बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन र बिच्किएको थवाङ

बिहीबार, ०८ असार २०७४, ११ : २४
बिहीबार, ०८ असार २०७४


दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन् । एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउवाको परिवारबाट कोही उठेको छैन तापनि अहिले यो निकै चर्चाको विषय भएको छ । चर्चाको यो विषय जनयुद्धको राजधानी मानिने थवाङ गाउँपालिकाको निर्वाचनमा चुनाव खारेजीको कार्यक्रम गरिरहेको नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट तालमेलका साथ भाग लिएको भन्ने विषयसित सम्बद्ध छ । 


चुनाव र प्रयोगका दृष्टिले रोल्पाको थवाङ ऐतिहासिक स्थान हो । २०३८ सालमा भएको पञ्चायती व्यवस्थाको चुनावलाई पूर्ण बहिष्कार गरेर शून्य मतदानको इतिहास निर्माण गरेको थियो थवाङले । दोस्रो संविधान सभाको निर्वाचनमा पनि शून्य मतदान गरेको थवाङ यसपल्ट के गर्छ ? कसरी जान्छ ? के थवाङले त्यो इतिहासलाई निरन्तरता देला अथवा के गर्ला भन्ने जिज्ञासा सर्वत्र थियो । तर उम्मेदवारको नाम चयनको प्रक्रियासँगै बहिष्कारका नाममा चर्चिच थवाङ नयाँ सन्दर्भले चर्चित बनेको छ । “थवाङ्मा विप्लव समूहले काङ्ग्र्रेससित मिलेर गाउँपालिकामा चुनाव लड्ने” भनेर पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि अहिले यो नयाँ चर्चाको विषय बनेको छ ।  विप्लव समूहले  चुनावमा भाग लियो भन्ने कुराले भन्दा पनि काङ्ग्रेससित मिलेर चुनाव लड्ने भयो भन्ने कुराले बढी चर्चा पाएको  छ । समाचार बनाउनेहरूले २०४६ पछि जनमोर्चाका कार्यकर्तालाई रगतमा औँला चोबेर काङ्ग्र्रेसले किरिया खुवाएको सन्दर्भ पनि जोडेका छन् । 


नाम दर्ताको प्रक्रियासँगै समाचारहरूको ओइरो लाग्न थालेको छ । कसले यो समाचार पहिले ल्यायो र कसरी आयो भन्दा पनि सबै पत्रिका, अनलाइन र सामाजिक सञ्जालहरूमा एकैचोटिजसो समाचारहरू आएका छन्  । केही समय अघिदेखि नै यसपल्ट थवाङमा चुनाव हुन्छ र विप्लव समूहले पनि भाग लिन्छ भनेर समाचारहरू आएका थिए । विप्लव समूहका स्थानीय प्रभावशाली नेताको नामै दिएर “थवाङमा चुनावमा भाग लिने” भनेर समाचार आएका थिए र यसको खण्डन सो समूहले गरेको थिएन । “थवाङमा काङ्ग्र्रेस बाजागाजासहित पस्यो । थवाङीले स्वागत गरे” भनेर पनि समाचार प्रकाशित भएका थिए । यो समाचार पनि निकै टीकाटिप्पणीको विषय बनेको थियो ।  


पहिलो चरणकै निर्वाचनमा सुरक्षा र मतदानका सम्बन्ध प्रहरीका प्रमुखहरूसितको कुराकानी भनेर अनलाइनहरूले विप्लव समूहले पनि स्वतन्त्र उमेदवारका नाममा ठाउँठाउँमा चुनावमा भाग लिने तयारी गरेको कुरा प्रहरी स्रोतले जनाएको भनेर उल्लेख गरेका थिए । कालिकोटमा मतदान समाप्त भएर हिँड्ने बेलामा गोली चलेर राप्रपाको तर्फबाट उठेको वार्ड सदस्य मारिँदा केही प्रश्न उठेको थियो । अझ राप्रपाको उमेदवारको मृत्युलाई लिएर एकीकृत क्रान्तिको पहिलो सहिद भनेर मूल नेताकै वक्तव्य आउँदा थुप्रै प्रश्नहरू उठेका थिए । यो सन्दर्भले स्थानविशेषअनुसार सो समूह कतै स्वतन्त्रका नाममा र कतै खास पार्टीको चुनाव चिन्हमा चुनावमा सहभागी भएको भनेर गरिएका टिप्पणीहरूप्रति विश्वास गर्नका लागि आधार मिलेको थियो । 


यस किसिमको स्थितिमा थवाङको चुनावसित जोडिएर समाचार आउँदा कालिकोटमा राप्रपालाई प्रयोग गरेझैँ थवाङमा विप्लव समूहले काङ्ग्रेसलाई प्रयोग गरेको रहेछ भनेर तर्क गर्न सकिने स्थिति बन्यो । विप्लव समूहको नाममा देखिएको चुनावी सहभागिताको समाचारलाई नेपालका कर्पोरेट हाउसबाट सञ्चालित माध्यमहरूलगायत सबै माध्यमहरूले प्रकाशमा ल्याए । फूलबुट्टाका साथ आएको  यो समाचार विशेष चर्चाको विषय पनि बन्यो ।  ‘अनलाइन खबर’ ले “रोल्पामा ३ उदेक !  ‘वर्ग दुस्मन’सँग विप्लवको तालमेल” भनेर लेख्यो । सेतोपाटीले “काङ्ग्र्रेस र विप्लव माओवादीबीच चुनावी तालमेल गर्ने गोप्य सहमति” भनेर लेख्यो ।  प्रयोगलाई महत्व दिने विप्लवले बडो नापीतौली गरेर थवाङमा गरेको प्रयोग हो भन्दै “थवाङबाट विप्लवको नयाँ राजनीतिक परीक्षण” भनेर रातोपाटीमा नेत्रपन्थीको लेख नै आयो । 


यस किसिमको  समाचारप्रति सबैभन्दा बढी आकर्षण माओवादी केन्द्र र वैद्य समूहमा देखियो । उनीहरूका प्रचारमाध्यमहरू र उनीहरूसित सम्बद्ध पत्रकार तथा कार्यकर्ताले युद्धस्तरमै प्रचार गरेको देखियो । उनीहरूले विप्लव समूहले थवाङको चुनावमा भाग लिएको भन्ने समाचारलाई लिएर ठूलै मोर्चामा युद्ध जितेको जस्तो खुसी मनाएको देखियो । यसबाट विरोधी मात्र होइन, माओवादी भनिनेहरू पनि विप्लवसमूहसित जोडिएको  समाचारबाट आनन्दित भएका रहेछन् भन्ने थाहा भयो । वास्तवमा विप्लव समूहले चुनावमा भाग लियो भन्दा पनि कोसित यसले तालमेल गर्यो  भन्ने कुराले बढी चर्चा पायो र प्रश्न पनि यसैले बढी उठायो । 
विप्लव समूहले चुनावमा भाग लिएको होइन र छैन र तालमेलको त झन् कुरै छैन । यो सबै सो समूहलाई बदनाम गराउने षड्यन्त्र हो भन्न सकिएला । तर केही खाली ठाउँहरू छन्, जसमा उभिएर विप्लव समूह र उसको चुनावसम्बन्धी गतिविधिबारे प्रश्न उठाउन सकिन्छ । 


चुनाव कार्यनीतिक प्रश्न हो । लेनिनलाई अघि सारेर चुनावमा भाग लिने तर्क गरिन्छ । माओलाई अघि सार्ने हो भने यो सोझै अवसरवादी लाइन हो र संसदवादी लाइनतिरको यात्रा हो । यसका लागि माओको ‘महाविवाद’ र ‘सांस्कृतिक क्रान्तिकाल’का रचना पढे पुग्छ । र पनि कुनै पनि देशको विशिष्ट अवस्थामा क्रान्तिलाई सहयोग पुग्छ भने चुनावलाई प्रयोग गर्न सकिन्छ भन्ने धारणा अघि सार्दै आइएको छ । सकिन्छ भने क्रान्तिकारीहरूले यो बुर्जुवा चुनाव बहिष्कार गर्ने नै हो । भाग लिने भनेको यसैमा रमाउने हो र विस्तारै क्रान्तिको तयारीको आधारभूत पक्षबाट टाढिँदै जाने हो । सही बाटो बहिष्कार  नै हो, परन्तु योसित नयाँ क्रमभङ्गको तयारी गाँसिनु अनिवार्य हुन्छ । खारेजी र नयाँ क्रममभङ सँगैसँगै आउनुपर्छ, नत्र बहिष्कारका  लागि बहिष्कार मात्र हुन्छ, यस किसिमको बहिष्कारको केही अर्थ छैन, यसले त विसर्जन मात्र निम्त्याउँछ । 


त्यसैले बहिष्कारपछि अब के भन्ने प्रश्नको उत्तर पनि क्रान्तिकारीहरूसित हुनुपर्छ । अहिलेको स्थानीय निर्वाचन विशेष राजनीतिक कोर्स पार गरेर आएको अलि विशिष्ट किसिमको निर्वाचन हो । यो केन्द्रीय सरकार बनाउने चुनाव पनि होइन । अहिले आधारइलाका र मुक्त क्षेत्र नभएको अवस्थामा कतै पनि शून्य मतदानको स्थिति सम्भव छैन । पार्टी पङ्क्ति र कार्यकर्ताको रक्षा गर्न र आधारभूत योजनालाई अघि बढाउन राजनीतिक कित्ता प्रस्ट हुने गरी प्रचारात्मक रूपमा बहिष्कार अभियानलाई तीव्र पार्ने र नयाँ तयारी गर्ने कुरा नै सही हुन् ।  आफ्नो पकड र प्रभाव भएको ठाउँका विरोधी राजनीति र संस्था घुस्ने र चलखेल गर्ने वातावरण नबनोस् भन्नका लागि कतिपय स्थानमा स्वतन्त्र उमेदवारमार्फत चुनावको प्रयोग पनि गर्न सकिन्छ । यसलाई पनि योजनाबद्ध र वैज्ञानिक किसिमले व्यवहार कुशलतापूर्वक लैजानुपर्छ ।  कालिकोटमा विप्लव समूहले गरेको जस्तो प्रयोगले भने प्रश्न उठाउनु स्वाभाविक हुन्छ । यस्तो प्रयोगले उल्टै पार्टीको छवि बिग्रिन्छ । 


वैद्य समूहले त क्रान्तिकारी उपयोग नै गरेन । यो त आफैँमा हरायो–अन्योलग्रस्त । कतिपय ठाउँमा यसका नेतादेखि कायकर्ताले अघिल्लो संविधान सभाको अनुभव चाहिँ ‘राम्रोसित’ प्रयोग गरे ।  यस मामिलामा विप्लव समूह पनि विवादरहित हुन सकेन । कालिकोट सन्दर्भमा विवादमा आएको सो समूह थवाङ सन्दर्भमा निकै नराम्रो गरी विवादमा फस्न पुगेको छ । यसले आफूलाई प्रस्ट पार्ने प्रयास गरे पनि कालिकोटलगायत अन्य सन्दर्भका कारण विश्वासको स्थिति बन्न सकेको छैन । खारेजी कार्यक्रमलाई लागू गर्दा आइपरेका सैद्धान्तिक तथा व्यावहारिक सन्दर्भलाई विप्लव समूहले वैज्ञानिक किसिमले समीक्षा गर्नु आवश्यक छ । 
अहिलेको विशिष्टतामा थवाङले चुनावमा भाग लिन्छ भनेर विप्लव समूहका कार्यकर्ताले अगाडिदेखि नै भन्दैआएका र माध्यमहरूले सार्वजनिक गरेका कुरा हुन् र अहिले त्यसैअनुरूप समाचार पनि आए । अमित घर्ती एक्लैले यस किसिमको निर्णय गरे भन्न सकिँदैन । यो निर्णय थवाङले गर्यो भन्नुपर्ने हुन्छ ।  समाचार समाचार आम पाठकबीच पुगेपछि त्यो सार्वजनिक चासो र टिप्पणीको विषय बन्छ । त्यसको सामना फेसबुकमा गाली गरेर होइन, सत्यतथ्यका साथ गर्नुपर्छ र स्थानीय तहबाट नभए केन्द्रबाट समयमै त्यसलाई प्रष्ट पार्नुपर्छ ।  


केही दिनअघि इच्छुक प्रतिष्ठानले गरेको कार्यक्रममा मोहन वैद्यले “सत्रु चिन्न गारो भयो कोसित लड्ने र कसरी क्रान्ति गर्ने” भने भनेर सबैभन्दा पहिले विप्लव समूह नजिकको माध्यमबाट समाचार आएको थियो र अन्य माध्यमहरूमा फैलिएको थियो । यसमा विप्लव नजिकका माध्यमहरू बढी रमाएको र कार्यकर्ताले पनि स्वाद लिइलिई समाचार पढेको देखियो । प्रचण्ड स्वयम् र उनको पार्टी माओवादी केन्द्रप्रति वैद्य कहिल्यै पनि आक्रमक रूपमा प्रस्तुत हुँदैनन् भनेर टीकाटिप्पणी हुने गरेको सन्दर्भमा सो दिन पनि मोहन वैद्यको प्रचण्ड र उनको पार्टीप्रति नरम भाव थियो भन्ने कुरा कार्यक्रममा उपस्थितहरूबाट पनि बाहिर आयो । दिउँसो चार बजेको यो समाचारको बेलुका दस बजेसम्म वैद्यका माध्यमहरूले खण्डन गर्नु आवश्यक ठानेनन्, अथवा वैद्यले यसो भनेका हुन् भनेर यथार्थ बाहिर ल्याउनु आवश्यक ठानेनन् । यसैबीच वैद्यले बोलेको कुरा भनेर अडियो पनि बाहिर आयो । 


यस्तो बेला पाठक र स्रोताले खास धारणा बनाउँछ भने यो समस्या पाठकको होइन, टिप्पणी उठाउनेहरूको पनि होइन । समस्या आफ्नो कुरा सन्ध्या भाषामा राख्ने नेता तथा उसको सही भनाइलाई समयमै पाठकसमक्ष नल्याउने उसका माध्यमहरूको हो । अहिले थवाङसित जोडिएर आएका समाचार पनि यस्तै खालका छन् । अझ थवाङका समस्या त विरोधाभासी छन्– पार्टीको सहमतिमै गरेजस्तो पनि र ‘विद्रोह’ गरेजस्तो पनि । अझै पनि कतिपयले यो सबै नाटक हो र थवाङ र विप्लव समूहको सन्दर्भ सबै कुरा पार्टीको योजनामा भएका हुन् भनेर लेखिरहेका छन् ।   


चारैतिर प्रश्न उठेपछि खण्डनका कुरा आएका छन् । विप्लव समूहका रोल्पाका सेक्रेटरीको पार्टीले भाग लिएको छैन भनेर वक्तव्य आएको छ ।  भाग त पार्टीगत रूपमा वैद्य समूहले पनि लिएको छैन ।  विप्लव समूहको आधिकारिक मुखपत्र ‘इरातोखबर’ ले राप्ती ब्युरो इन्चार्ज शीतलको अन्तर्वार्तामार्फत “कुनै बेला पार्टीमा रहेका, आज कुनै तहमा नभएका र अरू पार्टीसँग साँठगाँठ भएका केही लोभीपापी र लफङ्गाहररूले पार्टीलाई बद्नाम गरेर निजी स्वार्थपूर्ति गर्न खोजेका हुन् । स्थानीय पार्टी केन्द्रका नीतिमा अविचलित छ” भनेर खण्डन गरेको छ । 


नेपालको कम्युनिस्ट आन्दोलनमा अघिल्लो दिनसम्म महान् क्रान्तिकारी र त्यागी हुने र आफ्नो पार्टी छाड्ने बित्तिकै पलायनवादी, संशोधनवादी, गद्दार भन्ने चलन नै छ । यो संस्कृति बनेको छ । पार्टीमा छउन्जेल र आफूले भनेअनुसार चलुन्जेल आधार इलाका र थवाङको महान् परम्परा धान्ने कम्युनका नायक, युवा जुझारु नेता भन्ने र अनि अलिकति कुरा नमिलेपछि लफङ्गा र पलायनवादी, व्यक्तिवादी भन्ने गरिन्छ । नेताले भनेअनुसार नहिँडेपछि क्रान्तिकारी पनि रातारात महान् लफङ्गामा फेरिन्छ ।  इमानदार, पुराना, भद्र र निष्ठावान प्रताप कमरेडबारे शीतलहरूले प्रश्न उठाउँदा थवाङवासी मात्र नभएर प्रतापलाई चिन्ने सबै हाँस्नु स्वाभाविक छ ।
  पछिल्लो  समाचारअनुसार आफूलाई नेकपाकै कायकर्ताका रूपमा प्रस्तुत गरेर, त्यसैअनुरूपको टिसर्ट लगाएर नेकपाका विद्रोहीहरू भोट मागिरहेका छन् । यसबारे ‘यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको वारपार’ शीर्षक दिएर ‘रातोपाटी’ अनलाइन लेख्छ ः “नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिकामा स्थानीय निर्वाचनमा भाग लिएको देशविदेशमा चर्चा भइरहँदा रोल्पाको वास्तविकता यस्तो छ कि, धेरै स्थानमा नेकपाका कार्यकर्ताले निर्वाचनमा भाग लिएका छन् । त्यसमा कतै काङ्ग्र्रेसको चिन्ह लिएर त कतै स्वतन्त्र चिन्हमा निर्वाचनमा भाग लिएको कुरा हिजोआज टोलटोलमा चर्चाको विषय बनेको छ ।”  


समाचारको प्रतिवाद गर्दै विप्लव समूहलाई बदनाम गर्न ‘माओवादी केन्द्र’ को कार्यालय पेरिस डाँडामा अमुकअमुक बैठक बसेर यसो गरे उसो गरे भनेर पनि  सामाजिक सञ्जालमा प्रतिक्रिया आएको छ ।  यस्तो गोप्य बैठकको सूचना  पेरिस डाँडासित राम्रो सम्बन्ध नबनाई सम्भव पनि हुँदैन । “क्रान्तिकारी आधारइलाका थवाङमाथि बज्रिएको साम्राज्यवादी गोवल्स प्रचार ड्रोन” जस्ता समाचार पनि आएका छन् । चिन्ता व्यक्त गर्ने कुरा स्वाभाविक हो ।  परन्तु अरूमाथि प्रश्न उठाउनुभन्दा आफूहरू कहाँनेरि चुकियो भनेर  सत्यबाट तथ्य पत्ता लगाउनु पनि आवश्यक हुन्छ ।  किरणको ‘सत्रु हराएको’ सन्दर्भ आम टीकाटिप्पणीको विषय भएको बेला उनका पक्षधर भनिनेहरू बुरुबुरु उफ्रेझैँ थवाङ सन्दर्भलाई लिएर विप्लवका फेसबुकेहरू पनि विप्लवभन्दा महा विप्लव भएर गालीगलौजमा उत्रेको पाइन्छ । यसले सो पार्टीको सांस्कृतिक धरातललाई प्रतिविम्बित गर्छ ।


सत्य के हो भने थवाङ गिजोलिएको छ । थवाङ पनि हिजोको थवाङ रहेन र बेवारिसे जस्तो छाडेपछि रहन पनि सक्तैन  । माओले पनि चिङकाङसान छाडेर पछिका दिनमा एनान रोज्नुभएको थियो । अहिले खारेजी र  उपयोगका सन्दर्भमा थवाङले उपयोगलाई छान्यो र उपयोग भनेको जित्नु हो भनेर तालमेलको बाटो रोजेको हुनुपर्छ । थवाङले थवाङबाट बसाइ सरेर गिद्धका गुँडहरू बनाएकाहरूलाई  पनि राम्रोसित देख्यो । थवाङले थवाङ छाडेर काठमाडौँमा बसेर महँगा मेडिकल इन्स्टिच्युटमा कोही छोराका लागि र कोही छोरीका लागि पठनपाठनको चाँजोपाँजो बनाउने नेताहरूलाई पनि देख्यो । वास्तवमा काठमाडौँमा बसेर थवाङलाई निर्देशन दिने, हाँक्न खोज्ने र नियन्त्रित गर्न खोज्ने प्रवृत्तिले थवाङलाई  बिच्क्यायो । रोल्पा र थवाङसित जोडिएर कोही काठमाडौँको रमझममा रमाउने र कोही इतिहास च्यापेर भोकै बस्नुपर्ने नियतिले सायद रोल्पालाई विद्रोही बनायो । गिजोलियो रोल्पा, बिच्कियो थवाङ । २०३८ सालमा मोहन विक्रमले धोका दिएको, मोहन वैद्यलाई नेता माने पनि उनले प्युठान, अर्घाखाँची र दाङबाहेक अरूलाई आफ्नो नठानेको पीडा खेपेको थवाङ र मुखले माने पनि प्रचण्डलाई कहिल्यै पनि हृदयले आफन्त नठानेको थवाङले विद्रोह गरेकै हो । 


थवाङको स्थिति, त्यसको ऐतिहासिकता र  जनताको मनोवैज्ञानिक पक्षलाई बुझेर त्यहाँको विशिष्टतामा नीति र योजना बनाउनुपर्नेमा थवाङ्गेलीलाई लफङ्गा भनेर ब्युरो इन्चार्ज शीतल  जसरी प्रस्तुत भए, प्रतापजस्ता पात्रमाथि उनी जसरी खनिए । यसले झन् नकारात्मक असर पर्ने कुरा प्रस्ट छ । पार्टी फुट्नुअघि नै दाङका भित्तामा ‘महान् नेता विप्लव जिन्दावाद !’  लेख्ने शीतलहरू विप्लवका प्यारा त हुनसक्लान तर प्रतापहरूको उचाइलाई भने छुन सक्तैनन् । गाँठाहरू नराम्रो गरी जोल्ठिएका छन् र सहज किसिमले खोल्न गारो छ । थवाङबाट काठमाडौँ सरेका नेतालाई थवाङले टेरेन । किन टेरेन भनेर उत्तर खोज्नु जरुरी छ ।


यथार्थतः चुनाव खारेजीको नीति, योजना र कार्यक्रमलाई ठीक ढङ्गले  प्रयोग गर्न नसक्ताको परिणामहरू हुन् कालिकोट र थवाङका परिघटनाहरू । अरूलाई दोष दिने र थवाङको सन्दर्भलाई साम्राज्यवादीहरूसित लगेर जोड्ने कुरा भन्दा आफूमा के समस्या रहे भन्ने कुराको बोध हुनु प्रधान कुरा हो । किरण निस्पृहतामा छन् । पोष्यपुत्रहरूको कोटरी नै उनका लागि सर्वस्व हो, उनी त्यहीँ रमाएका छन् र रमाइरहन्छन् । हिजो भावनात्मक कुरा गरेर थवाङ्गीलाई छक्याएका प्रचण्डका लागि थवाङ क्रीडास्थल मात्र हो । थवाङले विप्लवबाट आशा त गरेको थियो तर, यसको ऐतिहासिक विरासतलाई वर्तमानको विशिष्टासित जोडेर निरन्तरता दिने कुरामा विप्लव समूहमा वैज्ञानिक सोचभन्दा यान्त्रिकता बढी देखियो । विप्लव समूहले खारेजीको लुगा त लगायो तर सारै पातलो लुगा लगायो । पातलो लुगाले सबै चीजबीजहरू छ्याङछ्याङती देखिनु स्वाभाविक थियो । अहिले रोल्पामा देखिएको कुरा यही हो । 

यो भनेको जनताका दुस्मनका लागि खुसीको कुरा हो र तपाईँहाम्रा लागि पीडाको विषय हो । यो शिक्षा पनि हो र चुनौती पनि । प्रश्नहरू छन्ः साँच्चै रोल्पाको पुरानो विम्ब गल्र्यामगुर्लुम भएकै हो ? के यो नयाँ बिम्ब निर्माणतिर लागेको हो ? कस्तो होला नयाँ विम्ब ? हेरौँ आउँदो समयले के भन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. ऋषिराज बराल
डा. ऋषिराज बराल
लेखकबाट थप