बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पर्व दशैंमा कोरियामा भेटिएको नेपालीपन

नियात्रा
बिहीबार, १९ असोज २०७४, ११ : ००
बिहीबार, १९ असोज २०७४

गणेश पौडेल

परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोजेपनि परदेशमा सुख भन्दा दुःखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा  खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ ।  कतिपय यस्तोपनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्नपनि कोरियाली चाडबाड आउनुपर्छ ।
कोरियामा मजदुरीको सिलसिलामा आईपुगेका अर्थात् कर्मथलोमा भेटिएका ‘गोरेटोका सहयात्रीहरू’ मिलेर दुखसुख साट्न हामी दक्षिण कोरियाकै यौटा सामुन्द्रिक टापु छेजुदो जाने निधो ग–र्यौ । संयोग कस्तो परेको भने नेपालीहरुको प्रमुख पर्व दशैंलाई कोरियाली पर्व छुसकसंग अन्र्तघुलित गरेर डेढ दर्जन साथीहरु टापु घुम्न जाने निर्णय गरेका थियौं । 
छेजुको ईतिहाँस पल्टाएर हेर्दा परापूर्व कालमा ज्वालामुखी बिस्फोटन भई छेजु टापु बनेको रहेछ । सानो छेत्रफलमा फैलिएको सामुन्द्रिक टापु छेजुमा घुम्दा भरपुर मनोरञ्जन त हुन्छ नै । मनोरञ्जन संगसंगै केहि नेपालीपन पनि भेटें र तिनै नेपालीपनलाई खोतल्ने  कोसिस गर्दैछु । 
दुःखको सागर विसाउन हामी समुद्री सागर हुदैं छेजुदा्े पुगेका थियौं । वरिपरि समुन्द्रले घेरेको छेजु घुमफिरको लागी निकै आकर्षक लाग्छ । सित्तल हावापानी, पातलो बस्ती, प्यागोडा सैलीका घरहरू, ससाना पहाडहरू र लटरम्म फलेका कृषी बालीले नेपालको झझल्को दिन्छ ।
ट्राभल एन्ड टुर्सको गाडिमा बसेर हामी छेजुका बिभिन्न भुभागहरू घुम्दैगर्दा सबैभन्दा पहिले छेजुको खेतबारिले मलाई स्वदेश सम्झायो । स–साना बारिका गराहरू र गराहरू बार्न नेपालका हिमालीभेगमा ढुङ्गाहरूले पर्खाल लगाएजस्तै छेजुमापनि ढुङ्गाले स–साना आली बाँधेर गराहरू छुट्याईएका रहेछन् र तिनै गराहरूमा कोदो, फापर, साग सब्जीहरू लगाँईदो रहेछ ।
मुख्य सहरलाई छाडेर गाउँ बस्तिहरू नियाल्दा छेजुका घरहरूले नेपालीपनको झल्को दिन्छ । सुन्तला खेतीको मुख्य केन्द्र छेजुको कृषीमा भने आधुनिक प्रबिधी अपनाईए पनि हरिया लटरम्म फलेका सुन्तलाका दाना देख्दा उडेर जो कोहिको मन  नेपाल पुगिहाछ । करिब  तीन सयको  नेपाली रहेको छेजुको टापुमा युवाहरु कृषि कामका लागि त्यहाँ पुगेका रहेछन् । इपिएस मार्फत त्यहाँ पुगेका नेपाली कामदारहरु विशेषतः गाई फर्ममा कार्यरत रहेछन् ।
करिव आधा जनसंख्या बुद्ध धर्मावलम्वी रहेका छेजुमा  ठाँउठाउमा  बौद्ध स्तुपाहरू  छन् । नेपालमा ढुङ्गालाई भगवानको प्रतिकको रूपमा पुजिन्छ भने छेजुमा ढुङ्गालाई सुरक्षाको प्रतिक मानिदो रहेछ । बिकास र आधुनिकताले बलेको छेजु नेपालभन्दा धेरै बिकसित भएपनि छेजुको पुरानो मानव सभ्यताको बिकासक्रम हेर्दा ठ्याक्कै नेपालीपन झल्किन्छ ।

काठको हलो बनाएर घोडाले जोत्नु , कुस खर पराल सुकाएर घर छाउनु , लसुन गहूँ कोदो रोपेर जीबिकोपार्जन गर्नु,  ढुङ्गालाई फलफूल चढाएर पुज्दै सह बोलाउनु, घोडालाई यातायतको साधनको रूपमा प्रयोग गर्नु नेपालीपन झल्काउने विषयहरु थिए । त्यस्तै  हंसिया, नाम्लो, दाम्लो, कुटो, कोदालोहरू सहयोगी हातहतियारको रूपमा प्रयोग , कुमालेले जसरिनै माटोलाई सिप भरेर भाँडा बनाएर प्रयोग गर्नु  छेजुको पुरानो ईतिहाँस रहेछ । हेर्दा ठ्याक्कै हाम्रो घर आगनमा आफैंले भोग्दैआएजस्तो लाग्ने यावत कुराहरू अहिले छेजु संग्राहलयमा कैद छन्  ।
हाल्लासान दक्षिण कोरियाकै ठूलो पहाड हो । यसको चुचुरोमा पुग्न करिव ४ घन्टा पैदल हिंड्नुपर्छ ।  उकालोमा खुई खुई गर्दै हिंडेका फिरन्तेहरू देख्दा कताकता अन्नपूर्ण पदयात्रामा आफ्नै खुट्टा थर्थराएजस्तो लाग्छ ।
सानो तर चिटिक्कको चिया बगानले नेपालको पूर्बी भेग झापामा रहेको चिया बगानको तिर्खा मेटाँउछ ।
कालो बंगुर छेजुको अर्को बिषेशता हो । काठमाडौंका चोकहरूमा धराने कालो बंगुरको सेकुवा बेच्न भनेर खुलेका होटलहरूझैं छेजुका मुख्य सहरहरूमा कालो बंगुरका तस्बिर टाँसिएका रेस्टुरेन्टहरू प्रसस्तै देख्न पाईन्छ ।
ज्वालामुखी बिस्फोटन हुँदा लाभा कुदेको “मान्जाङगुल लाभा ट्युबले पनि धेरथोर नेपालका गुफाहरूको  प्रतिनिधित्व गर्छ  । त्यतिमात्र नभएर यौन चेतनाको जानकारी दिन बनाईएको लभल्याण्ड परापुर्वक कालमा नेपालमा मन्दिरहरूमा कुदिएका टुंडालहरूको नक्कलझै लाग्छ ।
छेजुकै एकभागमा रहेको छन्जियन झरना र झरनासंगै रहेको विद्युतिय पावरहाउसले पनि मन लोभ्याउदै हाम्रै घर छेउछाउमा खोला पहराको झल्को गराँउछ ।
माथिका यावत कुराहरूलाई छाडेर छेजुका आफ्नै बिषेशताहरू पनि छन् । जस्तै समुन्द्रिक छालहरूको मनोरम दृष्यहरू, ज्वालामुखी बिस्फोटन हुदा निस्किएको लाभा जमेर बनेका चट्टानहरूलाई कलात्मक तरिकाले कुदेर बनाईएका सजावटका सामानहरू र मुख्य सडकपेटिहरूमा तिनै लाभाका चट्टानहरूलाई टायल र मार्वलको रूपमा प्रयोग गरिनुले अझै सुनमाथी सुगन्ध थपेझैं लाग्छ । त्यतिमात्र  नभएर काल्पनिक दुनियामा रमेर बनाईएका पार्कहरू, सर्कस घर,  विद्युतिय ईलुजनहरू छेजुको फरक परिचय हुन् ।
मजदुरीकै सिलसिलामा कोरिया आएपनि छेजु एकपटक सबै पुग्नैपर्ने ठाँउ रहेछ ।

 ट्विटर :  @akabare001
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप