शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप : ‘साइड इफेक्ट’ देखिन थाल्यो

सामान्य उपचारले निको हुने
शनिबार, १७ माघ २०७७, १० : २०
शनिबार, १७ माघ २०७७

नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए ।  त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । 

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको डा. अनुप बाँस्तोला बताउँछन् ।
यता त्रिवि शिक्षण अस्पताल टिचिङमा एकजना स्वास्थ्यकर्मीलाई खोप लगाउनेबित्तिकै अनुहारमा डाबर आएको थियो भने केही स्वास्थ्यकर्मीमा सामान्य समस्या देखिएको अस्पतालका फोक्सो रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासले बताए ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि देखिने सामान्य समस्या भनेको डाबर आउने, रिंगटा लाग्ने, वाकवाकी आउने, टाउको दुख्ने, कमजोर भएको महसुस हुने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने आदि रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोबिन खड्काको भनाइ छ । 

खोप लगाएर सामान्य लक्षण देखिएमा आत्तिनु नपर्ने सरुवारोग विशेषज्ञ डा. बाँस्तोला बताउँछन् । उनका अनुसार यस्ता लक्षण देखिएका कतिपयलाई सामान्य उपचार एवं औषधिको प्रयोग गरेमा निको हुने र कतिपयलाई उपचारबिना नै निको हुन्छ । 

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार खोप लगाउनेबित्तिकै एक जना स्वास्थ्यकर्मीमा केही घण्टासम्म स्वास्थ्यमा गम्भीर समस्या देखिए पनि हाल उपचारपछि उनी सामान्य अवस्थामा फर्किएका छन् ।  
तीन दिनको अवधिमा ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका छन् । खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिए पनि केही समयपछि आफै निको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 

३ दिनको अवधिमा कसैलाई पनि जटिल समस्या नदेखिएकाले प्राथमिकतामा परेका व्यक्तिलाई ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कुनै पनि खोप लगाउँदा सामान्य खालका विभिन्न समस्या देखिने सरुवारोग विशेषज्ञ डा. बाँस्तोला बताउँछन् । बच्चाहरुलाई टिटानस, लहरेखोकी, भ्यागुते रोगको खोप लगाउँदा, मौसमी रुघाखोकीको खोप लगाउँदा पनि ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने आदि समस्या देखिने उनले बताए । ‘बच्चालाई खोप दिँदा स्वास्थ्यमा सामान्य खालको समस्या देखिए पनि खासै ध्यान दिन्नथ्यौं,’ उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाउँदा सामान्य समस्या देखिए पनि विभिन्न किसिमका भ्रमले गर्दा सन्त्रास बढेको हो ।’

केही व्यक्तिमा खोप लगाएकै कारण स्वास्थ्यमा सामान्य खालको समस्या देखिन सक्छ भने केहीमा मनोवैज्ञानिक त्रासका कारण सामान्य समस्या उत्पन्न भएको हुन सक्ने उनको अनुमान छ । उनका अनुसार कहिलेकाहीँ खोपमा भएका विभिन्न तत्वहरुले कसैलाई एलर्जी, श्वासप्रश्वासमा समस्या, ज्वरो आउने आदि समस्या हुन सक्छ । 

कोरोनाविरुद्धको कोभिशिल्ड खोप धेरै देशका नागरिकले लगाइरहेकाले ढुक्क भएर लगाउन उनले आग्रहसमेत गरे । कोरोना संक्रमण हुन नदिन जनस्वास्थ्यका मापदण्ड पालना गरे पनि खोप सबैको पहुँचमा पुग्न सके संक्रमणलाई रोक्न सकिने टिचिङ अस्पतालका फोक्सो रोग विशेषज्ञ डा. दास बताउँछन् । पहिलो चरणको खोप लगाउने

 प्राथमिकतामा परेका व्यक्तिहरूलाई कुनै भ्रममा नपरिकन खोप लगाउन उनी सुझाव दिन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अस्पतालहरुमा सम्भाव्य घटनाहरूको व्यवस्थापनका लागि आवश्यक टीम र औषधिको व्यवस्थापन गरिएको छ । यस्तै, देशभर खोप लगाएपछि हुन सक्ने घटनालाई अनुगमन र व्यवस्थापनका लागि विज्ञ चिकित्सकहरूलाई परिचालनसमेत गरिएको छ ।

भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख खुराक खोपमध्ये पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य राखेको छ । तीन दिनको अवधिमा ४६ हजार बढीले खोप लगाएका छन् ।

सात प्रदेशमध्ये वाग्मती प्रदेशमा सबैभन्दा धेरै १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् । अझै पनि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीसँगै  कोरोना नियन्त्रण, पहिचान र व्यवस्थापनका लागि अग्रपङ्क्तिमा खटिने धेरै व्यक्ति दोधारमा परेको पाइएको छ ।

खोपको मञ्जुरीनामामा खोप लगाउने व्यक्तिलाई साइड इफेक्ट देखिएमा आफै जिम्मेवार हुनुपर्ने र त्यसको क्षतिपूर्ति, औषधि स्वयं व्यक्तिले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । त्यसले गर्दा पनि महामारी व्यवस्थापनका लागि खटिने व्यक्ति खोप लगाउन हिचकिचाउने गरेको हुन सक्ने एक चिकित्सकले बताए ।

खोप अध्ययन सल्लाहकार समितिका संयोजक तथा खोप विज्ञ डा. श्यामराज उप्रेती खोपको मञ्जुरीनामामा जे लेखिए पनि खोप लगाएर स्वास्थ्यमा गम्भीर खालको समस्या देखिए नियममा आधारित भएर अघि बढ्ने बताउँछन् । खोप अभियान सञ्चालन भएको तीन दिनको अवधिमा केहीकेही व्यक्तिमा मात्रै सामान्य स्वास्थ्य समस्या देखिए पनि कसैमा गम्भीर खालको समस्या नदेखिएको उनको भनाइ छ ।

औषधि तथा खोप ऐनमा औषधि तथा खोपको साइड इफेक्ट देखिएर स्वास्थ्यमा समस्या भए क्षतिपूर्ति सम्वन्धित निकायले तिर्ने उल्लेख छ । यस्तै खोप लगाएकै कारणले कुनै व्यक्तिको अङ्गभङ्ग भई गम्भीर प्रकारको शारीरिक समस्या भएमा वा मृत्यु भएको खण्डमा निजको नजिकैको हकवालालाई खोप दिने निकायले वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

खोप अनुसन्धान समितिका अध्यक्ष डा. धनराज अर्यालले पनि कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिलाई गम्भीर खालको स्वास्थ्य समस्या पाइएमा नियमअनुसार अगाडि बढ्ने उनले बताए । उनले भने, ‘सामान्य स्वास्थ्य समस्या कुनै उपचारविना पनि निको हुने हुँदा धेरै चिन्ता लिनु पर्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप