शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रफुल्ल मुद्रामा नेताहरुको उद्घोषः अब एउटै कम्युनिष्ट केन्द्र (फोटोफिचरसहित)

मङ्गलबार, १७ असोज २०७४, २० : ५९
मङ्गलबार, १७ असोज २०७४

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकता प्रक्रिया औपचारिक रुपमा नै अघि बढेको छ । बाम दलहरुबीच एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान स्वरुप तीन पार्टीले एकता प्रक्रिया अघि बढाएका हुन् । 

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन भन्दै तीन वटै पार्टीको तर्फबाट ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । एमालेबाट चार, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहने रहने गरी एकता संयोजना समिति गठन गरिएको मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी घोषणा गरिएको हो । 

निकै अनौठो लागिएको यो कार्यक्रममा तीनै पार्टीका शीर्ष नेताहरुका साथै कार्यकर्ताहरुले सभागृह भरिभराउ देखिएको थियो । पत्रकारलाई सम्झौताबारे जानकारी गराउन आयोजित कार्यक्रममा तीनै दलका नेताहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि तीन पार्टीकोतर्फबाट एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका बाबुराम भट्टराई सम्बोधन गरे । 

निकै प्रफूल्ल मुद्रामा मञ्चमा देखिएका नेताहरु तीनै जनाले अब एउटै कम्युनिष्ट केन्द्र घोषणा गरे । तीनै नेताको भनाई मुलुकको समृद्धिका लागि एउटै कम्युनिष्ट केन्द्र बन्ने उद्घोष । उनीहरुले एउटै कम्युनिष्ट पार्टी आवश्यकता र अपरिहार्यता भएको बताए । 

यसअघि एक अर्कालाई निकै ब्यङग्य गर्ने नेताहरुले तीन पार्टी इतरका दलहरुलाई पनि गाली गरेनन् । गैरबामपन्थी दलहरुसँग एकता नभए पनि तालमेल गरेर मुलुकको समृद्धिमा अघि बढ्ने बताए । 

कार्यक्रम एमाले उपमहासचिव विष्णु पौडेलले सञ्चालन गरेका थिए भने तीन दलबीच भएको पार्टी एकताका सन्दर्भमा भएको ६ बुँदे सम्झैता पत्र गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माले पढेर सुनाएका थिए । अब नेपालमा एउटै कम्युनिष्ट हुने नेताहरुले भनिरहँदा हल भरिएका कार्यकर्ताले ताली बजाएर हुटिङ गरिरहेका थिए । 

यस्तो छ सहमति ः 

१) नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा एमालेको तर्फबाट ४ जना, माओवादी केन्द्रको तर्फबाट ३ जना र नयाँ शक्तिबाट १ जना नेता रहने । एमाले र माओवादीका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिकामा रहने । पार्टी एकता संयोजन समितिका निर्णयहरु सहमतिका आधारमा गर्ने । पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने । सहमति हुन बाँकी विषयहरुमा आपसी सहमतिद्वारा सहमति कायम गरिनेछ । बैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ । 

२) एकीकृत पार्टीका नीति कार्यक्रमका घोषणापत्र र विधान तयार गर्न तीन वटै पार्टीका प्रतिनिधिहरु सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात विधिवत पार्टी एकता सम्पन्न गर्ने । 

३) पार्टी एकीकरणको बैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्ना विचार ब्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने तर पार्टी एकीकरणको आधार सुदृढ बनाउन एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने । 

४) मंसिरमा सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नयाँ शक्ति पार्टी र अन्य पार्टी एवम् समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी एमालेको प्रतिशत र माओवादी केन्द्रको ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने । 

५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने । त्यसका लागि तीनै पार्टीका प्रतिनिधि सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदासमिति गठन गर्ने । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने । 

६) आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरुलाई आह्वान गर्ने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप