शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरार्द्धमा ओलीवाद

बुधबार, १४ माघ २०७७, १३ : १७
बुधबार, १४ माघ २०७७

ओलीवाद नेपाली राजनीतिको उत्कर्षमा छ । शासनसत्तामा पछिल्लोपटक देखापरेको नयाँ प्रवृत्ति हो ओलीवाद । यसैका कारण आज नेपाली राजनीति टावरबाट सम्पर्क विच्छेद भएको विमान झैं भविष्यतर्फको यात्रामा अघि बढिरहेको छ । नेपाली राजनीतिको यो असामान्य स्थिति केवल ओलीवादका कारण उत्पन्न भएको हो । यसका केही सैद्धान्तिक–राजनीतिक कारण र केही परिस्थितिजन्य घटनाक्रम छन् । नेपाली जनताले निकै ठूलो मूल्य चुक्ता गरेर प्राप्त गरेको परिवर्तनको प्रतिफल अनुभूति गर्न नपाउँदै फेरि देश अन्यौलता र अस्थिरतातर्फ अघि बढिरहेको छ । यो पछिल्लो अस्थिरताको सृष्टिकर्ता छ– उत्तरार्धमा रहेको ओलीवाद ।

ओलीवादका विशेषताहरु -

१ - दलाल तथा नोकरशाही पुँजीवादको नयाँ ब्रान्ड ।

२ - यथास्थिति र पश्चगमनको मतियार ।

३ - ढोंगी राष्ट्रवाद ।

४ - अधिनायकवादी चिन्तन ।

५ - अहंकारको पिण्ड ।

६ - कम्युनिष्ट आन्दोलनको कलङ्क ।

७ - विध्वंसात्मक गतिविधि ।

८ - छलछाम र षड्यन्त्र ।

आज सामन्तवाद र साम्राज्यवादको सह-उत्पादन दलाल तथा नोकरशाही पुँजीवाद विश्वका विकासोन्मुख राष्ट्रहरूमा देखापरेको छ । विश्वका महा-शक्तिहरूको टक्राव र स्वार्थको क्रिडास्थल हाम्रोजस्तो देशमा देखापरेको यो नयाँ राजनीतिक घटनाक्रम सामान्य प्रकृतिको होइन । यसलाई अर्थराजनीतिको आँखाबाट हेर्‍यो भने यो दलाल तथा नोकरशाही पुँजीवादको नयाँ ब्रान्ड हो । शक्तिराष्ट्रहरूको तानातान र सहवासको परिणाम ओलीवाद जन्मेको हो । स्पष्ट रुपमा भन्नुपर्दा यो एमसीसी र बीआरआईबीच भइरहेको तीव्र प्रतिस्पर्धाबाट नेपाली भूमिमा पैदा भएको नयाँ रुप नै हो । नेपालको भू-राजनैतिक स्वार्थलाई केन्द्रमा नराखेर केवल विदेशी शक्तिको गोटीको रूपमा परिणत हुँदैगयो र ओलीवादको जन्म भयो ।

पञ्चायतकालमा लामो समय जेल बसेको बाहेक केपी ओलीमा अग्रगामी परिवर्तनको दृष्टिकोण बोकेको राजनीतिज्ञमा देखिने कुनै ठोस गुण छैन । हामीले भनिरहेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी राज्यका जे जस्ता उपलब्धिहरु प्राप्तिको आन्दोलनमा केपी ओलीको सकारात्मक भूमिका थिएन । आन्दोलनप्रति सकारात्मक हुने त कुरै छोडौं, उनी जहिलेसुकै त्यसको विपरित धारमा सधै क्रियाशील भइरहे । उनी जहिलेसुकै यथास्थिति र पश्चगमनको मतियार भइरहे । 'लङ्का धाउने हनुमान पगरी गुथ्ने ढेडु' भनेझैं नेपाली राजनीतिको बिडम्बना नै मान्नुपर्छ कि तिनै केपी ओली संघीय लोकतान्त्रिक गणतन्त्रका संरक्षक अर्थात् प्रधानमन्त्री बन्न पुगे । आज पनि उनी आफ्नो चरित्र अनुसारको प्रतिगामी दिशामा निरन्तर कृयाशील छन् । त्यसैले ओलीवादको अर्को विशेषता यो बन्न पुगेको छ ।

ओलीवादको अर्को विशेषता भनेको ढोंगी राष्ट्रबाद हो । २०५४ मा भएको राष्ट्रघाती महाकाली सन्धि हुँदा उनले खेलेको भूमिकाले नै स्पष्ट गर्छ कि उनी राष्ट्रघाती हुन् । राष्ट्रघात एउटा यस्तो कुकर्म हो,जुन कहिल्यै पनि सत्कर्ममा परिणत हुन सक्दैन । मातृ बलत्कार जस्तै यो एउटा अपराध हो । केपी ओलीले आफ्नो त्यो अपराधलाई छोप्न पटकपटक राष्ट्रवादको नयाँ-नयाँ जामा पहिरिएर आए । भित्रभित्रै विदेशीसँग गम्भीर राष्ट्रघाती सम्झौता गर्न तयार हुने र बाहिर देखिँदा उग्र राष्ट्रवादी देखिने यो प्रवृत्ति नै ओलीवादको अर्को विशेषता हो । अरु खोज्नै पर्दैन, एमसिसि पास गराउन उनले गरेको हर्कत हेरेपनि यो विषय छर्लङ्ग हुन्छ । त्यसैले ओलीवादको अर्को विशेषता भनेको ढोंगी राष्ट्रवाद नै हो ।

ओलीवादको अर्को विशेषता हो, अधिनायकवादी चिन्तन र प्रवृत्ति । जब उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भए, लगत्तै उनले राज्यका सम्पूर्ण शक्ति केन्द्रीकरण गरे । राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, सम्पति सुद्धिकरण लगायतका महत्वपूर्ण विभागहरु प्रधानमन्त्री कार्यालय मातहत केन्द्रीकरण गरे । बालुवाटारमै साइबर सेल गठन गरेर राज्यको सम्पूर्ण सूचनालाई केन्द्रीकरण गरे । राज्यका महत्वपूर्ण अङ्ग र संवैधानिक नियुक्तिमा सम्पूर्ण हिसाबले आफ्नो वर्चस्व कायम गर्नेगरी नियुक्ति प्रक्रिया अघि बढाए । कतै आफ्ना मन्त्रीमार्फत त कतै आफ्ना सचिवमार्फत सरकारलाई पूर्णतः आफ्नो नियन्त्रणमा सञ्चालन गर्ने वातावरण तयार पारे । यसरी उनी राज्यशक्ति नियन्त्रण गर्ने अधिनायकवादी यात्रामा अघि बढे ।

अधिनायकवादको यात्रा केवल सरकारमा मात्र होइन, उनले पार्टीभित्र पनि सुचारु गरेका थिए । पार्टीभित्र महाधिवेशनको मिति नजिकिंदै गर्दा आन्तरिक प्रतिस्पर्धामा उनको पराजय निश्चित थियो । त्यसबाट उम्किन उनले कम्युनिष्ट पार्टी एकताको नयाँ कार्ड प्रयोग गरे । यसले उनलाई दुईवटा फाइदा भयो । पार्टीभित्रको संकट पनि टर्‍यो र सरकारको नेतृत्व गर्ने अवसर पनि प्राप्त भयो । तत्कालीन नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र ) बीच पहिले चुनावी मोर्चा र पछि पार्टी एकता नै भयो । यसक्रममा उनले आफ्नो पार्टीका प्रतिस्पर्धीहरुलाई सकेजति भित्तामा पुर्‍याउने काम गरे । प्रतिशोधको राजनीति ओलीवादको विशेषता नै हो । सरकार र पार्टीमा जुन दिन सम्म प्रतिकुलताको घन्टी बजेन, त्यो दिनसम्म उनी चुपचाप आफ्नो कर्ममा अघि बढिरहे । जुनदिन पार्टी र सरकारमा टिकिरहने सम्भावना रहेन, त्यही दिनदेखि उनले पार्टी विधान देशको संविधान कुल्चेर अघि बढ्ने काम गरे । यो नै ओलीवादमा देखापरेको अधिनायकवादी चिन्तन हो ।

संसारका सबै सर्वसत्तावादी निरंकुश शासकहरुमा पाइने एउटा साझा गुण हो अहंकारवाद । उनीहरु आफूलाई सर्वज्ञानी, सर्वज्ञाता र सर्वगुण सम्पन्न ठान्दछन् । जसका कारण उनीहरुमा आफू शक्तिशाली भएको विभ्रम पैदा हुन्छ । उनीहरुका नजरमा अरु सबै अज्ञानी, मूर्ख र निरिह देखिन्छन् । अहिले केपी ओलीका नजरमा आफ्नै पार्टीका अग्रज र सहकर्मीहरू मात्रै होइन, संसारकै सबै देशका शासकहरु आफूभन्दा कमजोर रहेको भान भइरहेको छ । संसारको नम्बर एक शक्तिशाली शासक आफू भएको अहंकार उनले बेलाबेलामा आफ्ना बोलीहरुमा स्पष्ट रूपमा व्यक्त गरेका छन् । त्यसैले उनलाई भविष्य तर्फको यात्रामा न कुनै विधिको आवश्यक्ता पर्यो न त कुनै विधान । उनका लागि उनले जे गर्छन् त्यो नै विधि हो र उनले जे भन्छन् कुनै कानुन हो । त्यसैले उनी एउटा अहंकारको पिण्ड हुन् । यो पनि ओलीवादको अर्को एउटा विशेषता हो ।

नेपाली कम्युनिस्ट आन्दोलन तमाम् धोकाधडी र गद्दारीका शृङ्खला पार गरेर विकास भएको छ । हुन त विश्व कम्युनिष्ट आन्दोलन पनि यसैगरी विकसित भइरहेको छ । समाज विज्ञानको यो नियम नै बनिसकेको छ कि यस्ता खालका पात्र र प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखा पर्दै जान्छन् । यस खाले प्रवृत्तिलाई पराजित गरेर नै कम्युनिष्ट आन्दोलन विकासको दिशामा अघि बढ्ने हो । कम्युनिस्ट पार्टी सञ्चालनमा लेनिनवादी संगठनात्मक सिद्धान्तको ऐतिहासिक भूमिका रहेको छ । व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, संगठन केन्द्रीय समिति मातहतमा र केन्द्रीय समिति महाधिवेशनको मातहतमा मातहतमा भन्ने सिद्धान्त नै लेनिनवादी संगठनात्मक सिद्धान्त हो । आफूलाई मार्क्सवादी लेनिनवादी भन्ने तर व्यवहारमा यो सिद्धान्तको पूर्णतः बर्खिलाप गर्ने प्रवृत्ति नै ओलीवाद हो ।

वि.सं. २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट महासचिवमा निर्वाचित डा. केशरजंग रायमाझीले कम्युनिष्ट पार्टीलाई दरबारमा लिएर विसर्जन गर्ने दुस्साहस गरेका थिए । रायमाझीपथको त्यो विचलनलाई पराजित गर्दै तुलसीलाल अमात्यको नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलन पुनर्संगठित भएको थियो । इतिहासका तमाम टुटफुट र विभाजनका दुष्चक्रहरु पार गर्दै नेपाली कम्युनिस्ट आन्दोलन मूलतः यथास्थितिवादी र प्रतिगामी विचलनका विरुद्ध शानदार विजय हासिल गर्दै अघि बढिरहेको छ । पार्टीका सार्वभौम मूल्य-मान्यता र आदर्शका विपरीत अघि बढ्न खोज्ने ओलीवाद पनि नेपाली कम्युनिस्ट आन्दोलनको अर्को एउटा कलंक नै हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिएका संघर्षबाट प्राप्त भएका उपलब्धिहरूको विरुद्धमा जतिसुकै षडयन्त्र गरेपनि ओलीवादको पराजय निश्चित छ ।

ओलीवादमा आफ्नो वा मालिकको स्वार्थ बाहेक अरु केही पनि हुँदैन । उसको अगाडी राष्ट्र, जनता र सहकर्मी भनेका केही पनि होइनन् । जब आफ्नो स्वार्थमा धक्का पुग्छ, उसले ती सबलाई दाउमा चढाइदिन्छ । सहकर्मीको इतिहासमाथि तीर चलाउँछ, जनताको भविष्यमाथि खेलवाड गर्छ र राष्ट्रिय स्वाधिनता नै धरापमा पारिदिन्छ । आज नेपालमा जुन किसिमले वैदेशिक चलखेलको वातावरण सिर्जना भएको छ, त्यो ओलीवादको कारण हो । जनताको भविष्य जसरी अन्योलपूर्ण बनिरहेको छ, त्यसको कारण पनि ओलीवाद नै हो । गौरवपूर्ण विरासत बोकेका नेपाली जनताका प्रिय नेताहरुमाथि जुन किसिमले सीमा नाघेर गालीगलौज गरिएको छ, त्यो नै ओलीवादको असली सांस्कृतिक विद्रुप हो ।

ओलीवादको अर्को विशेषता भनेको छलछाम र षड्यन्त्र हो । पार्टी नेतृत्व हत्याउनका लागि उनले हदैसम्म छलछाम र षड्यन्त्र गरेका थिए । नेतृत्वमा टिकिरहन उनले गरेका सबै गतिविधिहरु त्यसैका उपज थिए । उनले पार्टी एकताका शर्तहरू मानेनन् । पार्टी सञ्चालनका विधि र प्रक्रिया मानेनन् । सार्वभौम संसदको मर्यादा र गरिमालाई लत्याए । सबैखाले कुटनीतिक मर्यादालाई छोडेर अघि बढे । जनताका सामु व्यक्त गरेका सबै बाचा र प्रतिबद्धतालाई रद्दीको टोकरीमा फ्याँके र केवल आफ्नो कुर्ची बचाउनका लागि मात्र केन्द्रित भइरहे । जब आफ्नो कुर्सी धरापमा पर्‍यो, तब उनले छलछाम र षड्यन्त्रपूर्वक संसद विघटन गरे र संविधानको उलंघन गरे । यी गतिविधिले पनि छलछाम र षड्यन्त्र ओलीवादको विशेषता रहेको पुष्टि गर्दछ ।

नेपाली राजनीतिमा विकास भएको खराब प्रवृत्तिको उत्कर्ष रूप नै ओलीवाद हो । यसले नेपालको समग्र आर्थिक, राजनीतिक, समाजिक र सांस्कृतिक क्षेत्रमा निकै ठूलो नकारात्मक आयाम सिर्जना गरेको छ । यो विकास हुनुका केही ऐतिहासिक कारण छन् । केही वस्तुगत कारणहरु पनि छन् । जेसुकै कारण भएपनि आज ओलीवाद विकासको उच्चतम रुप अर्थात उत्तरार्धमा प्रवेश गरेको छ । योभन्दा माथि विकासको कुनै सम्भावना छैन, छ त केवल पराजय र विनास मात्र । उत्तरार्द्धमा पुगेको ओलीवादलाई बचाउन अब श्री पशुपतिनाथले पनि सक्ने छैनन् । ओलीवादको पराजय अथवा विनाशमा नेपाली राजनीतिको नयाँ भविष्य जन्म हुने निश्चित छ ।

(लेखमा व्यक्त विचार लेखकका निजी हुन् । –रातोपाटी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल (सुदीप)
झकबहादुर मल्ल (सुदीप)
लेखकबाट थप