शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगल ग्रहमा अवतरणकाे त्यो सात मिनेटकाे ‘आतङ्क’

पत्याउनु हुन्छ– विज्ञानले जस्तो सुकै चमत्कार गर्न सक्छ !
मङ्गलबार, ०४ फागुन २०७७, ०२ : ५७
मङ्गलबार, ०४ फागुन २०७७

साँच्चै नै विज्ञानले चमत्कार गर्न सक्छ भन्ने कुरामा तपाईंलाई पत्यार लाग्दैन भने यसको सीधा अर्थ यति नै हो तपाई आधुनिकतम विज्ञानको क्षमतासंग परिचित हुनुहुन्न अथवा चमत्कार विषयक तपाईको अवधारणा नै शायद आफ्नो जीवनसंग सम्बंधित केही असम्भव कुराकै छेउछाउमा सीमित रहेको छ।  अन्यथा विज्ञानले प्रतिदिन नयाँ नयाँ चमत्कार गर्दै गइरहेको /आइरहेको छ।  ल यस्तै एउटा चमत्कार सुन्नुस् -

दिन आइतवार १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन  दिवसका दिन पृथ्वीदेखि करोडौं किमी टाढा मंगल ग्रहको धरातलमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको 'रोभर पर्सीवेरेंस' (rover Perseverance) ओर्लिने क्रममा अघि बढे रहेको थियो। यसलाई मंगल ग्रहको आकाशबाट विस्तारै मंगल ग्रहको भुईँमा ओर्लिनु थियो। तर 'ल्यॉनडिङका आखिरी मिनेटमा सिस्टमले फेल खायो।  सात महीनाको अनवरत यात्रा गरेपछि मंगल  ग्रहको कक्ष (अर्बिट) सम्म पुग्न सफल  'रोभर  पर्सीवेरेन्स'संग सम्बन्ध विच्छेद हुन पुग्यो।  जतनसाथ राखिएको 'रोभर पर्सीवेरेन्स' को क्याप्सुलसंग नासाको सम्बन्ध टुट्यो। अभियानको सबैभन्दा महत्वपूर्ण क्षणमा आएर सात मिनेटसम्म सम्बन्धविच्छेद हुन गयो।  यी सात मिनेटमा नासाका सारा प्रयास पानी हुन सक्ने सम्भावना थियो। ओर्लिने क्रममा रहेको क्याप्सुलबाट कुनै सन्देश आइरहेको थिएन।  अभियान र 'ल्यॉनडिङ'संग सम्बंधित सबै वैज्ञानिकको मुटुको चाल बढ्यो।

तर वैज्ञानिकहरुले हरेश खाएनन।  क्याप्सुलसंग आफ्नो सम्बन्ध स्थापित गर्ने प्रयास जारी राखे।

१४ फेब्रुअरीका दिन मंगल ग्रह र पृथ्वीका बीच १ दशमलब ३१९५३ ऐयु अर्थात  १९,९५,१८,६१२ किमीको दूरी रहेको थियो।  यस दूरीका बीच एक किनारबाट अर्को किनारसम्म पुग्न प्रकाशलाई ११ मिनेट  ५ दशमलब ५२२५ सेकेण्डको समय लाग्छ। स्मरण रहोस्, हाम्रा रेडियो सन्देश (रेडियो तरंग), इन्टरनेट आदिको गति प्रकाशको गति बराबरी नै हुन्छ। अहिलेसम्मको वैज्ञानिक मान्यताअनुसार प्रकाशको गतिभन्दा तीव्र गतिले सन्देश प्रसारित हुन सक्दैन। पृथ्वी सानो भएकाले हाम्रा इलेक्ट्रोनिक सन्देश क्षणमै पृथ्वीको कुनै पनि कुनामा पुग्छन्।  भनौं, हाम्रा रेडियो सन्देशले एक सेकेण्डमा पृथ्वीको साढे सातवटा फन्को लाउछन् ।  तर, तर, तर यसै गतिले पृथ्वीबाट मंगल ग्रहमा सन्देश पुग्न ११ मिनेटको समय लाग्छ।  र कहिलेकाहीँ मंगल र पृथ्वीको दूरी बढेको बेला '४० करोड़  किमी टाढा हुँदा' सन्देश पुग्ने समय २२ मिनेटसम्म हुन पुग्छ। र, यति नै समय त्यहाँबाट सन्देश पृथ्वीसम्म आइपुग्न लाग्छ।

भोलि मंगल ग्रहमा मानिस पुग्न सफल भए र उनले पृथ्वीका मानिससंग कुरा गर्न चाहे भने उताबाट भनिएको हेल्लोलाई पृथ्वीसम्म आइपुग्न घटीमा ११ मिनेटको समय लाग्छ।

सात महीनामा ४७  करोड़ २०  लाख किमीको दूरी पार गरेर मंगल ग्रहको 'कक्ष'मा पुगेर 'ल्यॉनडिङ'का समय 'रोभर  पर्सीवेरेन्स' राखिएको क्याप्सुलसंग सम्बन्ध विच्छेद हुँदा अमेरिकाको लस ऐंजेल्सस्थित नासाको 'जेट  प्रोपल्शन  लेबोरेटरी' (Jet Propulsion Laboratory  -JPL) मा बसेका 'ल्यॉनडिङ एक्सपर्ट'का हात खुट्टा लूला भए। मंगलको कक्षबाट ६ पांग्रा भएको यस रोभरलाई  ओर्लिन जम्मा सात मिनेटको समय निर्धारित थियो। अर्थात यसले सात मिनेटमै 'ल्याण्ड'  गर्ने पुर्व  निर्धारित कार्यक्रम रहेको थियो।  अब सम्पर्क विच्छेद हुँदा 'जीपीएल' ले पठाएको कुनै पनि कमाण्ड त्यहाँ  पुग्न ११ मिनेट लाग्ने बाध्यतामक परिस्थिति थियो।  के मिसन असफल हुन्छ ?

'जेपीएल''का अवतरण विज्ञ अल चेनलाई २ दशमलब ७ अर्ब डालर खेर जाने भयले सतायो।

'सफलता सुनिश्चित हुने कुरा होइन' चेन भन्छन्- 'खासगरी त्यस अभियानमा, जहाँ हामी कहिल्यै नभएको काम गरी रहेका थियौं।  नासाको यस अभियानको लक्ष्य मंगल ग्रहको आजसम्म कहिल्यै कुनै अभियान अवतरण नभएको ठाउँमा ओर्लिने रहेको थियो र यस अभियानमा इतिहासकै सबैभन्दा ठूलो र भारी भरकम रोभर अनेकौं जटिल वैज्ञानिक उपकरण लिएर 'ल्याण्ड' गर्न गइरहेको थियो।'

हामीलाई पहिलादेखि नै थाहा थियो मंगलमा अवतरण गर्ने बेलामा कुनै समस्या आयो भने हामीले यहाँबाट केही गर्न सक्दैनौ किनकि हाम्रो कुनै पनि कमाण्ड त्यहाँ पुग्न ११ मिनेट लाग्छ र सात मिनेटमै क्याप्सुल मंगलको सतहमा बजारिन सक्छ।

तर अन्त्यमा हाम्रो भाग्यले साथ दियो।  क्याप्सुलले मंगल ग्रहमा सुरक्षित अवतरण गरेको  सन्देश पठायो।  जीपीएलमा खुशी छायो।  ५-७ मिनेटकै प्रयासमा उनीहरुले क्याप्सुलसंग सम्पर्क स्थापित गरी लाल ग्रहका नामले चिनिने मंगलको सतहमा क्याप्सुललाई सफलतापूर्वक 'ल्याण्ड' गराए।  क्याप्सुल 'ल्याण्ड' भएपछि त्यसभित्र जतनपूर्वक राखिएको 'रोभर  पर्सीवेरेन्स'ले तमाम वैज्ञानिक उपकरण बोकेर सात महीने विश्रामपछि क्याप्सुलबाट बाहिर  निस्की मंगलको धरातलमा विभिन्न प्रयोग प्रारम्भ गर्यो। पृथ्वीस्थित नियन्त्रण कक्षमा रहेका सारा अधिकारी -कर्मचारी र वैज्ञानिकले ताली बजाएर खुशी मनाए।

तर पाठक वृन्द ! तपाईले पढेको यस कथामा एउटा 'ट्विस्ट' छ, त्यो के भने यस अभियानको क्याप्सुल र 'रोभर पर्सीवेरेन्स'ले आउँदो  १८ फेब्रुअरीका दिन मंगल ग्रहमा अवतरण गर्ने कार्यक्रम रहेको छ। यसले १४ फेब्रुअरीमा 'ल्याण्ड' गरेको होइन।  यो त Jet Propulsion Laboratory का वैज्ञानिक हरुले क्याप्सुल अवतरण गर्ने कार्यक्रमको पूर्वाभ्यासस्वरुप गरेको 'डमी' अवतरण कार्यक्रमको आयोजना मञ्चन गरिएको थियो। सक्क्ली अवतरण कार्यक्रम १८ फेब्रुअरीका दिन हुनेछ। 

यस अमेरिकी  अभियानको उद्देश्य मंगल ग्रहमा जीवन सम्बन्धी सम्भावनाको अनुसन्धान गर्न केंद्रित रहेको छ। यसको रोभरले  मंगल ग्रहको ४५ किमी चौडा 'जेरेजो  क्रेटर'मा अवतरण गर्न गइरहेको छ। वैज्ञानिकहरुलाई मंगल ग्रहको यस क्षेत्रमा 'माइक्रोअर्गानिज्म'का जीवाश्म भेटिने आशा रहेको छ। ब्याट्रीबाट सञ्चालन हुने यस रोभरले  २ वर्षसम्म मंगलको यस क्षेत्रमा आफूसंग रहेका यन्त्रका माध्यमले सूक्ष्म  जीवनका जीवाश्म खोज्ने कार्य गर्नेछ। एक थरी वैज्ञानिकहरुको विश्वास छ– केही अर्ब वर्ष पहिला मंगलमा जीवन थियो।

यस अमेरिकी अभियानमा एउटा अचम्मको अर्को काम पनि हुन गइरहेको छ।  पहिलो पटक पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डमा ड्रोन हेलीकाप्टर 'इनजेनुइटी'   (Ingenuity) पनि उडाइने छ।  यस रोभरले संकलित गरेका स्याम्पल पृथ्वीमा ल्याउने योजना पनि रहेको छ। यसका लागि अमेरिकाले निकट भविष्यमा थप दुइवटा मंगल अभियान गर्नेछ त्यस अभियानका  रोभरले मंगलबाट पहिलो पटक पृथ्वीमा स्याम्पल ल्याउने  महत्वाकांक्षी योजना रहेको छ।

विज्ञानका चमत्कारको रहस्य कसैसंग लुकेको हुँदैन।  विज्ञानले अर्जित गरेका जुनसुकै चमत्कार सम्पूर्ण मानव जातिको सामूहिक उत्थानका लागि हुन्छन्।  के मंगल ग्रहको सतहमा हेलीकाप्टर उडाउने कुराले पनि तपाईंलाई विज्ञानले चमत्कार गर्छ भन्ने पत्यार लागेन  ?

सन्दर्भ सामाग्री - theskylive, voanewsnasa Title Photo: https://im-media.voltron.voanews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप