शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रात्रिकालीन व्यवसायमाथि सरकारको वक्र दृष्टि, निर्वाध व्यवसाय चल्न दिन पर्यटन बोर्डको माग

बिहीबार, १५ माघ २०७७, १९ : २५
बिहीबार, १५ माघ २०७७

काठमाडौं । रात्रिकालीन व्यवसायमा सरकारले लगाएको प्रतिबन्ध अझैं पूर्णरुपमा हट्न सकेको छैन । कोभिड–१९ पछि स्वास्थ्य सुरक्षाको जोखिमलाई देखाउँदै बन्द गरिएका अन्य व्यावसायिक क्षेत्रहरु खुला भइसकेको अवस्थामा सरकारले रात्रिकालीन सेवामा भने आंशिक प्रतिवन्ध कायम राखिरहेको छ । 

सरकारको यस्तो नीतिका कारण मनोरञ्जन पर्यटन व्यवसायको क्षेत्र  अर्थात् रात्रिकालीन व्यवसायमा संलग्न हजारौं पर्यटन व्यवसायी प्रभावित भएका छन् । विशेषतः रेष्टुरेन्ट, बार, डिस्को, क्यासिनो, रोधी घर, नाइट क्लब तथा स्पा सेन्टरहरु प्रभावित हुन पुगेका छन् । सबैजसो व्यापार, व्यवसाय र अन्य पर्यटन गतिविधिहरु पूर्णतः खुला भइसकेको अवस्थामा रात्रिकालीन व्यवसायलाई मात्र नियन्त्रण गर्ने सरकारी नीतिका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको व्यवसायीहरुको गुनासो छ ।

‘हामीले ७–८ महिना निकै कठिन समय गुजार्नु प¥यो । जुन बेला आम्दानीको कुनै स्रोत थिएन, खर्चको त कुरै नगरौं । घरभाडा, कर्मचारी खर्च, बैंकको ब्याज, किस्ता भनिसाध्य छैन,’ रात्रिकालीन व्यवसाय संघ, ठमेलका सदस्य तथा व्यवसायी सुरेश पुरीले भने । बल्लतल्ल ७–८ महिनापछि खुलेको बजारमा पनि प्रहरीले धरपकड गर्न थालेको उनको गुनासो छ । ‘सरकार किन हामीप्रति यति अनुदार भइरहेको छ ? सबैजसो व्यावसायिक क्षेत्र खुलिसक्दा पनि हामीमाथि मात्र किन सरकार धरपकड गर्दैछ ?’ पुरीले प्रश्न गरे ।

यस्तै अवस्था रहिरहने हो भने अब व्यवसायबाटै पलायन हुनुको विकल्प नरहेको उनको भनाइ छ । सरकारी नीतिकै कारण कयौं रात्रिकालीन व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको उनले बताए । त्यसो त अहिले पनि सरकारले रात्रिकालीन सेवालाई पूर्णतः खुल्ला हुन दिइसकेको अवस्था होइन । रात्रिकालीन मनोरञ्जनका क्षेत्रहरु होटल, रेष्टुरेन्ट, नाइट क्लब, बार तथा रोधीघरहरुलाई सरकारले रातको अधिकतम १०–११ बजेसम्म मात्र खोल्न दिएको छ । यस्तो नीतिले रात्रिकालीन व्यवसाय अघि बढ्न नसक्ने र आफुहरु टिक्न नसक्ने व्यवसायीहरुको गुनासो छ ।

प्रहरीको धरपकड
रात्रिकालीन व्यवसायलाई रातभर चल्न दिनुपर्ने व्यवसायीहरुको माग छ । तर, सरकारले अहिलेसम्म रात्रिकालीन व्यवसायको सम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।  व्यवसाय खोल्न ग्रिन सिग्नल दिए पनि सरकारले कति समय खोल्न पाउने भनेर यकिन गरेको छैन । यही अवस्थाको फाइदा उठाएर गस्तीमा खटेका सुरक्षाकर्मीले रात्रिकालीन व्यवसायमा अवरोध गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

लर्ड–ठमेल क्लबका सञ्चालक रविन श्रेष्ठ भन्छन्, ‘कि त पूर्णरुपमै व्यवसाय बन्द गर भन्नुप¥यो, कि त स्वतन्त्ररुपमा व्यवसाय गर्न दिनुप¥यो । यसरी कति दिन व्यवसाय गर्ने ?’ श्रेष्ठका अनुसार सरदर साँझको ६–७ बजेबाट सुरु हुने रात्रिकालीन व्यवसायको पिकआवर (ग्राहक लाग्ने समय) १०–११ बजे हुन्छ । तर त्यतिनै बेला प्रहरी आउने र व्यवसाय बन्द गर्न दबाब दिने गर्नाले एकातिर ग्राहक भड्किने र अर्कोतिर आफूहरुले लाखौं लगानी गरेको व्यवसाय नै संकटमा पर्नेगरेको उनी बताउँछन् ।

पर्यटन बोर्डको दबाब
पर्यटन बोर्डले रात्रिकालीन व्यवसायलाई पूर्ण रुपमा खोल्न दिन सरकारसँग माग गरेको छ । अन्य सबै पर्यटन गतिविधि पूर्ण रुपमा खुलिसकेको अवस्थामा अब रात्रिकालीन मनोरञ्जन पर्यटनको क्षेत्रलाई मात्र नियन्त्रण गर्न नहुने भन्दै बोर्डले यस्तो माग गरेको हो । 

पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी भन्छन्, ‘कोभिड–१९ का कारण लामो समय सबैजसो व्यावसायिक क्षेत्र प्रभावित हुन पुगे । यसबाट विशेषतः अझ मुलुकको पर्यटन क्षेत्र बढी प्रभावित हुन पुग्यो ।’ लामो अन्तरालमा बल्लतल्ल खुल्न पाएको पर्यटन क्षेत्रले अब स्वतन्त्ररुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने उनको भनाइ छ । सिइओ रेग्मीले भने, ‘अब सबै क्षेत्रलाई समान तरिकाले खुल्न दिनुपर्छ ।’

रात्रिकालीन व्यवसायलाई हेर्ने हाम्रो नजरलाई परिस्कृत र मरिमार्जित गर्नुपर्नेमा उनले जोड दिए । ‘यो वा त्यो बहानामा अब सरकारले रात्रिकालीन व्यवसायलाई अवरोध गर्नु हुन्न,’ उनले भने, ‘रात्रिकालीन व्यवसाय अविलम्ब स्वतन्त्ररुपमा खुल्ला गर्न सरकारसँग माग गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप