शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुल्दै, यही वर्षभित्र लाइसेन्स दिनेगरी तयारी

भन्सार एजेन्ट परीक्षाका लागि महासंघको छुट्टै शर्त
मङ्गलबार, २७ माघ २०७७, ०७ : ३८
मङ्गलबार, २७ माघ २०७७

काठमाडौं । भन्सार एजेन्टको नयाँ लाइसेन्स यही आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले जनाएको छ ।

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको अवस्थामा महामारी कम भएको आँकलनसहित तयारी अघि बढाइएको हो । त्यसका लागि १÷२ चरणको छलफल समेत भइसकेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए । विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ ।

‘हामीले त्यो परीक्षाका लागि पाठ्यक्रम, कार्यविधि, परीक्षा सञ्चालन दिग्दर्शनहरु सबै तयार गरिसकेका छौं । अब सूचना निकाल्ने र परीक्षा लिने काम मात्रै बाँकी छ,’ घिमिरेले भने, ‘अब तत्कालै सूचना निकाल्ने कि केही समय अझै कुर्ने भन्ने भन्ने विषय मात्रै बाँकी हो । संक्रमण घट्दै गएको र खोप आइसकेको अवस्थामा अब तत्कालै विज्ञापन खुल्ने सम्भावना पनि छ ।’ लाइसेन्स परीक्षामा दशौँ हजार परीक्षार्थी सहभागी हुनसक्ने भएकोले यस्तो परीक्षालाई चुनौतीपूर्ण मानिएको घिमिरे बताउँछन् ।

कति जनाले पाउँछन् लाइसेन्स ?

८ सय जनाजति भन्सार एजेन्ट भए देशभरका लागि पर्याप्त हुने भन्सार विभागले आँकलन गरिसकेको छ । त्यसमध्ये अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । अनुमानित आवश्यकता पूरा गर्न ६ सय जनाको हाराहारीमा कोटा तोकेरै नयाँ लाइसेन्स खुला हुनेछ ।

दशौं हजार आवेदन परेको अवस्थामा कोटा निर्धारण नगर्दा हजारौंले लाइसेन्स पाउनसक्ने भन्दै यसले बेथिति बढाउने भन्दै संख्या निर्धारण गरेर खुला प्रतिस्पर्धामार्फत् नयाँ एजेन्ट खुलाउने प्रक्रिया अघि बढ्ने प्रवक्ता घिमिरे बताउँछन् । नयाँ परीक्षा सञ्चालन कुनै पनि कानूनी अवरोध भने नरहेको उनको भनाई छ ।

एजेन्ट थप्न महासंघको शर्त

भन्सार एजेन्टको लाइसेन्स हुन नसक्नुमा यसअघि भन्सार एजेन्ट महासंघको महत्त्वपूर्ण भूमिका थियो । नयाँ एजेन्ट थप्दा अहिले रहेका एजेन्टहरुको रोजीरोटी गुम्ने भन्दै महासंघमा आबद्ध सदस्यहरुले नयाँ भर्ना खुलाउने प्रक्रियाको विरोध गर्दै आएका थिए । अहिले भने महासंघ आफै लाइसेन्स खुलाउनुपर्छ भन्नेमा पुगेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज घिमिरे आफूहरु नयाँ लाइसेन्स खुलाउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सर्वसाधारणदेखि विभागले आफ्नो कुरा बुझ्न मात्रै नसकेको दाबी गरे । ‘नयाँ भन्सार एजेन्टको लाइसेन्स खोल्नुपर्छ भन्नेमा हाम्रो सहमति छ,’ उपाध्यक्ष घिमिरेले भने, ‘नयाँ लाइसेन्स नखुलेको पनि २० वर्ष भइसक्यो । त्यसैले अब तत्कालै खोल्नुपर्छ, नयाँ एजेन्ट आउनुपर्छ । तर व्यवस्थित गरेर खोलौँ भन्ने मात्रै हाम्रो माग हो ।’

व्यवस्थित गर्ने भनेको चाहिँ के हो त ? उपाध्यक्ष घिमिरे भन्छन्, ‘भन्सार एजेन्टको प्रतिनिधि भएर काम गरेका केही अरु मान्छे छन् । उनीहरुलाई एड्जस्ट भन्ने मात्रै हाम्रो माग हो । अहिले यस्तो प्रतिनिधिको संख्या ३ सय जना जति छ । त्यसमध्ये नियमित काम गर्ने एक÷सवा सय मात्रै एड्जस्ट गरे पनि पुग्छ । त्यसपछि प्रतिनिधिको व्यवस्था पनि हटाइदिए हुन्छ ।’

के हो भन्सार एजेन्ट ?

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।

क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नसमेत यस्तो एजेन्टको भूमिका हुन्छ ।

त्यस्तो एजेन्ट बन्न सरकारबाट लाइसेन्स लिनैपर्छ । एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने हरेक काम निकासीकर्ता वा आयातकर्ताले गरेसरह नै हुने व्यवस्था भन्सार ऐनले गरेको छ । तर, एजेन्टले नियतवश गरेको गल्तीको भागिदार भने एजेन्ट नै हुने व्यवस्था ऐनले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप