शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एकैदिन १४४९ को मृत्यु

मङ्गलबार, २० माघ २०७७, २३ : ३१
मङ्गलबार, २० माघ २०७७

लन्डन  । बेलायतमा विगत दुई दिनदेखि कमी हुँदै आएको  कोरोना संक्रमितका मृतकको संख्या  मंगलबार   झन्डै तीन गुणा बढी पुगेको  छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले  दिएको जानकारी अनुसार मंगलबार थप १४ सय ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन सोमबार ४३७ को मृत्यु भएको थियो भने आइतबार ५८७ जनाको मृत्यु भएको थियो ।

अघिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा तीन गुणा बढीले वृद्दि भएको हो  । पछिल्लो एकसाताभित्र सात हजार ८५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ  ।

यसैगरी पछिल्लो २४ घन्टामा १६ हजार ८४० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन सोमबार संक्रमित संख्या १८ हजार भन्दा बढी थिए  । नयाँ थपिएसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ५२ हजार ६२३ पुगेको छ । गएको एकसातामा मात्र एक लाख ६२ हजार ८७७ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  । हाल यहाँका अस्पतालमा ३२ हजार ४६६ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ७२६ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

एक करोड डोज भन्दा बढी खोप वितरण

मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोडभन्दा बढो डोज खोप वितरण गरिसकिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार हालसम्म ९६  लाख ४६  हजार ७१५ जनाले खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये चार लाख ९६ हजार ७९६ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हाल फाइजर(बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप