ad
केन्द्रीय संस्करण
सन्दर्भः शिवपुरीबाबा महापरिनिर्वाण दिवस

ओशो र शिवपुरीबाबाको शिक्षणमा समानता

person explore access_timeफागुन ३, २०७७ chat_bubble_outline0


शिवपुरीबाबालाई हामी ओशो संन्यासी गुरु सरह नै श्रद्धा र आदर गर्छौं । ओशोको देशना छ – “बुद्धम शरणम् गच्छामि ।” समस्त बुद्धहरूको शरणमा जाने । सबै बुद्धहरुलाई आदर गर्ने र उनीहरुको शिक्षणबाट आफ्नो आध्यात्मिक रुपान्तरण गर्ने । ओशो संकीर्ण विचारहरु राख्नुहुन्न । उहाँले विगतका ७० गुरुहरूको बारेमा आदरपूर्वक प्रवचन दिनुभएको छ । ती गुरुहरूको शिक्षण र साधना प्रक्रियालाई बडो सम्मानका साथ प्रस्तुत गर्नुभएको छ । 
जतिपनि सम्बुद्धपुरुषहरु छन् सबैका देशना जीवन उपयोगी छ, सबैलाई सम्मान गर्नुपर्छ भन्ने ओशोको मौलिक दर्शन हो । त्यसमा पनि शिवपुरी बाबासँग हामी विशेषरूपले जोडिएका छौं । किनभने उहाँ र ओशोको शिक्षणमा धेरै समानता छ ।शिवपुरी बाबाले मेरो साधना र ओशो आश्रमहरुलाई आध्यात्मिक रुपले ठूलो प्रेरणा र आशिर्वाद दिँदै आइरहनुभएको छ । आजभन्दा ४६ वर्ष अगाडिदेखि मलाई शिवपुरीबाबाको आध्यात्मिक सांन्निध्य प्राप्त भइरहेको छ । श्रद्धा र भक्ति कै कारणले उहाँको ध्यान मन्दिर ओशो तपोवनमा बनाएका छौं ।

ओशोसँग दीक्षा लिएपछि ओशोले मलाई नेपालमा ओशो आशीष ध्यान केन्द्र स्थापना गर्ने आज्ञा दिनुभयो । मेरो ताहाचलको घरमा सन् १९७४ मा यो ध्यान केन्द्र स्थापना भयो । पूनाबाट बिदा हुने बेलामा ओशोले मलाई लेखेर दिनुभयो –“तिमी नेपालमा शिवपुरी बाबाको समाधिस्थलमा जाने गर्नु ।” नेपालमा जन्मिए पनि शिवपुरी बाबासँग मेरो परिचय थिएन । ओशोले लेख्नुभएको थियो – “एयरपोर्टको नजिकै आर्मीको व्यारेक भित्र काँडेतारले घेरिएको सानो आश्रम छ । त्यहाँ जानु, तिमीलाई प्रेरणा मिल्छ ।” गुरुकै आदेश भएको कारणले म त्यहाँ गएँ । त्यहाँ शिवपुरीबाबाका लामो समयसम्म सहयोगी र सेवक रहनुभएका माधवबाजेसँग भेट भयो । पहिलो भेटमै उहाँसँग एक गहिरो र आत्मीय सम्बन्ध बस्न गयो । आश्रममा मैले गहन आध्यात्मिक तरंगर ऊर्जा महसुस गरें । त्यसपछि म शिवपुरीबाबाको आश्रममा नियमित जानथाले । 

मेरो सांन्निध्य विशेष रुपले दुई व्यक्तिसँग लामो समयसम्म रहन गयो जो शिवपुरीबाबाको नजिक धेरै बस्नु भएको थियो – उहाँहरु हुनुहुन्थ्यो माधव बाजे (माधव तिमिल्सिना) र प्रोफेसर रेणु लाल सिंह । प्रोफेसर रेणुलाल दरबारमा संवाद सचिव हुनुहुन्थ्यो र पछि राजदरवार समारोह प्रवन्धक पनि हुनुभयो । उहाँहरुबाट मैले शिवपुरीबाबाको बारेमा धेरै सुन्ने र बुझ्ने मौका पाएँ । उहाँहरुको सत्संगबाट शिवपुरीबाबा प्रति मेरो हृदयमा श्रद्धा र भक्ति पनि मौलाएर आयो । मेरो उहाँहरु दुबैजनासँग आत्मिय सम्बन्ध रहन गयो । त्यसबेला प्रत्येक शनीबार शिवपुरीबाबाको आज्ञा अनुसार उहाँका पुराना शिष्यहरु आश्रममा भेला हुन्थे । म पनि उनीहरुसँग सत्संग गर्थें । शिवपुरीबाबाका बारेमा धेरै जिज्ञासाहरु राख्थे र उहाँहरुले आफ्नो शिवपुरीबाबासँगको व्यक्तिगत क्षणहरुमा भएका बार्तालाप र स्वयमको अनुभवबाट मेरा जिज्ञासा शान्त गर्नुहुन्थ्यो । यसरी शिवपुरीबाबासँग बिस्तारै मेरो जीवन जोडिदै गयो । 

आज पनि मैले उहाँको आशिर्वाद र प्रेरणा पाइरहन्छु । यो तपोवन आश्रमको संरक्षणमा पनि उहाँको ठूलो योगदान छ । पछि ओशोले मलाई भन्नुभयो कि शिवपुरी बाबालाई म तिम्रो लोकल गार्जियन बनाउदैछु । जब बच्चाहरुलाई घरबाट टाढा पढ्न अर्को शहरमा जान्छन् भने कुनै निकटको हितौषि त्यो शहरमा छन् भने बच्चाहरुको हेरचाहका लागि स्थानिय हितैषिलाई लोकल गार्जियन बनाइन्छ । 

शिवपुरीकाबाबा र ओशोको शिक्षणमा समानता


सम्बोधि प्राप्त गरेका व्यक्तिहरूको शिक्षणमा समानता हुन्छ । आफूलाई बुद्ध भएको, निर्वाण प्राप्त गरेको झुटोदाबी गर्दै हिँड्ने व्यक्तिहरूको यो संसारमा कमी छैन । तर वास्तविक निर्वाण प्राप्त गरेका गुरुहरुजसको चेतना परमात्मासँग एकाकार भइसकेको छउनीहरूको शिक्षणको सारतत्वमा जानुभयो भने त्यसमा समानतापाउनुहुन्छ । मेरो अनुभवमा सबै परमात्मा प्राप्त चेतनाहरु सामूहिकरुपमा कार्य गरिरहेका हुन्छन् किनभने उनीहरूको कुनै व्यक्तिगत चाहना र महत्वकांक्षा हुँदैन । उनीहरु सबै चाहान्छन् कि यो संसारमा दुःख निरोध होस् । मानिस दःखबाट मुक्त हुन् ।आध्यात्मिक रुपले समृद्ध हुन् । मनुष्यको जुन गहन आध्यात्मिक बेहासी र अहंकार छ, त्यो हटोस् । रमण महर्षि, रामकृष्ण परमहंस, ओशो, बुद्ध, शंकराचार्य, कृष्णमूर्ति, शिवपुरीबाबा सबैको शिक्षणको सारतत्व हेर्नुभयो भने तपाईले त्यो समान देख्नु हुन्छ।  

शिवपुरीबाबाले घोर तपस्या गर्नुभयो । अमरकण्टकको जंगलमा २५ वर्षको एकान्त साधनापछि समाधि प्राप्त गर्नुभयो । त्यो दृष्टिले हेुर्नभयो भने ओशोलाई तपाईं कृष्णमूर्तिका नजिक पाउनुहुन्छ । उहाँले शुद्ध होस र जागरणको कुरा गर्नुभयो । नियमित र सतत् ध्यानमा जोड दिनुभयो । बाहिरबाट हेर्दा मात्र यो असमानता देखिन सक्छ । शिवपुरीबाबाले नेपालमा निर्दोष भक्तिभावले भरिएकाथोरै सोझा नेपालीहरु शिक्षा दिनुभयो भने ओशोलाई सुन्न संसार भरीका कथाकथित ज्ञानी, बुद्धिवादी र तार्किक व्यक्तिहरु आए, जसमा परम नास्तिकहरु पनि थिए ।

देश, काल, परिस्थिति अनुसार शिक्षणको ढङ्ग अलग अलग हुन सक्छ । भाषा अलग हुनसक्ला, शैली अलग हुनसक्ला । तात्कालिन परिवेश हेरेर वहाँहरुले त्यो ढंगले सत्यको अभिव्यक्ति दिनुहोला । त्यसैले बाहिर आवरणफरक भएपनि मूल सन्देश, मूल तत्व एउटै हो । उहाँहरूको एउटै पवित्र उद्देश्य छ कि हाम्रो आध्यात्मिक निन्द्राटुटोस्र हामी मनको मायाजालबाट मुक्त हुन सकौं । सबै बुद्धपुरुषहरु यही उद्देश्यका लागि सक्रिय रहन्छन् । ओशोले मलाई के सिकाउनुभयो भने सबै जागृत पुरुषको उद्देश्य एउटै भएकोले सबैलाईश्रद्धा र सम्मान दिनू। 

शिवपुरीबाबा र ओशो एकै समयमा पृथ्वीमा हुनुहुन्थ्यो । त्यसकारणले उहाँहरुको शिक्षणमा अझ बढी समानता छ । दुबैले बिसौं शताब्दीको लागि उपयुक्त भाषा, तर्क र धर्मको आधुनिक रुप प्रस्तुत गर्नुभएको छ । शिवपुरीबाबाको एक प्रसिद्धकथन छ –“आर्ट शुड बी आइडलिस्टिक, थिंकिंग शुड बी रियलिस्टिक एण्ड लिभिंग शुड बी आर्टटिस्टिक।”कलाआदर्शवादी हुनुपर्छ, सोच यथार्थवादी हुनुपर्छ र जीवन कलात्मक हुनुपर्छ । यो वचन ओशोको जीवनदर्शनसँग ठ्याक्कै मिल्छ । दुवैजनाको जीवन कलात्मक थियो । सुरुचिपूर्ण थियो । दुबैजना एकदम राम्रो र सफा परिवेश र परिधानमा बस्न मन पराउनु हुन्थ्यो । शिवपुरीबाबाको लागि श्रीलंकाबाट एक दमै अब्बल गुणस्तरको चिया आउथ्यो । उहाँ जुन चिजको उपभोग गर्नु हुन्थ्यो त्यो उच्चकोटीको हुन्थ्यो । उहाँहरुको जीवन व्यवहारमा एक विशिष्टता र अभिजात्यपन थियो । 

उहाँहरुमा कुनै धर्मविशेषको आग्रह छैन, एक मानव धर्मको सर्वांगीण शिक्षा छ । शिवपुरीबाबा कहाँ कुनै क्रिश्चियन आयो भने उसकै धर्मको परिप्रेक्षमा बाइबल अनुसार नै शिक्षा दिनुहुन्थ्यो । मुसलमान आयो भने इस्लामिक ढंगबाट शिक्षण दिनुहुन्थ्यो । भक्त आयो भने भक्तिबाट सम्झाउनु हुन्थ्यो भने योगी आयो भने योगको शिक्षणबाट सम्झाउनु हुन्थ्यो । उहाँहरूको एक विशाल दृष्टिकोण थियो त्यो दृष्टिकोणमा ओशो शिवपुरी बाबा समान हुनुहुन्छ । 

गान्धीको बारेमा ओशोको जस्तो धारणा छ त्यस्तै धारणा शिवपुरीबाबाको पनि छ । ओशोले गान्धी दर्शनका केही अव्यवहारिक पक्षको आलोचना गर्नुभएको छ, त्यस्तै आलोचना शिवपुरीबाबाले पनि गर्नुहुन्थ्यो । श्रीअरविन्द र स्वामी विवेकानन्दको बारेमा ओशोको जुन विचार छ त्यस्तै विचार शिवपुरीबाबामा पाइन्छ । ओशो मध्यप्रदेशमा जन्मिनु भयो भने शिवपुरीबाबा दक्षिण भारतमा । फरक परिवेशबाट आएपनि सत्यको शिखरमा पुगेका यी दुवैजनाको विश्लेषण समान भएको पाइन्छ । यतिसम्मकी दुबैजनाले कहिलेकाही एकै किसिमका शब्दहरु प्रयोग गरेको देखिन्छ । 

शिवपुरी बाबाको एउटा प्रसिद्ध कथन छ जबसम्म तिमीले परमात्मा प्राप्त गर्दैनौं तबसम्म तिमीले जे गरेपनि त्यसको परिणाम दुःख नै हुनेछ र अन्ततः त्यो तिम्रै विरुद्धमा जानेछ । ओशोको पनि यस्तै युक्ति भेट्टिन्छ – जबसम्म तिमी परमात्मा प्राप्त गर्दैनौं, समाधि प्राप्त गर्दैनौं, तिमी संसारका लागि र आफ्ना लागि पनि बिझाइ रहने काँडा समान हौ । योपरमात्मा प्राप्त व्यक्तिले मात्र बुझ्न सक्छ र भन्न सक्छ । अरु गुरुले सेवा गर भन्छन् । समाजतिर आफ्नो मन लगाऊ, समाजको सेवा गर, पूण्य आर्जन गर भन्छन् । तर वास्तविक ज्ञान प्राप्त गुरुले यस्ता शिक्षणहरु दिँदैनन् । उनीहरुले के भन्छन् भने जबसम्म तिमीले आत्मबोध गर्दैनौ, तिमीले जे गरेपनि त्यसको परिणाम सबैका लागि दुःखद नै हुन्छ, अन्तनः व्यर्थ हुन्छ । त्यसैले म उहाँहरुदुवैजनाको दर्शनमा समानता पाउँछु । 

ओशोले एकदमै तर्कनिष्ठ तरिकाले बुद्धिवादी व्यक्तिहरुको समूहको लागि बोल्नुभयो । अमेरिकामा रजनीशपूरम् नामक ११० वर्ग माइलको एक शहरै बसाउनुभयो । पुनामा पनि उहाँको आश्रमको ध्यान कक्षमा १० हजार व्यक्तिले उहाँको प्रवचन सुन्थे । शिवपुरी बाबा एकान्त जीवन जिउन मन पराउनु हुन्थ्यो । आफु वरिपरी भिडभाड जम्मा हुन दिनुभएन । शिष्यहरु बनाउनुभएन । कसैलाई दीक्षा पनि दिनुभएन । तर ओशोले जो आए सबैलाई दीक्षा दिनुभयो । हामी उहाँको शिक्षण र साधनामा आस्था राख्ने सबैलाई ओशोको नामबाट आजपनि हामी दीक्षा दिइरहेका छौं । अहिले नेपालमा करिब सबै तप्काका एक लाख व्यक्तिहरुले ओशोको दीक्षा लिएर साधनामा लागेका छन् । बाहिरबाट हेर्दा शिवपुरीबाबा र ओशोमा यो असमानता देखिन्छ । 

शिवपुरीबाबाले घोर तपस्या गर्नुभयो । अमरकण्टकको जंगलमा २५ वर्षको एकान्त साधनापछि समाधि प्राप्त गर्नुभयो । त्यो दृष्टिले हेुर्नभयो भने ओशोलाई तपाई कृष्णमूर्तिका नजिक पाउनुहुन्छ । उहाँले शुद्ध होस र जागरणको कुरा गर्नुभयो । नियमित र सतत् ध्यानमा जोड दिनुभयो । बाहिरबाट हेर्दा मात्र यो असमानता देखिन सक्छ । शिवपुरीबाबाले नेपालमा निर्दोष भक्तिभावले भरिएकाथोरै सोझा नेपालीहरु शिक्षा दिनुभयो भने ओशोलाई सुन्न संसार भरीका कथाकथित ज्ञानी, बुद्धिवादी र तार्किक व्यक्तिहरु आए, जसमा परम नास्तिकहरु पनि थिए । ओशोले तिनीहरुसँग व्यवहार गर्न तर्कको साहारा लिन प¥यो । आफ्नो शिक्षणलाई बौद्धिक ढंगले बुझाउनु पथ्र्यो । त्यसकारणले बाहिरबाट हेर्नुभयो भने समानताहरू भन्दा असमानताहरु धेरै देख्न सकिन्छ । म साधक भएकोले बाहिरको परिवेशभन्दा पनि अन्तर सन्देश के छ त्यसलाई हेर्छु । अन्तरसन्देशलाई हेर्नुभयो भने त्यसमा केही असमानता छैन । शिष्यप्रतिको करुणा, प्रेम र उनीहरुको आध्यात्मिक रुपान्तरण साथै निरन्तर पीडा, युद्ध र समस्याले ग्रसित हुँदै गइरहेको संसारलाई त्यसबाट मुक्ति दिलाउने चाहना दुबैमा समान छ ।  

धर्मका तथाकथित ठेकेदारहरुको ओशोले जमेर आलोचना गर्नुभएको छ । धर्मको मर्म नजानी धर्मको ढोंग गर्ने अरुमाथि आध्यात्मिक अधिकार जताउन चाहने मठाधीश, मुल्ला, मौलवी, पादरी, पुजारीलाई आत्मशोषक भनेर सम्म ओशोले आलोचना गर्नुभएको छ । तर ओशोले वास्तविक सम्बुद्ध प्राप्त व्यक्तिहरुको आलोचना गर्नुभएको छैन बरु विगतमा परमात्मा प्राप्त व्यक्तिका शिक्षणलाई समसामयिक बनाउनु भएको छ । बुद्ध र महावीर गएपछि उहाँहरुको धर्मले पलायनको बाटो लिएको थियो त्यसको आलोचना ओशोले गर्नुभयो तर बुद्धलाई हिमाच्छादित हिमालय भनेर तारिफ गर्दै उहाँको शिक्षणमाथि हजारौं प्रवचन दिनुभयो जुन ८० वटा दुर्लभ पुस्तकहरुमा प्रकासित भएका छन् । ओशोले जहाँ पनि पाखण्ड देख्नुभयो, उहाँ चुप लागेर बस्नु भएन । तर अधिकांश बुद्ध पुरुषको शिक्षालाई परिमार्जन गरेर एक्काईसौं शताब्दीको परिप्रेक्ष्यमा त्यसलाई पस्किनुभयो । त्यो ओशोले जगतलाई दिएको सबैभन्दा ठूलो देन हो । शांडिल्य, नारद र शंकाराचार्यको भक्ति सूत्रमाथि प्रवचन, जीसस, मोहम्मदको वाणीमाथिको मौलिक व्याख्या, पतञ्जली योग सुत्र, तन्त्र, सुफी, झेन इत्यादि माथि दिएको प्रवचन आजको जगतको लागि अति नै उपयोगी छन् । 

ओशोले शिवपुरीबाबाको बारेमा भन्नुभएको छ – “यस शताब्दीमा परमात्मासँग एकाकार गरेका थोरै व्यक्तिहरु मध्ये शिवपुरी बाबा एक हुनुहुन्छ । शिवपुरीबाबा यो शताब्दीका एक विरलै चेतना हुनुहुन्छ । भारतमा जहाँ धेरै मूर्ख र पाखण्डीहरु आफूलाई ज्ञानी भनेर प्रस्तुत गरिरहेका हुन्छन् तिनको भिडमा शिवपुरी बाबा जस्तो व्यक्तिलाई भेट्न करिब करिब असंभव छ । शिवपुरी बाबा वास्तवमै आध्यात्मिक जगतमा एक विरलै फुल्ने फूल हुन् ।”

शिवपुरीबाबाका केही भक्तहरु ओशो कहाँ आए । दीक्षा पनि लिए । तर शिवपुरी बाबा र ओशो कै केही शिष्यहरुलाई के लाग्छ भने ओशो र शिवपुरीबाबाको शिक्षणमा धेरै फरक छ । उनीहरु वास्तवमा यी दुबै गुरुको बाहिरी परिवेश मात्रै देखिरहेका छन् । भित्रको मर्म देखिरहेका छैनन् । वास्तवमा भित्र दुबै एकै हुन् ।ओशो बाहेक अरु कुनै बुद्ध पुरुषले शिवपुरीबाबाको बारेमा बोलेको पनि छैन । पूनामा बसेर नेपालमा गोप्य जीवन जिउनभएको शिवपुरीबाबाको बारेमा त्यति विशिष्ट ढंगले ओशोले चर्चा गर्नुभएको छ । लाग्छ, जस्तो उहाँले त्यो साक्षात देखेर कुरा गरिरहनु भएको छ । मैले पत्रपत्रिका, रेडियो, टिभी र समारोहहरुमा शिवपुरीबाबाको बारेमा विगत ४० वर्षदेखि निरन्तर चर्चाहरु गरेको छु त्यो सुनेर धेरै मानिसहरु शिवपुरीबाबाको समाधिमा पुग्ने गरेका छन् । फागुन २ गते शिवपुरीबाबाको महापरिनिर्वाण दिवसमा उहाँलाई हाम्रो सादर नमन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.