शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भयो नेपाल रेडक्रसको जग्गा खरिदमा ‘आर्थिक घोटाला’

बुधबार, १८ असोज २०७४, १६ : ५०
बुधबार, १८ असोज २०७४

काठमाडौं– विपतमा परेकालाई राहत दिने उदेश्यले स्थापना भएको नेपाल रेडक्रसका जिम्मेवार पदाधिकारीले रेडक्रसको मुल्य मान्यतालाई तिलाञ्जली दिएका अनेकौ तथ्यहरु विच अर्को घोटाला काण्डको पर्दाफास भएको छ । त्यो हो गोदामघरका लागि जग्गा किन्दा भएको घोटला । जानकारहरुका अनुसार आर्थिक चलखेल गर्ने मनशायले नेपाल रेडक्रसले किनेको जग्गा महँगो मात्रै होइन, अनुपयुक्त र कमसल पनि हो । 

२०७२ को महाभुकम्प पश्चात दातृ निकायहरुबाट संकलन गरिएको रकमबाट नेपाल रेडक्रसले गोदामघरका लागि जग्गा किन्ने निर्णय गरेको थियो । 
यसमा नेपाल रेडक्रसका पदाधिकारीको बदनियत पत्रिकामा विज्ञापन गरेकै दिनदेखि शुरु भएको देखिन्छ । सामान्यतयाः  ५, १० ,१५ वा  २० हुँदै बाटोको किलोमिटरको दुरी किटान गरि बोलपत्र आव्हान गरिन्छ । तर , नेपाल रेडक्रसले बढिमा १६ किलोमिटर आसपासको सडकले छोएको  जग्गा खरिदको आव्हान गरेको थियो । १६ किलोमिटरको आसपासको जग्गा किटान गर्नुको नियत थियो – ‘आफु अनुकुलको जग्गा किनेर आर्थिक चलखेल गर्नु ।’

उपत्यकामा जग्गाको प्रस्ताव माग्दै गत वर्षको भदौ २२ गते कान्तिपुर दैनिकमा  सूचना प्रकाशित गरिएको थियो । जग्गाका लागि १० प्रस्ताव परेको थिए । प्राप्त प्रस्तावहरुको अवलोकन तथा नाँपजाँच गर्न २०७३ असोज ७ मा नेपाल रेडक्रसको सोसाइटीको व्यवस्थापन समितीले कर्मचारीहरुको एक समिती बनायो ।

अवलोकन तथा नाँपजाँच गर्न भन्दै रेडक्रसका आर्थिक तथा स्रोत व्यवस्थापनका कामु निर्देशक धर्मदत्त बिडारीको संयोजकत्वमा ६ सदस्यीय समिती बनाईयो । समितीमा नेपाल रेडक्रसको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरु ईश्वरी रेग्मी ,मदनकृष्ण फोजु ,हरिमोहन श्रेष्ठ,मायानाथ बराल र जालन्धर सिंह ठकुरी थिए । 
प्रस्तावित १० जग्गाबाट छैटौं महँगो राजेश देशेमरुको प्रस्तावलाई स्विकारियो । देशेमरुको जग्गा नेपाल रेडक्रसले आव्हान गरे अनुरुप राजधानीबाट १६.५ किलोमिटरमा पर्दछ । देशेमरु मार्फत किनिएको  चार कित्तामा ५ रोपनी १३ आना ३ पैसा जग्गा रहेको छ । नियमावली अनुसार २५ लाखभन्दा बढीको खरिदमा कम्तीमा एक महिनाको अवधि दिएर सूचना निकाल्नुपर्ने हुन्छ । तर नेपाल रेडक्रस सोसाईटीले नियमावली विपरित  १५ दिनको म्याद दिएर सुचना प्रकाशित गरेको थियो । 

देशेमरुसँगको नेपाल रेडक्रसका पदाधिकारीको मिलेमतो पुष्टि हुने गरि कारोवार गरिएको छ । अन्य सस्तो जग्गा छनौट नगर्नुको कारण विवादित, दुरी टाढा, सम्याउन खर्चिलो ,उकालो ,ओरालो र साँघुरो कारण देखाई अस्वीकार गरियो । जग्गा प्रस्तावक मध्यका एकलाई पटक पटक फोन गर्दा पनि सम्पर्कमा नआएको मुल्यांकन समितीले उल्लेख गरेको छ । तर देशेमरुको प्रस्तावमा कुनै नराम्रो पक्ष जाँचबुझ समितीले देखाएन । देशेमरुको प्रस्तावित जग्गाको नराम्रो पक्षमा खाली राखिएको छ । 

स्रोतका अनुसार नेपाल रेडक्रसका पदाधिकारीले नक्कली प्रस्तावक बनाई देशेमरुलाई खडा गरेका थिए । भक्तपुर ४ मा अवस्थित कालोपत्रे बाटोसंगै रहेको  १४ आना ३ पैसा जग्गासँगै पछाडि रहेका कित्ताहरु ‘सस्तो’ रहेपनि बराबर दरले किनिएको छ । टेण्डरका लागि खडा गरिएका देशेमरुले अन्य व्यक्तिका जग्गा बिक्रीका लागि टेण्डर हालेका थिए ।

अर्काको जग्गा विक्री गरेका देशेमरुलाई नेपाल रेडक्रसले भुक्तानी गरेको छ । जगतमाया दुवालको ८६३ कित्ताले मात्रै पिच बाटोलाई छोएको छ भने भक्तपुर ४  मा पर्ने राम दुवालको ४९६, हरिराम सुकुपायो र हरिकृष्ण सुकुपायोका ५८१ र ४९७ नम्बर कित्ताका जग्गाहरु सडकसंग जोडिएका छैनन् । अन्यको जग्गालाई  देशेमरुले आफ्नो नाममा पैसा लिएर रेडक्रसलाई पास गरिदिएका थिए । 

नेपाल रेडक्रसलाई बाटोले छोएको र भित्री भागमा रहेको जग्गालाई समान प्रति आना  छ लाख ७५ हजारमा बेचिएको छ । छ करोड ३२ लाख देशेमरुलाई नेपाल रेडक्रस मार्फत चुक्ता गरिएको छ । तर देशेमरुले प्रस्ताव गरेको टेण्डरमा पाँच करोड ६५ लाख मात्रै उल्लेख छ । देशेमरुले भन्दा कम दरका प्रस्तावकहरुलाई लत्याइएको छ । ‘३८ फिट मोहडा भएको जग्गाको मुल्य अनुसार अन्य पछाडीका कित्ताहरुको मुल्य राख्नु आर्थिक चलखेल हो ’ स्रोतले बतायो । श्रोतका अनुसार रेडक्रसको जग्गा खरिदमा एक करोड ६२ लाख ७५ हजार ५६३ रुपयाँ ५० पैसा अनियमितता गरिएको छ ।

अर्को रोचक पक्ष प्रस्तावहरुको सुची तयार गर्दा देशेमरुको प्रस्ताव गरेको जग्गाको मुल्य लेखिएको छैन । जग्गाको कित्ताहरु केरमेट गरिएको छ । १५ दिनको म्याद राखी प्रस्ताव आव्हान गर्नु, ३८ फिट मोहडाको जग्गाको बराबर पछाडीका जग्गाको मुल्य तोकिनु र किनिएको जग्गाको प्रस्तावकको सुचिमा केरमेट गरिनु आर्थिक अनियमितताका बलियो आधार रहेको स्रोतको दावी छ । 

नेपाल रेडक्रसको ब्लड बैंक अवस्था, भ्रष्टचार तथा अनियमितताका खवर प्रकाशित हुँदा दुःख लागेको नेपाल रेडक्रसकी निर्देशक मोना अर्यालले बताइन् । अर्यालले स्वास्थ्य विभागमा कार्यरत रहेकोले गोदामका लागि किनिएको जग्गाबारे आफु अनभिज्ञ रहेको जवाफ पनि दिइन् । नक्कली प्रस्तावक बनेका देशेमरुले व्यस्त रहेको भन्दै सम्पर्कमा आउन चाहेनन् । नेपाल रेडक्रस जग्गा खरिदको अनियमितताका विषयमा अख्तियारमा उजुरी पनि दर्ता भैसकेको छ । दर्ता नम्बर १६४२८ रहेको उजुरी गत चैत ६ मा दर्ता गरिएको हो । रेडक्रसमा भएको आर्थिक अनियमितताबारे लगातार तथ्यांकसहितका समाचार प्रकाशित हुन थालेपछि रेडक्रस पदाधिकारीहरु छटपटिन थालेको श्रोतले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप