शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक चमत्कारः यसरी भए एमाले, माओवादी, नयाँ शक्ति एक ठाउँ (भिडियोसहित)

मङ्गलबार, १७ असोज २०७४, २१ : १९
मङ्गलबार, १७ असोज २०७४

काठमाडौं– मंगलबार साँझ ५ बजे काठमाडौको राष्ट्रिय सभागृहको हल खचाखच भरिएको थियो । कार्यक्रमका लागि मञ्च ब्यवस्थापनको काम पनि भइरहेको थियो । रेडियो, टेलिभिजन तथा सोसल मिडियामा प्रत्यक्ष प्रशारण शुरु भइसकेको थियो ।

कार्यक्रमका लागि समय तोकिएको साँझ ५ बजे भन्दा झन्डै आधा घन्टा ढिलो ५ः३३ बजे कार्यक्रमका मुख्य आकर्षण एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई एकसाथ मञ्चमा छिर्दा हल ताली र सिट्टीले गुञ्जायमान भयो । 

कार्यक्रम अरु बेलाको भन्दा धेरै फरक थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेला बेला भन्ने गरेको चमत्कारपूर्ण नै थियो । सधैं एक अर्कालाई देखिनसहने दुई एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया शुरुवातको घोषणा सभा । जसमा माओवादीबाट फुटेर गएका डा. बाबुराम भट्टराईको नयाँ शक्ति पनि मिसिएको थियो । अचानक घोषणा गरिएको एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यसहितको कार्यक्रमलाई धेरैले चमत्कारको रुपमा लिए । 

कार्यक्रममा एमाले, माओवादी र नयाँ शक्तिका शीर्ष नेताहरु मञ्चमा थिए । अग्रपंक्तिमा दायाँबाट क्रमशः कृष्णबहादुर महरा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र भीम गौतम बसेका थिए । पछिल्ला दुई लहरमा तीन पार्टीका अन्य नेताहरु बसेका थिए । 

कार्यक्रमको शूरुमा माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री जर्नादन शर्माले तीन दलबिच भएको ६ बुँदे सहमति पत्र बाँच्न गरेका थिए । सहमतिपत्रको प्रत्येक बुँदामा सभाहलमा उपस्थित भएका दलका नेता कार्यकर्ताहरुले ताली र सिटी बजाएर स्वागत गरेका थिए । मन्त्री शर्माले सहमतीपत्र बाचन गरेपछि तीन अध्यक्षहरु ओली, दाहाल र भट्टराईले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी एक अर्कालाई वितरण गरे । 

प्रत्यक्ष निर्वाचित कार्यकारीमा सहमती ः डा बाबुराम भट्टराई  

कार्यक्रममा सबैभन्दा पहिला बोल्ने पालो पाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टीहरु बिचको एकतालाई इतिहासको आवश्यकताको संज्ञा दिए । उनले इतिहासका कालखण्डमा एउटा पुस्ताले भूगोल एकीकरण गरेको अर्को पुस्ताले लोकतन्त्र स्थापना गरेको भन्दै अबको पुस्ताले प्रगतिशील समुन्नत समाजवादतर्फ देशलाई लैजानपर्ने आवश्यकता रहेको बताए ।

उनले देशमा सुशासन, सदाचार, भौगोलिक एकता कायम गर्दै इन्द्रधनुषी राष्ट्रिय एकता गर्नुपर्ने औल्याए । मंसिरमा हुन लागेको निर्वाचन मार्फत दुई तिहाई बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था गर्नुपर्ने बताँउदै प्रत्यक्ष निर्वाचितको पक्षमा सहमति समेत भइसकेको बताए । देशमा जनताले शान्ति र स्थीरताको अपेक्षा गरेको भन्दै उनले ३ पार्टीको एकीकरणले त्यसलाई पूर्णतामा पु¥याउने बताए । 

पुष्पकमल दाहाल प्रचण्ड ः एकता ऐतिहासिक आवश्यतकताबाट निर्देशित   

तीन दलबिचको सहमती घोषणा सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि निरन्तरतामा क्रमभंग गरेको बताए । उनले कम्युनिष्ट पाटीहरुबीचको एकता ऐतिहासिक आवश्यकताद्धारा निर्देशित रहेको बताउँदै १० वर्षअघि एमालेसँग एकीकरण लागि पहल भएको स्मरण गरे । उनले भने–‘राजनीति धेरैहदसम्म संभावनाको खेल हो, राजनीतिमा सम्भव नदेखिएका कुराहरु पनि हुन्छन्, कतिपय संभव देखिने कुरा पनि हुनसक्दैन्, आज त्यही असम्भावना देखिएको कुरा संभव हुँदैछ ।’

उनले कम्युनिष्ट पार्टीहरुबीचको ध्रुवीकरण कसैकाबिरुद्ध परिलक्षित नभएको बताउँदै नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा रहेको उल्लेख गरे । नेपाली कांग्रेसलाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले यो एकतालाई आफ्नो विरुद्धमा भएको नठानन समेत आग्रह गरे । उनले भने– ‘यो एकता कसैको बिरुद्धमा परिलक्षित छै्रन, नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा छ, कोही भ्रमित हुन आवश्यक छैन ।’

उनले समाजवादतर्फ उन्नमुख एउटा सम्मुन्नत राष्ट्र निर्मार्णका लागि विश्वलाई नै एउटा सन्देश दिन पार्टी एकताको अभियान शूरु गरेको बताए । उनले भने– ‘हामी २१ औं शताब्दीको समाजवादको एउटा मोडेल बनाएर विश्वलाई एउटा उदाहरण दिन सक्छौँ ।’ उनले आगामी निर्वाचनमा खाली ३ पार्टीकाबीचमा मात्र चुनावी तालमेल गरिएको नभई सबै परिवर्तनका शक्तिसँग तालमेल गर्ने बताए । कम्युनिष्ट इतरका तर परिवर्तनकारी शक्तिसँग तालमेल गरेर बाँकी रहेको क्षेत्रमा एमाले र माओवादी बिच ६०÷४० को भागबन्डा हुने बताए । 

केपी शर्मा ओली ः देश र जनताका लागि एउटै कम्युनिष्ट पार्टी 

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतिहास रचनाको नयाँ अध्याय प्रारम्भ गरेको बताँउदै देश र जनताप्रति सर्मपित एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि तीन पार्टी सहमत भएको बताए । उनले नेपाली जनताको आकांक्षा र नेपालको आवश्यकताका कारण चुनावी तालमेल गर्दै एकता संयोजन समिति मार्फत पार्टी एकता प्रक्रियालाई अघि बढाएको बताए । 

एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न प्राविधिक तथा कानुनी जटिलता भएको उल्लेख गर्दै नयाँ शक्ति भने सूर्य चुनाव चिन्हमा उठ्ने सहमति भएको उनले बताए । उनले माओवादी कार्यकर्तालाई पार्टीले क्रान्ति छोड्यो भन्न र एमाले कार्यकर्ताले आफ्नो जिम्मेवारी छोड्यो भनेर चिन्ता नगर्न आग्रह गर्दै एकता प्रक्रियालाई सहज रुपमा लिन आग्रह गरे । 

उनले कम्युनिष्ट दलहरुको एकता राष्ट्रियता, अखण्डतालाई माथि उठाउने उद्देश्य लिएर गरिएको बताँउदै यसले राष्ट्रलाई एकजुट बनाँउने उद्घोष गरे । उनले अबको यात्रा सत्ता नभएर राष्ट्रको आर्थिक समृद्धि रहेको बताउँदै अब बामपन्थी दलले नै नयाँ सरकारको नेतृत्व गर्ने बताए । उनले भने– ‘हाम्रो मुख्य ध्यान सत्ता हैन, आर्थिक समृदि मुख्य कुरा हो, अब देशको जन्मकुण्डलीमा २०७४ मा देशभक्त, बामपन्थी सरकार बन्ने लेखेको छ, त्यो कसैले पनि मेट्न सक्दैन ।’

उनले यो तालमेल कसैका बिरुद्धमा नभएको बताउँदै नेपाली जनताको चाहना र आवश्यकता रहेको बताए । सामाजिक न्याय र सद्भावमा आधारित भएर सबैलाई न्याय, अधिकार, अवसर र सुरक्षाको नयाँ ब्यवस्था ल्याउन लागेको उनले बताए । भूगोल, भाषा, जात, पेशाका आधारमा संविधानमा भेदभाव नगरिएको भन्दै उनले कसैले भड्काउन खोजेपनि असफल भएको दावी गरे । 

अध्यक्ष ओलीले नयाँ दलको अन्तर्राष्ट्रिय नीतिबारे पनि प्रष्ट पार्दै भने–‘सन्तुलित, मैत्रीपूर्ण र बराबरी हैसियतको हाम्रो छिमेक तथा अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध रहनेछ ।’ उनले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त भन्दा एक इन्च पनि तहमाथि नहुने भन्दै पार्टी एकतालाई शंका नगर्न आग्रह गरे । उनले नेपालका अन्य कम्युनिष्ट पार्टीलाई आफ्नो ताउलो बसाल्न छोडेर एउटै पार्टीमा आवद्ध हुन आग्रह समेत गरे ।
 

८ सदस्यीय एकता संयोजन समिति   

पार्टी एकताका प्रक्रिया अघि बढाउँन ३ दलबाट ८ सदस्य रहेको एक समिति बनाइएको जानकारी दिइयो । समितिको संयोजनकमा तीन दलका अध्यक्ष रहने ब्यवस्था गरिएको छ । नेकपा एमालेबाट ४ सदस्य, माओवादी केन्द्रबाट ३ सदस्य र नयाँ शक्ति नेपालबाट एक सदस्य रहने ब्यवस्था गरिएको छ । यो समितिले संयुक्त घोषणापत्र तथा पार्टीको बिधान बनाउनेछ भने पार्टी एकताका लागि गृहकार्य गर्ने जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप