ने गर्थिन् । तर चौथो पटकको उपचारका क्रममा उनी बिल्कुलै थला परेकी थिइन् ।

‘बाबुनानीका लागि बाँच्नुपर्छ भन्ने ख्यालमात्रै आउँथ्यो’

२४ वर्ष अघि पहिलो पटक क्यान्सर लागेको थाहा पाउँदा शाक्यलाई अब मरिन्छ भन्ने लाग्थ्यो । तर, ९ महिने जुम्ल्याहा बाबुनानीलाई हेर्दै उनी उनीहरुका लागि पनि बाँच्नुपर्छ भनेर हिम्मत जुटाउँथिन् ।

क्यान्सर लागेको छ, औषधि उपचार गर्दैछु भन्ने कुरा मनमा लागिरहे पनि अर्को मनले मलाई क्यान्सर लागेको हो नि, अब त नबाँच्न पनि सक्छु भन्ने लाग्थ्यो, उनले भनिन् । तर ९ महिने शिशुको अनुहार हेरेपछि आफूमा बाँच्ने मनोबल बढेको र क्यान्सर निको हुने विश्वास जागेको उनले सुनाइन् ।

आफुले आफैलाई सम्झाएर बच्चाको लागि बाँच्नुपर्छ भन्ने दृढ अठोटका साथ अघि बढेकै कारण चार पटकसम्म क्यान्सरलाई पराजित गर्न सफल भएको उनको भनाइ छ ।

आत्मविश्वासले जितिन्छ क्यान्सरलाई

क्यान्सरजस्तो रोग औषधि उपचारले मात्रै निको हुँदैन । दृढ आत्मविश्वास भएकै कारण ४ पटकसम्म क्यान्सरलाई जित्न सफल भएको उनले सुनाइन् ।

म अहिलेसम्म यस धर्तीमा जिवीत रहनुको कारक तत्व नै आत्मविश्वास र सकारात्मक सोच हो, उनले भनिन्, ‘क्यान्सरसँग लडिरहँदा मनमा नकारात्मक कुरा हावी हुन नदिने प्रयास जारी राखेँ । 

मनमा सकारात्मक ऊर्जा कायम राखिराख्न टिभी, इन्टरनेटमा सधैँ सकारात्मक सन्देश दिने सामाग्री हेर्ने, पढ्ने गर्नुपर्ने उनले सुनाइन् । हामी सामाजिक सञ्जाल, विभिन्न मिडिया, वरिपरिको वातावरणमा सुन्ने, हेर्ने, पढ्ने गर्छौं, उनले भनिन्, ‘थाहा पाएर वा नपाएर विस्तारै हाम्रो सोच, व्यवहार र कार्य त्यस्तै हुन्छ, त्यसैले सकारात्मक कुरामा आफूलाई केन्द्रित गर्नुपर्छ ।

आर्थिक कठिनाइ

उनलाई २४ वर्ष पहिला क्यान्सर हुँदा भर्खर उनी र उनका श्रीमान विदेशबाट आएका थिए । भएको पैसा जति जमिनमा लगानी ग¥यौं, त्यसबेला श्रीमानको जागिर पनि थिएन, उनले भनिन्, ‘आफूलाई क्यान्सर भयो । आफूलाई क्यान्सर भएपछि मात्र मैले आफन्त, साथीभाइ र पैसा भनेको के रहेछ भन्ने कुरा थाहा पाएँ ।

जग्गा किन्न जति सजिलो हुन्छ, बिक्री गर्न त्यति सजिलो नभएकाले उपचार गर्न पैसाको लागि धेरै आफन्त र साथीहरुकोमा भौंतारिएको उनले सुनाइन् । आफन्तबट पैसा नपाएपछि श्रीमानको आँखा छलेर आफ्नो सिक्री बेचेर उनले आफन्तकोबाट पैसा ल्याएको बहाना बनाइन् ।

क्यान्सर लागेको थाहा पाएपछि आफन्तहरू तथा साथीभाइहरू भेट्न आउँदा निरासावादी अनुहार लिएर आउने गरेको पनि उनले सम्झिन् । अब त अन्तिम पटक हो मलाई भेट्ने भनेजस्तो गरेर उनीहरु कुरा गर्थे, उनी भन्छिन्, ‘मलाई भेट्न आउने मान्छे निरासावादी कुरा नगरुन्, मनमा सकारात्मक ऊर्जा थप्ने कुरा गरे हुन्थ्यो जस्तो लाग्थ्यो ।

क्यान्सर लाग्यो भन्दैमा मरिहालिन्छ भन्ने जनविश्वास भएकाले पनि धेरैको मनमा नकारात्मक भाव सिर्जना भएको हुनसक्ने उनले बताइन् । क्यान्सर लाग्दैमा डराउन नपर्ने उनी बताउँछिन् । क्यान्सरको पहिचान समयमै गर्न सकेमा उपचार र आत्मविश्वासले जित्न सकिने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप