बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सरकारले स्थानीय तहमा जनतालाई चरणबद्ध रूपमा खोप दिन्छ’

भारतसँग खोप खरिद प्रक्रिया अगाडि बढेको छैन : स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी
बुधबार, २८ माघ २०७७, १३ : ०३
बुधबार, २८ माघ २०७७

कोरोना महामारीविरुद्ध नेपालमा पनि खोप अभियान सुरु भइसकेको छ । अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीपछि दोस्रो चरणमा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारहरुलाई पनि खोप लगाउने काम धमाधम भइरहेको छ ।

भारतले सहयोग स्वरूप खोप उपलब्ध गराएको छ । साथै चीन र बेलायतले पनि खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका सूचना बाहिर आएका छन् । दाता राष्ट्रको सहयोगले नेपाललाई कोरोनाविरुद्ध लड्न हौसला प्राप्त भएको छ । हालसम्म २ लाखभन्दा बढी व्यक्ति यो खोप लगाइसकेका छन् र लगाउने क्रम अझ बढ्दै गएको छ । तर सरकाले निर्धारण गरेको प्राथमिकतामा परेका व्यक्तिहरुले अपेक्षा गरेअनुसार उत्साहजनक रूपमा खोप नलगाएका समाचारहरू पनि आएका छन् । यो सङ्ख्यामा किन कमी आयो, थप खोप कहिले र कसरी आइपुग्छ, उपलब्ध खोपको भण्डारण, वितरण तथा व्यवस्थापन कस्तो छ लगायतका विषयमा केन्द्रित रहेर स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानी :

अब खोप कसरी दिने, कसकसलाई दिने भनेर प्राथमिकता निर्धारण गर्छौं । त्यसका आधारमा खरिद प्रक्रियालाई अगाडि बढाउँछौँ । खरिद प्रक्रियाका लागि त्यति धेरै समस्या छैन । उपलब्ध खोप खपत नभएसम्म खरिद गरेर मात्रै के गर्ने भन्ने कुरा उठ्न थालेको छ ।

सरकारले भारतसँग कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई कसरी अगाडि बढाएको छ?

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोपमध्ये करिब २ लाख खोप मात्रै खपत भएको छ । अझै ८ लाख डोज बाँकी छ । सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिलाई ५ लाख खोप लागाउने भनेको छ । त्यही अनुसारको कार्यक्रम अगाडि बढिरहेको छ । कति खपत हुन्छ त्यो तथ्याङ्कका आधारमा अरू खोप खरिद गर्ने तयारी सरकारले गरेको छ ।

नेपालमा खोप ल्याउन खरिदका प्रक्रियाका लागि एउटा मात्रै कम्पनी दर्ता भएको छ । त्यसले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली राजदूतावाससँग खरिदका लागि पहल गरिरहेको छ । प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ । भारतको सिरम इन्स्टिच्युटसँग खरिदका लागि छलफल भएको छ तर प्रक्रिया अगाडि बढेको छैन ।  गाभीको कोभ्याक्समार्फत पनि खोप आउँछ । कोभ्याक्सले नेपाललाई कुल जनसङ्ख्याको २० प्रतिशत जनतालाई पुग्ने खोप दिन्छ । त्यसैले कोभ्याक्समार्फत आउने र खरिद प्रक्रियाबाट आउने खोपका विषयमा छलफल भइरहेको छ ।

कोभ्याक्सले पहिलो चरणमा दिने २० लाख र भारतबाट खरिद गर्ने भनिएको कोभिसिल्ड खोप एकै पटक आइपुगेमा नेपालमा भण्डारण तथा व्यवस्थापन गर्न सकिन्छ ?

कोभ्याक्सले दिने खोप र भारतबाट खरिद गर्ने खोप एकैपटक भित्र्याउन सकिँदैन । किनभने भण्डारण गर्ने क्षमता नपुग्न सक्छ । कोभ्याक्समार्फत खोप छिट्टै आयो र भारतबाट ल्याउने खरिद प्रक्रिया पनि अगाडि बढ्यो भने भण्डारण गर्न केही समस्या हुन सक्छ । त्यसैले भण्डारणमा समस्या नहोस् भनेर स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत अग्रपङ्क्तिमा खटिनेलाई खोप दिइसकेको अवस्था छ । यसपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरूलाई खोप दिने कार्यक्रम चलिरहेको छ । अब खोप कसरी दिने, कसकसलाई दिने भनेर प्राथमिकता निर्धारण गर्छौं । त्यसका आधारमा खरिद प्रक्रियालाई अगाडि बढाउँछौँ । खरिद प्रक्रियाका लागि त्यति धेरै समस्या छैन । उपलब्ध खोप खपत नभएसम्म खरिद गरेर मात्रै के गर्ने भन्ने कुरा उठ्न थालेको छ । खरिद प्रक्रिया र कोभ्याक्समार्फत प्राप्त हुने खोप एकै समयमा आउँदैनन् । त्यसैले पालैपालो खोप ल्याउँदा भण्डारण र वितरणमा समस्या हुँदैन ।

कोभ्याक्समार्फत आएको खोप लगाइसकेपछि मात्र खरिद प्रक्रियाबाट थप खोप ल्याउने भनेर सरकार अल्झिएको हो ?

कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोप एकै पटक दिँदैन । कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने करिब ६० लाख डोज खोप दिन्छ । पहिलो चरणमा २० लाख डोज खोप दिन सक्छ । साथै एकैपटक खोप आएको खण्डमा नेपालले भण्डारण गर्न पनि सक्दैन । भण्डारण क्षमताका आधारमा खोप माग्नुपर्ने हुन्छ । त्यसैले खोप खरिद प्रक्रियाका लागि वार्ता मात्रै सुरु गरिएको हो । कोभ्याक्समार्फत र खरिद प्रक्रियाबाट एकै पटकमा खोप आएमा व्यवस्थापन गर्न गाह्रो पर्छ । त्यसैले खरिद वा कोभ्याक्समार्फत कुनबाट छिटो खोप आउँछ भन्ने बुझिरहेका छौँ । नेपालले भारतसँग खोप खरिद प्रक्रियाका लागि छलफल तथा पत्राचार गरेको छ । कोभ्याक्सले पनि फेब्रुअरीको अन्तिम वा मार्च पहिलो हप्ता नेपाललाई खोप दिन सक्छ ।

अहिलेसम्मको नतिजा हेर्दा कोरोनाविरुद्ध खोप लगाउन मानिस इच्छुक भएनन् भन्न मिल्दैन । २ लाख जनाले खोप लगाइसक्नुभएको छ । खोपका बारेमा फैलिएको भ्रमलाई चिर्दै जानुपर्छ । सरकारले अपेक्षा गरेअनुसार खोप लगाउन नआएको खण्डमा कसरी जनचेतना फैलाउने, साँच्चै खोप लगाउन कति इच्छुक छन्, कोरोनाविरुद्धको खोप अनुदान दिन को को तयार छन्, अनुदान दिन तयार भएका राष्ट्रहरूले कति दिन्छन्, सरकारले कति खोप कसरी कहिलेसम्म खरिद गर्ने आदि कुरा विश्लेषण गर्नेछौँ ।

कोभिसिल्ड खोप खरिद गर्न नेपालले सिरम इन्स्टिच्युटलाई पत्राचार छ भन्नुभयो । यो समयमा नेपालमा खोप ल्याउन सकिन्छ भन्ने के के आधारहरू छन् ?

अहिले कोरोनाविरुद्ध खोपको माग अत्यधिक छ । उत्पादक कम्पनीले कोभिसिल्ड खोपको मागअनुसार बिक्री वितरण गरेको छैन । नेपालले खोप खरिदका लागि पत्राचार चाहिँ गरेको छ । मन्त्रालय तथा सरकारी तवरबाट खरिदका बारेमा छफफल पनि भएको भइरहेको छ । तर खोप खरिद प्रक्रिया नै अगाडि बढेको चाहिँ छैन ।

अनुदानमा आएको खोप उत्साहजनक रूपमा नलगाएको बेला कोभ्याक्समार्फत आएको खोप सरकारलाई भण्डारण र वितरण व्यवस्थापन गर्न गाह्रो पर्दैन ?

कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने खोप दिने भने पनि एकै पटक दिँदैन । कोभ्याक्सले ९२ देशलाई खोप दिनुपर्छ । ती सबै देशलाई एकैपटक दिन सक्दैन । त्यसैले नेपालले खोप भण्डारण क्षमताका आधारमा खोप दिनुपर्छ भनिरहेको छ । यसको आशय भनेको सरकारले कोरोनाविरुद्धको खोप लक्षित समूह निर्धारण गरी प्राथमिकता १, प्राथमिकता २, प्राथमिकता ३ गरेर चरणबद्ध रूपमा दिने योजना बताएको छ । त्यसका आधारमा खोपको भण्डारण र वितरण गर्न सक्छौँ । कोभ्याक्सले पनि खोप सबैलाई बराबर दिनुपर्‍यो । त्यसैले कोभ्याक्सले नेपाललाई खोप दिने चरण तोकेको छ । त्यस आधारमा खोप उपलब्ध गराएमा २ देखि ८ डिग्रीको तापक्रममा खोप भण्डारण गर्ने क्षमता नेपालको छ ।

कोभ्याक्सले नेपाललाई २ देखि ८ डिग्री क्षमतामा भण्डारण गर्न मिल्ने कोभिसिल्ड खोप दिन्छ भन्ने ग्यारेन्टी केही छ ?

कोभ्याक्सले कोभिसिल्ड खोप खरिदका लागि पहिलै नै निवेदन दिइसकेको छ । त्यसैले नेपालमा कोभिसिल्ड खोप नै आउने सम्भावना बढी छ । नेपालले भण्डारण गर्न सक्ने कोभिसिल्ड खोप हो । साथै आर्थिक भारका हिसाबले पनि अन्य खोपको तुलनामा सस्तो पर्छ । कोभ्याक्सले धेरै देशलाई खोप दिनुपर्छ । त्यसैले आर्थिक रूपमा कम भार पर्ने नै रोजाइमा पर्छ होला । नेपालले कोभ्याक्ससँग कुराकानी गर्दा कोभिसिल्ड खोप दिने सक्न आधारहरू भेटेका छौँ ।

नेपाललाई भारतले अनुदानमा दिएझैँ खोप उत्पादन गर्ने अन्य राष्ट्रहरू अनुदानमा दिन तत्पर छन् कि छैनन् ?

त्यसरी सहयोग स्वरूप खोप दिन चीन सरकार तत्पर रहेको कुरा थाहा पाएको छु । अन्य देशले सहयोग स्वरूप कोरोनाविरुद्धको खोप दिन इच्छा व्यक्त गरेको खण्डमा नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले पहल गर्छ । मापदण्डमा आधारित भई अनुदान स्वरूप खोप उपलब्ध गराउन उत्पादन गरिरहेका राष्ट्र तथा कम्पनी इच्छुक भए हाम्रा लागि धेरै राम्रो हो । किनभने यसले सरकारलाई आर्थिक भार कम हुन्छ ।

मलाई लाग्छ धेरै स्वास्थ्यकर्मीले खोप लगाउनुभएको छ । अभियानको पहिलो प्राथमिकतामा परेका अन्य व्यक्तिले किन खोप लगाएनन्, कारण के के थिए भनेर यकिनका साथ सम्बन्धित निकायले अध्ययन गरेपछि मात्र भन्न सकिन्छ ।

सरकारको अपेक्षाअनुसार खोप लगाउनेको सङ्ख्यामा किन कमी आएको होला ?

कोरोनाविरुद्धको खोप नयाँ हो । त्यसैले कतिपय व्यक्तिलाई खोपका बारेमा सही सूचना नपुगेको हुनसक्छ । पहिलो प्राथमिकता पर्ने कतिजना कोभिडमुक्त भएर लगाउँदिनँ भनेर बस्नुभएको हुनसक्छ । तर खोप लगाउने सङ्ख्या सरकारको अपेक्षाभन्दा कम भए वा भएनन् भनेर जान्न तथ्याङ्कका आधारमा गहन अध्ययन गरेर मात्रै भन्न सकिन्छ । मलाई लाग्छ धेरै स्वास्थ्यकर्मीले खोप लगाउनुभएको छ । अभियानको पहिलो प्राथमिकतामा परेका अन्य व्यक्तिले किन खोप लगाएनन्, कारण के के थिए भनेर यकिनका साथ सम्बन्धित निकायले अध्ययन गरेपछि मात्र भन्न सकिन्छ । खोप अभियानको १० दिनको अवधिमा करिब २ लाख व्यक्तिले खोप लगाएका छन् । त्यसलाई धेरै राम्रो मान्नुपर्छ ।

शिक्षित वर्गका रूपमा परिचित केही स्वास्थ्यकर्मीले खोप लगाउन तत्परता नदेखाएको अवस्थामा आमसर्वसाधारणले भावी दिनमा सहज रूपमा खोप लगाउने इच्छा व्यक्त गर्लान् त ?

सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्य राख्यो । कसलाई प्रथम चरणमा दिने, कसलाई दोस्रो र तेस्रो चरणमा दिने भनेर खोप खरिदका लागि योजना बनाएको हो । सुरुमा हामीले ४ लाख ३० हजारलाई खोप दिने निर्णय गरेका थियौँ । पहिलो प्राथमिकतामा परेका करिब २ दुई लाखले लगाएका छन् । अब हामीले ३ लाखलाई खोप दिने लक्ष्य राखेका छौँ । त्यसपछि कतिलाई खोप दिनेभनेर अर्को लक्ष्य तोक्छौँ । कति मानिसले खोप लगाउँछन्, त्यो लक्ष्यअनुसार खोप लगाउनेको सङ्ख्या तोक्दै जान्छौँ । नेपाल सरकारले खोप आउनुअघि एउटा योजना बनाएको थियो । कहिलेकाहीँ समयअनुसार केही कुरा परिर्वनत हुँदै जान्छ । त्यसैले कुनै पनि योजना १०० प्रतिशत लागू नहुन पनि सक्छ । माग, वितरण, खपतका आधारमा कोरोनाविरुद्धको खोप खरिद, वितरण र भण्डारण प्रक्रियामा हामी अगाडि बढ्छौँ । अहिलेसम्मको नतिजा हेर्दा कोरोनाविरुद्ध खोप लगाउन मानिस इच्छुक भएनन् भन्न मिल्दैन । २ लाख जनाले खोप लगाइसक्नुभएको छ । खोपका बारेमा फैलिएको भ्रमलाई चिर्दै जानुपर्छ । सरकारले अपेक्षा गरेअनुसार खोप लगाउन नआएको खण्डमा कसरी जनचेतना फैलाउने, साँच्चै खोप लगाउन कति इच्छुक छन्, कोरोनाविरुद्धको खोप अनुदान दिन को को तयार छन्, अनुदान दिन तयार भएका राष्ट्रहरूले कति दिन्छन्, सरकारले कति खोप कसरी कहिलेसम्म खरिद गर्ने आदि कुरा विश्लेषण गर्नेछौँ । साथै विगतमा बनाएका योजनालाई क्रमशः परिमार्जन गर्दै लैजान्छौँ ।

धेरै ठाउँमा खोप केन्द्र सदरमुकाममा केन्द्रित भएकाले स्वास्थ्यकर्मी लगायत पहिलो प्राथमिकतामा परेका केही व्यक्तिलाई खोप केन्द्र टाढा भएकाले पनि लगाउनेको सङ्ख्या कम भएको हुनसक्छ । केही स्थानीय तहहरूले गाउँमै खोप दिने व्यवस्था पनि गरेका थिए । कोभिसिल्ड खोप साडइफेक्ट अहिलेसम्म देखिएको छैन । किनभने खोप लगाएर गम्भीरखालका घटनाहरू भएका छैन । तर पनि खोप लगाएपछि केही व्यक्तिलाई स्वास्थ्यमा सामान्य समस्या उत्पन्न भएको खण्डमा अस्पतालमै उपचार तथा व्यवस्थापन गर्न सजिलो हुन्छ भनेर पनि पहिलो चरणको खोप दिँदा खोप केन्द्र अस्पतालहरूमा तोकिएको हो । आगामी दिनमा खोप दिँदा चरणबद्ध रूपमा योजना बनाएर सरकार स्थानीय तहका जनतालाई खोप दिन पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप