शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिशिल्ड लगाएकाहरू भन्छन् : खोपसँग डराउनु पर्दैन, हामीमा कुनै समस्या देखिएको छैन

बिहीबार, १५ माघ २०७७, २० : ४४
बिहीबार, १५ माघ २०७७

पोखरा । कोरोना महामारीविरुद्ध नेपालमा पनि खोप अभियान सुरु भइसकेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि खोप अभियान सुरु भएको छ । प्रारम्भिक चरणमा ‘फ्रन्टलाइनर’ हरुलाई खोपको प्राथमिकतामा राखिएको छ ।
सामान्यतया लामो अनुसन्धानपछि मात्र कुनै पनि खोप प्रयोगमा ल्याउने गरिन्छ । तर कोरोनाविरुद्धको खोप भने छोटो समयमै प्रयोगमा ल्याइएको छ । त्यसैले खोप लगाउने सूचीमा सूचीकृत भएका ‘फ्रन्टलाइनर’हरुमा समेत यसबारे डरत्रास कायमै छ । कतिपयले खोप लिन नमानेको समेत अवस्था छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेसँगै सातै प्रदेशमा फ्रन्टलाइनरहरुलाई खोप लगाउन थालिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा खोप अभियान सुरु भएको छ । बुधबार पहिलो दिनमा गण्डकी प्रदेशका ११ जिल्लाका खोप केन्द्रहरुमा १ हजार ८ सय ४३ जनाले खोप लगाएका छन् । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनका उपकुलपति डा.बुद्धिबहादुर थापाले पहिलो खोप लगाएपछि प्रदेशका विभिन्न खोप केन्द्रहरुमा खोप लगाइएको थियो ।

यसैबीच कोरोनाविरुद्धको खोप लगाएकाहरुले कुनै असर (साइड इफेक्ट) नदेखिएको बताएका छन् । बुधबार खोप लगाएकाहरुले बिहीबार रातोपाटीसँग कुरा गर्दै कुनै प्रकारको नकारात्मक असर नदेखिएको बताएका हुन् ।
प्रदेशमै पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति थापाले आफूमा कुनै पनि ‘साइड इफेक्ट’ नदेखिएको बताए । उनले खोप लगाएपछि कोरोना संक्रमणविरुद्ध आत्मबल बढेको जिकिरसमेत गरे । उनले भने, ‘खोपको प्रतीक्षामा लामो समयसम्म निस्कृय बसियो, अब खोप लगाएपछि विभिन्न कार्यमा सक्रिय हुनेछु ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी (सिएमए) सरस्वती आचार्यले कोभिशिल्ड खोप लगाएपछि आफूलाई सुरक्षित ठानेको बताइन् । विभिन्न आशंकाबीच सुरु गरिएको खोप पूर्णरुपमा सुरक्षित रहेको उनले बताइन् । कोभिडबाट बच्नका लागि पहिलो विकल्प खोप नै रहेका कारण निर्धक्कका साथ खोप लगाउन उनले आग्रह गरिन् । ‘मैले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएपछि कुनै पनि असहजता अनुभव गरेको छैन,’ उनले भनिन्, ‘ढुक्क छु । तपाईहरुले पनि लगाएर सुरक्षित हुनुहोस् ।’ कुनै हल्लाको पछाडि लाग्न नहुने आचार्यको भनाइ छ ।

चरक मेमोरियल अस्पातालको बाल विशेषज्ञ डा. किरण पौडेलले कोभिशिल्ड खोप बाहिर आशंका गरिए जस्तो असुरक्षित नभएको बताए । ‘कोभिशिल्ड खोप पूर्णरुपमा सुरक्षित रहेकाले मैले पनि लगाएँ । यसमा आशंका नगरौं,’ उनले भने, ‘खोपमा नकारात्मक असर छैन, यो खोप सुरक्षित छ ।’

डा.पौडेलले बुधबार खोप लगाएका केही स्वास्थ्यकर्मीहरुमा सामान्य ज्वरो आउने, शरीर दुख्नेजस्ता सामान्य असरमात्र देखिएको बताए । ‘बुधबार खोप लगाएका केही स्वास्थ्यकर्मीहरुले सामान्य ज्वरो र शरीर दुखेपछि प्यारासिटामोल खाएपछि समस्या हराएको बताउनु भएको छ,’ उनले भने, ‘असर गर्ने गरी ठूलो समस्या केही देखिएको छैन ।’  

पहिलो चरणमा कोरोनाविरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, संक्रमितको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलगायतले खोप लगाउन थालिएको हो । गण्डकीमा पहिलो चरणमा पाँच दिनमा १७ हजार फ्रन्टलाइनरलाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीलाई संघ सरकारले ३९ हजार डोज खोप उपलब्ध गराएको छ ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले गण्डकी प्रदेशमा खोप लगाएकाहरुमा नराम्रो असर भएको कुनै जानकारी नआएको बताए । उनले खोप लगाएकामा ज्वरो आउने र शरीर दुख्नेजस्ता सामान्य असर बाहेक ठुलो समस्या नदेखिएको बताए ।

कोरोना संक्रमणविरुद्धको खोप ‘कोभिशिल्ड’ भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । दुई मात्रामा दिइने खोप पहिलो पटक लगाएको एक महिनापछि पुनः दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विन्दु शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप