शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न आएका विदेशीलाई ठगेर साढे ६ करोडको घर

शुक्रबार, ३० माघ २०७७, ०८ : २९
शुक्रबार, ३० माघ २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा शेष घलेको नाम बेचेर ठगी धन्दा चलाउँदै आएका एक व्यक्तिले नेपालमा लगानी गर्न आएका विदेशीलाई समेत करोडौं ठगी गरेको फेला परेको छ ।  लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले नेपालमा व्यवसाय दर्ता गर्न चाहेका चिनियाँ नागरिकलाई छक्याएर करिब १० करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । त्यसविरुद्ध प्रहरीमा उजुरी समेत परेको छ ।

चिनियाँ नागरिकले चितवनमा घाँस उत्पादन तथा प्रशोधन गरी जनावरको लागि आहारा उत्पादन गरी निर्यात गर्ने उद्योग खोल्न चाहेको  बताएपछि पहिलादेखि परिचित लामिछानेले आफू पनि त्यसको साझेदार बन्ने प्रस्ताव राखेकाका थिए । चिनियाँ लगानीकर्ताले नेपालमा दर्ता लगातका आवश्यक कानूनी प्रकृया पूरा गर्ने शर्तमा अधिकृत पूँजी १ अर्ब रहेको उक्त कम्पनीमा १० प्रतिशत सेयर लामिछानेले पाउने गरि प्रकृया अगाडि बढेको थियो । तर २०७६ वैशाख १६ गते कम्पनी दर्ता गर्ने क्रममा लामिछानेले आफ्नो एकलौटी नाममा कम्पनी दर्ता गरे ।

विदेशी नागरिकलाई नेपालमा सिधै कम्पनी दर्ता गर्ने व्यवस्था नभएकोले आफ्नो नाममा कम्पनी दर्ता गरेको बताएका उनले एक सातापछि कम्पनीमा साझेदारको नाम पनि राख्ने बताएका थिए । तर २०७६ जेठ १२ गते उद्योग विभागमा उद्योग दर्ताको अनुमति पनि लिएपनि उनले कम्पनीमा लागनीकर्ता चिनियाँ नारिकको नाम राखेनन् ।

त्यही बीचमा उद्योगका लागि जग्गा किन्ने भनेर व्यवस्थापन गरेको ६ करोड ५० लाख रकमले लामिछानेले काठमाडौंको टोखारोडमा आफ्नै नाममा घर किने । उक्त घरपनि विदेशी नागरिकको नाममा किन्न नपाइने भन्दै लामिछानेले आफ्नै नाममा पास गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

यसबीचमा चिनियाँ पक्षले लामिछानेसँग कम्पनीमा आफ्नो सेयर लगानीको आधिकारीकता देखिनुपर्ने माग गरेपछि लगानीकर्ता चिनिया व्यवसायी जुओङ्ग याङ्गसँगले टिएनयू नामक उक्त कम्पनीको शेयर किन्ने सम्झौता पनि भयो । सम्झौताको लामो समयसम्म लामिछानेले सेयरपनि नदिने र घर पनि कम्पनीको नाममा पास नगराएपछि चिनियाँ पक्ष सशंकित भयो । कम्पनीको १० लाख चुक्तापूँजीमध्ये शुरुमा चिनियाँबाटै २ लाख रुपैयाँ लिएका लामिछानेले बाँकी ८ लाख रुपैयाँ पनि चिनियाँ नागरिकसँगै मागे ।  तर चिनियाँ पक्षले कम्पनी आफ्नो नाममा नआएसम्म लगानीमात्रै गरेर डुब्न सकिने डरले बाँकी रकम दिएनन् ।

उता चितवनमा उद्योगका लागि ४ करोडजति लगानी भइसकेको थियो । कम्पनी र घर लामिछानेको नाममा दर्ता भएको अवस्थामा उद्योग कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ पक्ष अलमल पर्‍यो । लामिछानेले कर्मचारीलाई तलब खुवाउन भन्दै रकम माग्न थालेपनि कम्पनी आफ्नो नाममा नआएसम्म बाँकी एक रुपैयाँ पनि लगानी नगर्ने पक्षमा पुग्यो ।

त्यही बीचमा खटपट शुरु भएपछि लामिछाने चिनियाँ नागरिकसँग टाढिएका छन् । उनले किर्ते हस्ताक्षर गरेर विदेशीले दिने भनेको लगानी ल्याउन नसकेको भन्दै उनीसँग सम्झौता तोडेको समेत काजगात तयार परेको चिनियाँ पक्षको दावी छ ।

नेपालमा विदेशी लगानी भित्र्याउन सरकारले आह्वान गरिरहेको बेला विदेशी नागरिकलाई ठगेर लगानी अलपत्र पारेका लामिछाने अहिले फरार छन् । लामिछानेले विदेशीलाई झुक्याएर किनेको घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट २ करोड भन्दा धेरै ऋण समेत लिएका छन् ।  तर ऋण लिएको रकमले कम्पनीमा कार्यरत कर्मचारीलाई तलब समेत नदिएर चिनियाँ नागरिकसँग माग्न लगाएर भागेको कर्मचारीहरुको आरोप छ ।  उक्त ऋण तिरेको कागज देखाएर सिभिल बैंकबाट समेत ऋण निकाल्न खोजेपछि उनको शंकास्पद  गतिविधि विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतले उनको कारोबारमा रोक लगाइदिएको छ ।

लामिछानेले विभिन्न सहकारीबाट लाखौँको ऋण निकाल्ने र नतिर्ने, धेरै बैंकमा शून्य मौज्दातमा खाता खोल्ने र ऋण तिर्नुपर्ने साहुलाई रित्तो खाताको चेक दिने पनि गरेका छन् । उनको ठगीले  हैरान भएर बैंकहरुले कर्जा सूचना केन्द्र, राष्ट्र बैंक र प्रहरीसम्म दिनहुँ उजुरी गर्ने गरेका छन् ।

लामिछानेले वैदेशिक रोजगारमा जाने नेपाली युवालाई समेत ठगी गरेको उजुरी परेको छ । कतारमा कामका लागि भिसा र कामदार रोजगार करारनामा प्रमाणित नै नगरी नक्कली करारनामा बनाएर ठगेका थिए । उनले पठाएका मानिसहरु विमानस्थलमा अलपत्र परेपछि चतुरराज गिरी लगायतको उजरीका आधारमा दूतावासले ७ दिने पुर्जी काटेपछि उनले सो धन्दा छाडेका थिए ।

उनले कहिले आफू राजानिकटको मान्छे, कहिले न्यायधीशको नजिकको भन्दै ठग्दै आएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत परेका छन् ।  लामिछानेले धेरैजसो कारोबार आफू नफस्ने तरिकाले गर्ने र अरुलाई फसाउने तरिकाले गरेको प्रहरी अनुसन्धानमा फेला परेको छ ।  त्यसको उदाहरण हो शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीको नाममा किनेको गाडी । प्रदेश ३– ०१ – ०२२ च ०९६६ नम्बरको गाडी सहकारीको नाममा किनाएर उनले प्रयोग गर्दै हिँडेका छन् । सहकारीले पैसा उठाउन नसकेपछि सहकारीको नामको गाडी फिर्ता नगरेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप