शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

मेरै पालामा मधेसमा विकास भएको हो : प्रधानमन्त्री ओली

सोमबार, १९ माघ २०७७, १७ : २८
सोमबार, १९ माघ २०७७

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश र देशको विकास आफ्नै पालामा भएको दावी गरेका छन् । सोमबार धनुषाको ढल्केवरमा विद्युत सवस्टेसन क्रममा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पालामा मधेस र देशमा विकास हुनुमा संयोग नै रहेको बताए ।

उनले मधेसको विकास द्रुतगतिमा हुने दावीसमेत गरे । उनले भने, ‘मधेस र देशको विकासको लागि संकल्प लिएर अगाडि बढेको छु ।’
आफूलाई मधेस विरोधीको रुपमा चित्रित गर्न मधेसवादी भनाउदाँहरुले हल्ला फैलाइरहेको भन्दै उनले त्यस्ता हल्लाबाट विचलित नभई आफू मधेसको विकासमा अठोटका साथ अघि बढ्ने बताए ।

मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युतीय सवस्टेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे । उनले भने, ‘केपी ओलीलाई मधेसविरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेसविरोधी भन्नेहरुलाई चुनौती दिन्छु, मैले जति गरेको विकास मधेसमा कसैले गरेर देखाओस् ।’

आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई उनले डुम, चमार, खत्वेका बालबालिकालाई काँधमा उठाएर देखाउन चुनौतीसमेत दिए । ‘खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ,’ उनले भने ।
तराई मधेसको विकास निर्माण आफ्नै पालामा भएको दावी गर्दै उनले अगाडि भने, ‘मधेसका सडक, नाला, ढल, विभिन्न लोभलाग्दा स्थलहरु अस्तव्यस्त थिए, ढल थिएन । कसैले निर्माण गर्न रोक्या थियो र ?’
आफूलाई मधेसविरोधी भनिए पनि आफूले नै मधेसका बाटो, ढल बनाइदिएको उनको दावी थियो ।

मधेसको विकासका लागि कृषि आधुनिकीकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिंचाई सुविधा पु¥याउनका लागि कोशीको पानी तराई झार्ने योजना रहेको बताए ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दावी गरे । घोषित मितिमै निर्वाचन हुने भन्दै उनले सबैलाई निर्वाचनमा जुट्न आह्वानसमेत गरे । 
उनले भने, ‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस्, मिति एक दिन पनि तलमाथि हुँदैन, पछाडि धकेलिँदैन ।’

नेकपाको दुई पक्षबीचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले चारपाँच सय जना अर्कोतिर जाँदैमा खासै फरक नपर्ने बताए । उनले आफूलाई छोडेर गएकाहरुले पार्टीभित्र विगतमा उपद्रो मच्चाएको आरोपसमेत लगाए । उनीहरुले पार्टीमा रहँदा सरकारको खुट्टा तान्नु बाहेक केही काम नगरेको प्रधानमन्त्रीको आरोप थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप