बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा यसरी लगाइयो कोरोनाविरुद्धको खोप

बुधबार, १४ माघ २०७७, २१ : ३६
बुधबार, १४ माघ २०७७

काठमाडौं । कोरोनाभाइरस विरुद्ध खोप अभियान बुधबार औपचारिक रुपमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुका ५ बजेसम्ममा ६४ जिल्लाका ९३ खोपकेन्द्र मार्फत ९ हजार ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोपका लागि प्राथमिकता निर्धारण गर्दै पहिलो प्राथमिकतामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई राखेको छ ।

सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी (पालिकाद्वारा नियुक्त), एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई पनि पहिलो प्राथमिकतामा राखिएको छ ।

पहिलो चरणमा यिनै मापदण्डलाई आधार बनाएर खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो दिन सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ भने सबैभन्दा कम प्रदेश २ मा ७२६ जनाले खोप लगाएका छन् । 

प्रदेश १ मा एक हजार २५५ जनाले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै प्रदेश १ मा एक हजार २५५ जनालाई खोप लगाइएको जनाएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा खोप अभियान थालिएको हो । 

खोप अभियान सुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजय प्राप्त गर्ने काम सुरु भएको बताए । उनले पहिलो चरणमा लक्षित वर्गलाई कोरोना खोप लगाएपछि सबै नागरिकलाई खोप लगाउन सुरु गरिने जानकारी दिए ।

बुधबार प्रदेश १ का ८ जिल्लाका १९ वटा केन्द्रमा खोप लगाइएको हो । बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम सुरु हुने जनाइएको छ । पहिलो दिन मोरङमा ५, सुनसरीमा ४, झापा तथा इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा केन्द्रबाट खोप लगाइएको छ । प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जना स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मीलाई खोप लगाउने लक्ष्य छ ।

 



प्रदेश २ मा ७२६ जनाले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा बुधबार ७२६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा, सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीको राजविराजमा र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा खोप अभियान सुरु गरेका हुन् ।

कोरोनाविरुद्ध फ्रन्ट लाइनका योद्धाका लागि पहिलो चरणमा खोप लगाइने भनिए पनि प्रदेश २ का कानुनमन्त्री यादवले समेत खोप लगाए । 

 

बागमती प्रदेशमा २ हजार ६९४ जनाले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बागमती प्रदेशमा २ हजार ६९४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडामा आयोजित कार्यक्रममा कोभिड–१९ खोप अभियान सुरु गरेका थिए ।

प्रदेशका सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेका अनुसार वाग्मती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जनालाई खोप लगाउने कार्यक्रम छ । कोभिड खोप लगाउनका लागि प्रदेशमा ३५ वटा खोप केन्द्र स्थापना गरिएको जनाइएको छ ।

बागमती प्रदेशकै चितवन जिल्लामा तीन ठाउँबाट खोप अभियान सुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट अभियान सुरु गरिएको हो । भरतपुरमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले र माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर खोप अभियान सुरु गरेका हुन् ।

चितवनका लागि चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जनाएका छन् । उनका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइनेछ भने रत्ननगर अस्पतालमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइनेछ । यस्तै, माडीमा माडी नगरपालिका भित्रकालाई दिइने जनाउँदै उनले आगामी ९ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने बताए ।

 


गण्डकी प्रदेशमा एक हजार ८४३ जनाले लगाए खोप

गण्डकी प्रदेशमा बुधबार एक हजार ८४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापालाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका थिए । उदघाटन समारोहमा मुख्यमन्त्री गुरुङले सरकारले विश्वका विकसित देशहरुले खोप लगाउन थालेको डेढ महिना नबित्दै प्रदेशमा कोरोना संक्रमण विरुद्धको खोप सुरु गरेको भन्दै पहिलो चरणमा ‘फ्रन्ट लाइनर’का लागि सुरु गरिएको खोप क्रमशः सर्वसाधारण जनताका लागि लगाइने बताए । 

प्रदेशमा कोरोनाविरुद्धको पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमा सुरु गरिएको खोप पहिलो पटक आफूले लगाउन पाउँदा खुशी लागेको बताए । उनले पहिलो चरणमा फ्रन्टलाइनरका लागि सुरु गरिएको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफूले लगाएको बताए ।

गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोनाविरूद्ध फ्रन्टलाइनमा खटिनेका लागि ४० हजार डोज खोप प्राप्त भएको छ । त्यसमध्ये पहिलो चरणमा लगाउने करिव १८ हजार डोज खोप प्रदेशमा आइसकेको जनाइएको छ ।

लुम्बिनी प्रदेशमा ७३३ जनाले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा बुधबार ७३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो प्रदेशमा पहिलो चरणकै खोप कार्यक्रमलाई दुई भागमा विभाजित गरी सञ्चालन गरिएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ ।'

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतको उपस्थितिमा खोप अभियान सुरु गरिएको हो । 
लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु.डा राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु गरेका थिए । प्रादेशिक अस्पतालका चिकित्सक विष्णुप्रसाद गौतमले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएपछि मात्र खोप लगाउन सुरु गरिएको भन्दै खोप लगाउनबाट नआत्तिन र नडराउन आग्रह गरे ।


कर्णाली प्रदेशमा ७५१ जनाले लगाए खोप

बुधबार कर्णाली प्रदेशमा ७५१ जनाले खोप लगाएका छन् । प्रदेशका १० मध्ये ९ जिल्लामा बुधबार कोरोनाविरुद्धको खोप अभियान सुरु भएको हो । डोल्पामा भने केही दिनपछि खोप अभियान सुरु हुने जनाइएको छ ।
कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्कालाई पहिलो खोप दिएर कर्णालीमा खोप कार्यक्रम सुरु भएको हो । डा.खड्काका अनुसार कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा बुधबार बिहान १०ः३० मा खोप दिन सुरु गरिएको थियो भने दैलेखलगायत अन्य जिल्लामा १२ बजेभित्रको आसपासमा खोप लगाउन सुरु गरिएको थियो । पहिलो चरणअन्तर्गत कर्णालीमा ११ हजार ७ सय ८० डोज खोप दिइने छ । जसमध्ये सुर्खेतमा २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालिकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ । 


सुदूरपश्चिममा एक हजार ८२ जनाले लगाए खोप

बुधबार सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् । प्रदेशका ९ मध्ये ८ जिल्लामा बुधबार खोप अभियान सुरु गरिएको हो । बाजुरा जिल्लामा भने खोप पुग्न ढिलाइ भएकाले बिहीबारबाट खोप अभियान सुरु हुने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान सुरु गरेका हुन् । 
अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले पहिलो खोप लगाउने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन महेश भट्टले पनि बुधबार नै कोभिड १९ विरुद्धको खोप लगाए । ‘कोभिड १९ का कारण सधैँ असुरक्षित भइरहेको महसुस हुन्थ्यो’ उनले भने, ‘आज खोप लगाउने अवसर पाउँदा सुरक्षित महसुस भएको छ ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक कृष्णबहादुर विष्टले पनि खोप लगाउने अवसर पाउँदा निकै खुशी लागेको बताए । सुदूरपश्चिमका ९ वटै जिल्लामा सरकारी स्वास्थ्यकर्मी, निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ कर्मचारी गरी १६ हजार ३ सय ३८ जनालाई पहिलो चरण अन्तर्गन खोप लगाइने जनाइएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप